नबिलका अध्यक्ष भन्छन्– बैंकहरुको अप्ठ्यारो नहेरी राष्ट्र बैंकले उमेर हद तोक्यो

Advertisement

काठमाडौं । नबिल बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले बैंक वित्तीय संस्थाका सञ्चालक र सिइओको उमेर हद तोक्न राष्ट्र बैंकले हतार गरेको बताएका छन् । मौद्रिक नीति कार्यान्वयनका क्रममा जारी सर्कुलरबाट अध्यक्ष पद त्याग्नुपर्ने परिस्थितिमा रहेका पौड्यालले राष्ट्र बैंकको निर्णय हतारमा आएको बताएका हुन् ।

उनले केही समय म्याद दिएर बैंकका सञ्चालक र सिइओको म्याद तोक्नुपर्नेमा तुरुन्तै कार्यान्वयन हुनेगरी तोक्नु गलत हो भन्दै यसले बैंकहरुलाई काम गर्न असहज हुने बताए । पौड्यालले भने, ‘समयसीमा तोकेर उमेर हद लगाएको भए हुन्थ्यो, एक्कासी अहिले नै लागू हुने भनेपछि बैंकहरुलाइ असर पर्छ, बैंकहरुलाई असर पर्नु भनेको राष्ट्र बैंकलाई पनि असर गर्नु हो ।’

उनले राष्ट्र बैंकले तोकेअनुसार आफू अध्यक्ष पद छोड्न तयार रहेको बताए । पौडेलले बैंक सञ्चालक समिति बैठक बसेर निर्णय गरे पनि हुन्छ वा अवकाश सुनाइदिए पनि हुन्छ भन्दै राष्ट्र बैंक जस्तो नियामक निकायले कुनै पनि निर्णय गर्दा त्यसको पछिको असर हेरेर निर्णय गर्नुपर्ने सल्लाह दिए ।

राष्ट्र बैंकको पछिल्लो सर्कुलरले पौड्यालसहित एभरेष्ट बैंकका अध्यक्ष बीके श्रेष्ठ, प्राइम बैंकका सिइओ नारायणदास मानन्धरलगायतले बैंकिङ क्षेत्रबाट अवकाश पाउँदैछन् । सर्कुलरमा ६५ वर्ष नाघेका व्यक्ति बैंक तथा वित्तिय संस्थाहरुको सिइओ बन्न नपाउने भएका छन् भने ७० बर्ष पुगेकाहरु सञ्चालक हुन नपाउने भएका छन् ।

सर्कुलरमा ६५ वर्ष नाघेका व्यक्तिलाई बैंकहरुको सिइओ नियुक्ती तथा पुननियुक्ती गर्न नपाउने भने पनि हाल कार्यरतहरुको उमेर ६९ वर्ष पुगेको छ भने उनीहरु स्वतः पदमुक्त हुनेछन् । तर मर्जर वा एक्वायर प्रक्रियामा रहेका र २०७७ असार मसान्तभित्र एकिकृत कारोबार गर्ने बैंक तथा वित्तिय संस्थाहरुले भने उमेर हदबन्दीबाट छुटकारा पाउनेछन् ।

Advertisement

Advertisement

Advertisement