बदनाम सरकारी अड्डालाई बदल्ने 'भीष्म प्रतिज्ञा'

Advertisement

काठमाडौं । बिहान ८ बजे अघि नै कार्यालय पुग्नु र साँझ ८ बजेसम्म निरन्तर सेवाग्राहीको सेवामा तल्लिन हुनु, त्यो पनि सरकारी कर्मचारीले । सुन्दै अचम्म लाग्ने । यस्तो वास्तविकता हो वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्मकुमार भुषालको । उनी यस अघि राष्ट्रिय पुननिर्माण प्राधिकरणको जिम्मेवारीमा होस वा बिरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत हुँदा पनि यसरी नै काममा खटिने गरेका थिए ।

मंगलबार अन्तर्वार्ताका लागि समय लिन सम्पर्क गर्दा उनले ५ः३० बजे कार्यालयमा बोलाए । राजधानीको ट्राफिक जामलाई छिचोल्दा हामी ६ बजे मात्रै कार्यालय पुग्यौं । केहीबेर भुषालको च्याम्बर बाहिर कुरेपछि उनले ६ः२१ मिनेटमा भेट दिए । च्याम्बरमा प्रवेश गर्दा उनी एउटा म्यानपावर कम्पनीको अदालती मुद्दाको आदेशबारे निर्देशकसँग छलफल गर्दै थिए । छलफल सक्न अरु पाँच मिनेट लाग्यो । बल्ल उनी हामीसँग कुराकानीका लागि तयार भए ।

हामीले सोध्यौं– आसन कसरी मिलाउने ? उनले मुसुक्क हास्दै भने– ‘राष्ट्रिय गानको तल बसेर तपाईंहरुसँग कुरा गर्छु । सधै राष्ट्रलाई शिरमा राख्नुपर्छ भन्ने मेरो मान्यता हो ।’

हाम्रो प्रश्न थप्यौं– वैदेशिक रोजगार विभागलाई हेर्ने नागरिकको नजरिया छुट्टै छ । बदल्ने प्रयासमा हुनुहुन्छ ?

उनले भने, ‘मैले चैत २७ गते विभागको नेतृत्व गरेको हुँ, पहिलो दिन नै भनेको थिएँ की विभागमा आउने प्रत्येक सेवाग्राहीले घरमै आएको महशुस गर्नुहुनेछ ।’ उनले विगततिर हामीलाई फर्काउने प्रयास गर्दै जवाफ दिए– ‘आज वैदेशिक रोजगार विभागको छवि क्रमशः सुध्रिँदै गएको छ । सेवाग्राहीले पाउने हण्डर कम हुँदै गएको छ भने मेनपावर कम्पनीहरुको ठगी धन्दा पनि नियन्त्रणमा आउँदैछ ।’

हामीले ‘रिजल्ट’ खोज्दै प्रतिप्रश्न गर्यौं– विभागमा आएपछि अहिलेसम्म के के गर्नु भयो त ?
उनको सहज जवाफ थियो– विभागमा उजुरी दिन आउनेहरुसँग लेखन्दासले ४५ सय रुपैंयासम्म असुलेका रहेछन् । हामीले एउटा फरम्याट बनायौं र कर्मचारीले नै लेखिदिने व्यवस्था गर्यो । अहिले त्यो ठगी रोकिएको छ । लेखन्दासले पनि अहिले २ सयमा काम गरिदिन्छन् ।’

विगतदेखि पाँच हजार दुई सय उजुरी विभागका दराजमा थन्किएर बसेका थिए । भुषालले तीमध्ये ७६० खोले र अध्ययन अघि बढाए । अहिले ती सबै उजुरीकर्तासँग नपुगेको प्रमाण माग्ने काम गर्दैछन् । उनले अनुगमनमा पनि नयाँ रेकर्ड कायम गराएका छन् । ९ महिनामा जति अनुगमन भए, उनी गएपछि त्यो भन्दा धेरै अनुगमन भएका छन् ।

वैदेशिक रोजगार विभागप्रति नागरिकको हेर्ने दृष्टिकोण नै फेर्ने प्रयासमा भुषाल छन् । त्यसमा उनी सफल पनि भएका छन् । भ्रष्टाचारप्रति प्रधानमन्त्रीको शुन्य सहनशीलताको नीतिलाई आफूले पालना गरिरेहेको उनको भनाई छ । र आफ्नो कार्यालयका कर्मचारीले चिया खुवाउन आग्रह गरे पनि आफूलाई त्यसको रिपोर्ट गर्न उनले निर्देशन पनि दिएका छन् । भुषाल भन्छन्– ‘कसैले काम गरिदिएवापत चिया मात्रै खुवाउन अनुरोध गर्यो भने पनि मलाई भन्नुस्, सिधै कारवाही हुन्छ ।’

