आफूसँग भएका जहाज किन नउडाएको ? भन्दै नयाँ पर्यटनमन्त्रीले खरेललाई सोधे

Advertisement

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफूसँग भएका ठूला साना जहाजहरु किन नउडाएको भन्दै नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई प्रश्न गरेका छन् ।

मन्त्री भएपछि निगमको निरीक्षण गर्न पुगेका भट्टराईले लामो समयदेखि वाइडबडी जहाज ए३३० देखि चिनियाँ जहाजहरुको सही सदुपयोग हुन नसकेको विषयमा खरेललाई प्रश्न गरेका थिए । जहाज खरिदका क्रममा अघिल्लो व्यवस्थापनले अघि बढाएको व्यवसायिक योजनाअनुसार अघि बढेको प्रक्रिया रद्द गर्दा वाइडबडी जहाजहरु लामो दूरीका गन्तव्यहरुमा उडान भर्न पाएको छैन् ।

खरेलको कमजोर व्यवस्थापनका कारण चीनबाट अनुदान र खरिद गरी ल्याइएका जहाजहरु पनि लामो समयदेखि थन्किएर बसेका छन् भने पूरानो बोइङ बिक्री गर्ने, भ्रमण बर्षका लागि थप न्यारोबडी जहाजहरु खरिद गर्ने कुरा पनि अन्योलमै रहेको छ । जहाज खरिदका क्रममा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको रकम तिर्न नसकेर निगम नै आर्थिकरुपमा टाट पल्टिने अवस्थामा नयाँ पर्यटनमन्त्री निरीक्षणमा पुगेका हुन् ।

खरेल निगम व्यवस्थापनमा असफल भएको भन्दै निगमकै कर्मचारीदेखि पर्यटन व्यवसायीहरुले समेत उनलाई तत्काल हटाएर सक्षम व्यक्ति नियुक्त गर्न आग्रह गर्दै आएका छन् । छलफलमा मन्त्री भट्टराईले आफूसँग भएका जहाज पूर्ण उपयोग गरी कमाई गर्ने र ऋण तिर्ने काम किन नगरिएको ? कर्मचारीहरुमा किन गुटउपगुट सिर्जना गरिएको भन्दै निगम नेतृत्वको आलोचना गरेका थिए ।

मन्त्री भट्टराईले सरकारी संस्थामा काम गर्ने कर्मचारीले राजनीतिक गुटबन्दी गर्न नहुने भन्दै व्यवस्थापनले त्यस्तो गुटबन्दीलाई प्रशय दिने, कर्मचारीलाई उचित जिम्मेवारी नदिने गर्न नहुने बताए ।

उनले जनशक्तिको पूर्ण सदुपयोग गर्न, राज्यले गरेको लगानीको प्रतिफल आउने गरी कार्ययोजना अगाडि बढाउन खरेललाई निर्देशन पनि दिएका थिए । मन्त्री भट्टराईले विमान संचालन गर्ने संस्थाले विमान थप्दै जानु आवश्यक छ भन्दै पर्यटन प्रवद्र्धनका लागि पनि निगमलाई थप जहाजहरु चाहिने बताए ।

मन्त्री भट्टराईले विगतमा निगमको दुर्गम क्षेत्रमा गरेको सेवा उल्लेखनीय रहे पनि पछिल्लो समयमा त्यो हुन नसकेकोप्रति असन्तुष्टि जनाउँदै अबका दिनमा पनि समयसापेक्ष स्तरीय सेवा हुनुपर्ने निर्देशन दिए । निगमलाई आन्तरिक समझदारीको जगमा सुदृढ बनाउन र योग्यलाई उचित काम सुम्पेर प्रतिफल लिन उनले खरेललाई निर्देशन दिए ।

भट्टराईले विमानस्थलहरुको संख्या थपिंदै गएको सन्दर्भमा सबैतिर सेवा पुर्याउन सल्लाह दिंदै आगामी मंसीरमा निजगढ विमानस्थलको शिलान्यास गरिने बताए । उनीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव सुरेश आचार्य पनि निगम पुगेका थिए । उनले निगमको ऋण र पूँजीमा सन्तुलन आवश्यक रहेको बताए ।

निगमका कार्यकारी अध्यक्ष खरेलले निगमले गरेका कामहरुबारे जानकारी दिएका थिए । उनले अघिल्लो वर्ष ६ लाख ५० हजार यात्रु बोकेर अन्तर्राष्ट्रिय उडानमा सबभन्दा बढी यात्रु बोक्न सफलता पाएको तर्क प्रस्तुत गरे पनि आफूबाट भएका कमजोरीको बारेमा भने बोलेनन् ।

उनले निगमले सेवाको स्तर बृद्धि गर्नुका साथै सुरक्षालाई उच्च प्राथमिकतामा राखी अगाडि बढेको बताए । उनले पूँजी र ऋणबीच सन्तुलन हुनुपर्छ भन्ने अवधारणाले सरकारबाट २० अर्बको लगानी खोजेको बताउँदै उड्डयन जस्तो संवेदनशील र तरल विषयमा आरोह अवरोह आउनु स्वाभाविक भएको तर्क गरे ।

आधिकारिक ट्रेड युनियनका अध्यक्ष सुवास डाँगीले निगम व्यवस्थापनबाट एकपछि अर्को कमजोरी भएको भन्दै त्यसले आफूहरुलाई चिन्तित बनाएको बताए । उनले बढदो उड्डयन क्षेत्रलाई ध्यानमा राखी निगमका लागि एकमुष्ठ १५ वटा विमान किन्नुपर्ने बताए ।

Advertisement

Advertisement

Advertisement