काठमाडौं । गएको असार अन्तिममा आएको भारी बर्षापछिको बाढि पहिरो र डुवानले कृषि क्षेत्रमा सबैभन्दा धेरै क्षति पुर्याएको सरकारले बताएको छ । आईतबार संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बाढी, पहिरो, डुवान एवं कटानबाट कृषिवाली, पशुचौपाया तथा खेतीयोग्य जमिनमा तीन अर्ब ४५ करोड ३६ लाख रुपियाँ क्षति भएको जानकारी दिइएको हो । त्यो क्षति प्रदेश १ र २ को मात्रै हो ।
क्षतिको विवरण पेश गर्दै कृषि विकासमन्त्री चक्रपाणि खनाले १ नम्बर प्रदेशका आठ जिल्लामा २५ लाख ८० हजार रुपियाँको पशुचौपाया र ८१ करोड ८० लाख ९२ हजार रुपियाँको कृषिबाली तथा २ नम्बर प्रदेशमा एक अर्ब ६२ करोड रुपियाँको पशुचौपाया र एक अर्ब ५७ करोड रुपियाँका कृषिवाली क्षति भएको बताए ।
खनालले प्रदेश नम्बर ३, ४, ५, ६ र ७ को विवरण भने आउन बाँकी रहेको र यी प्रदेशहरुमा हावाहुरी, असिनाले बढी क्षति पुर्याएको बताए । समितिका सदस्यहरुले मलमा दिने अनुदानको कुरा उठाउँदा मन्त्री खनालले २० देखि ३० प्रतिशत राहत दिँदै आएकोमा यसलाई बढाएर ५० प्रतिशत अनुदान दिईने बताए ।
उनले अघिल्लो आर्थिक वर्ष २०७५।७६ का लागि दुई करोड ५० लाख बजेट प्राकृतिक प्रकोपको लागि छुट्याईएकोमा अहिलेको चालु आर्थिक वर्ष २०७६।७७ का लागि अर्थ मन्त्रालयले १० करोड बजेट छुट्टाएको बताए । त्यति अनुदानले नपुग्ने साँसदहरुले बताएपछि उनले थप अनुदानका लागि अर्थ मन्त्रालयले थप बजेट दिनुपर्ने बताए ।