महानिर्देशक भुषालले आफू विभागमा आएपछिको अर्को महत्वपूर्ण उपलब्धि पनि सुनाए– ‘हामीले सूचना प्रणालीलाई व्यवस्थित गर्ने काम अघि बढाएका छौं । प्रणालीलाई स्थापित गर्न सकियो भने भोलि जो कोही आए पनि समस्या नहोस्।’

देशभर फैलिएर बसेका म्यानपावर कम्पनीका एजेण्टहरु अहिले खारेज गरिएका छन् । म्यानपावर कम्पनीका विवरण पनि नयाँ ढंगले अद्यावधिक गरिएका छन् । कम्पनीका मालिक को को हुन् ? सम्पर्क व्यक्ति को हो ? कर्मचारी कति छन् ? भन्ने विवरण पनि राखिएको छ । त्यस्ता कम्पनीमा अब तलब खाने र पे–रोल अद्यावधिक गरिएका कर्मचारीले मात्रै वैदेशिक रोजगारसम्बन्धी काम गर्न पाउँछन् ।

विभाग आउँदा आफ्नै अनुभव
सर्वसाधारणले बदनाम अखडाका रुपमा लिने वैदेशिक रोजगार विभाग छिर्दा भुषाल आफैं छक्क परेका थिए । उनले विभागमा जति बेथिति होला भन्ने ठानेका थिए, त्यो भन्दा बढी भद्रगोल देखेर निराश पनि भएका थिए । तर उनले विभागलाई आम जनताले हेर्ने दृष्टिकोणमा नै परिवर्तन ल्याउने अठोट गरे । भुषाल भन्छन्– ‘मैले यहाँ र यो क्षेत्र जति जकडिएको भन्ने सोँचेको थिए, यहाँ त्यो भन्दा भयावह अवस्था रहेछ ठगीको ।’ कार्यालय सुधार्न उनलाई खासै समय लागेन । तर, बाहिरबाट भइरहेको ठगी रोक्न भने उनलाई पनि हम्मेहम्मे परिरहेको छ । तर यो ठगीलाई रोकेरै छोड्ने दृढता व्यक्त गर्छन भुषाल ।

अबका योजना
विभाग अर्धन्यायिक निकाय पनि भएकाले भुषाल आफ्ना सेवाग्राहीलाई न्याय दिलाउने हिसावले काम गर्ने योजना सुनाउछन् । तर त्यसका लागि ठूलो चुनौति रहेको उनले सुनाए । भुषालको पहिलो योजना पूराना उजुरीको फरफारक गर्ने छ । विगतमा पटक पटक ठगी गरेकाहरुले एक पटक कारवाही भोगेर उन्मुक्ति पाउने अवस्था देखिएपछि उनी पूराना फाइल खोज्ने अभियानमा छन् ।

साथै, भुषालले फाइलका चाङहरुको युग समाप्त पार्ने अर्को योजना पनि बनाएका छन् । भोलिका दिनमा फाइल कता पुुग्यो ? कहाँ हरायो ? भनेर खोज्नुपर्ने दिनको अन्त्य गर्न सबै विवरण डिजिटल बनाउने काम यसै वर्ष सक्ने उनको संकल्प छ । त्यसपछि भुषालले ठगीलाई रोक्ने गरि कुनै बिधि बनाउने सोँच पनि बनाएका छन् ।

फ्रि भिसा फ्रि टिकटको व्यवस्थापन
महानिर्देशक भुषाल सबै ठाउँमा दण्डात्मक विधि अपनाउने पक्षमा छैनन् । एक दिन एउटा कम्पनी अनुगमन गर्न कम्तिमा चार जना कर्मचारी आवश्यक पर्छ । उनीहरुलाई अनुगमनमा पठाउँदा कार्यालयको प्रभावित हुन्छ । त्यसकारण पनि भुषालले फ्रि भिसा, फ्रि टिकट कार्यान्वयनका लागि फरक विधि अपनाउने सोंचमा छन् । ‘हामीले ट्रयाकिङ प्रणाली विकास गरेर हेर्ने योजना बनाएका छौं, कसले कति पैसा लियो ? दियो ? सबै हेर्ने काम हुन्छ’, उनी भन्छन् ।

