भैरहवास्थित टाइगर प्यालेस रिसोर्ट झण्डै पौने चार अर्बमा थापाले किन्दै

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली इन्द्रबहादुर थापाले भैरहवास्थित टाइगर प्यालेस रिसोर्ट तीन अर्ब ७३ करोड रुपियाँ (३३.९ अमेरिकी डलर)मा खरिदको प्रक्रिया अघि बढाएका छन् ।

होटलको अष्ट्रेलियन लगानीकर्ता सिल्भर हेरिटेज ग्रुपले जनाएअनुसार शर्तसहित उक्त क्यासिनो रिसोर्ट खरिदका लागि थापाको प्रस्ताव आएको हो । रिसोर्ट व्यवस्थापनलाई यही गएको जुलाई अन्तिममा प्राप्त पत्रमा थापाले २० मिलियन अमेरिकी डलर नगद र बाँकी नेपाली बैंक तथा कम्पनीहरुको ऋण लगानी गर्नेगरी उक्त सुविधासम्पन्न रिसोर्ट खरिद गर्न तयार भएका हुन् ।

सिल्भर हेलिटेजले रिसोर्ट पूर्ण बिक्री तथा साझेदारीका लागि आव्हान गरेपछि चौधरी ग्रुप, आइएमई ग्रुप र विशाल ग्रुप र मलेसियामा बस्दै आएका थापाले रिसोर्ट खरिदका लागि इच्छा देखाएका थिए । तर, सबैभन्दा राम्रो रकम अफर गर्ने थापालाई रिसोर्ट बेच्न सिल्भर हेरिटेज तयार भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार उनी मलेसियाका धनाड्य नेपालीको रुपमा चिनिन्छन् ।

यस विषयमा बुझ्न खोज्दा सिल्भर हेरिटेज ग्रुपका आधिकारिक प्रतिनिधि राजेन्द्र बजगाईंले फोन उठाएनन् । उनले काठमाडौंको सिङग्रिला होटलमा पनि क्यासिनो सञ्चालन गरिरहेका छन् ।

टाइगर प्यालेस किन्न चाहने थापा विशेषगरी मध्यपूर्व, अफ्रिका लगायतका स्थानमा घरजग्गा कारोबार गर्ने बहुराष्ट्रिय उद्यमी हुन् । सिल्भर हेरिटेजले उनलाई रिसोर्ट खरिद गर्न ९० दिनको समय दिएको छ । उक्त मितिभित्र थापाले रकम भुक्तानी गरिसक्नुपर्नेछ । उनले पहिलो किस्ता रकम अगष्ट १५ मा ३ मिलियन डलर कम्पनीको खातामा जम्मा गरिसक्नुपर्नेछ ।

रकम भुक्तानीपछि दुवै पक्षबीच औपचारिकरुपमा रिसोर्ट हस्तान्तरण हुने जनाइएको छ । टाइगर प्यालेसले दावी गरेअनुसार उक्त रिसोर्टमा हरेक महिना १५ हजार पर्यटकहरुको आगमन हुने गरेको छ, जुन संख्या नेपालका होटल तथा रिसोर्टहरुमै उच्च हो ।

सन् २०१७ मा पाँच तारे होटलको मान्यता पाएको यस क्यासिनो रिसोर्टमा अहिले सय वटा सुविधासम्पन्न रुमहरु रहेका छन् भने अरु चारसय रुपहरु थप गर्ने योजना रहेको छ । १५ विघा क्षेत्रफलमा रहेको टाइगर प्यालेसमा जिम, स्पा, स्वीमिङ पुल, रेष्टुरेन्ट, बैठक कक्ष तथा ब्याङ्क्वेट, दुई हजार ४७१ वर्गमिटरमा फैलिएको क्यासिनो आदि रहेका छन् ।

Advertisement

Advertisement

Advertisement