अर्को योजना भनेको सेवाग्राहीलाई नै नठगिनका लागि प्रेरित गर्ने । त्यसका लागि को ? कहाँ ? किन ? के काम गर्न ? कुन बाटोबाट जान लागेको हो ? सो सम्बन्धी सबै जानकारी लिनेगरी चेतना जगाउने योजना छ ।

तेस्रो मुलुक हुँदै जानेहरु अर्को समस्या
श्रम स्वीकृति लिएर तेश्रो मुलुक जानेहरुमा खासै समस्या छैन् । तर भिजिट भिसामा तेस्रो मुलुक जानेहरु समस्यामा पर्दै आएका छन् । यसलाई रोक्न मानव बेचबिखन रोकथाम ब्युरो, अध्यागमन विभाग, मानव अधिकार आयोग लगायतसँग समन्वय गरेर काम काम गर्ने तयारी छ । भुषाल भन्छन्, ‘सम्बद्ध निकायहरुसँग समझदारी पत्रमा हस्ताक्षर गरेरै काम गर्ने बारे केही तयारी गरेका छौं ।’

अन्योल मलेसिया
मलेसियाको वैदेशिक रोजगारी चाँडै खुल्ने महानिर्देशक भुषाल विश्वास दिलाउँछन् । ‘सरकारसँग जुन समझदारीमा हस्ताक्षर भएको छ, त्यस अनुसारका मापदण्ड पूरा गर्न मात्रै केही समय लागेको उनको तर्क छ । लागत रोजगारदाताले व्यहोर्नुपर्ने र कामदार छनौट प्रक्रियाको छनौटमा सिण्डिकेट र ठगी रोक्नुपर्ने विषय नेपाली सरकारी पक्षको छ । मापदण्ड पूरा गर्ने र मागपत्र पठाउने प्रक्रियाको छनौट अन्तिम चरणमा पुगेको र केही समयभित्रै मलेसिया रोजगारी फेरि खुल्ने विश्वास व्यक्त गर्छन् भुषाल

म्यादी बीमाको मनलाग्दी
वैदेशिक रोजगारीमा जाने कामदारहरुको बीमामा मनलाग्दी भइरहेको गुनासाहरु आइरहेका छन् । अधिक प्रिमियममा न्यूनतम् जोखिम वहन गरेको र क्षतिपूर्ति रकम कम भएको आवाज उठेपछि विभागले अहिलेकै प्रिमियममा क्षतिपूर्तिको रकम बढाउने तयारी गरेको छ ।
अहिले असुलिएको प्रिमियममै क्षतिपूर्ति रकम चाँही बढाउन सकिन्छ भन्ने निष्कर्ष महानिर्देशक भुषालको छ । त्यसका लागि छलफल अघि बढेको छ ।

जापानको अवसर र खाडीको विकल्प
जापान सरकारले पहिलो पटक केयर गिभरका लागि नेपाली कामदार अफर गरेको छ । अक्टोबरको पहिलो हप्ता केयर गिभरका लागि परिक्षाको तयारी गरिएको छ । राम्रो देश र धेरै कमाई खोजियो र जनशक्ति गतिलो तयार नगरिएकोमा भुषाल चिन्तित छन् । उनी भन्छन्, ‘मैले ३ वटा विषयमा मास्टर्स डिग्री गरेको छु । किन भने एउटा डिग्री गरेपछि काम पाएको भए अर्को गर्ने थिइन । काम पाइएन, पढ्न थालियो । तीन वटा डिग्री गरेको भनिन्छ तर हातमा सीप छैन् ।’ सीपबिहीन मान्छे उत्पादन भइरहेकाले अब राम्रा देश र धेरै कमाईका लागि त सीपयुक्त जनशक्ति उत्पादनमा राज्य र निजी क्षेत्रले लगानी बढाउनुपर्ने उनको बुझाई छ । भुषाल थप्छन्, ‘कुनै मान्छेले म जे पर्यो त्यही काम गर्छु भन्यो भने उसले केही पनि गर्दैन् । हाम्रो जनशक्ति त्यस्तै हो ।

हुण्डी रोक्ने अस्त्र
विदेश जाने कामदारहरुलाई बैंक खाता पेश गरेपछि मात्रै श्रम स्वीकृति दिने योजनामा वैदेशिक रोजगार विभाग छ । पहिलो चरणमा विदेश जानेहरुमा वित्तिय साक्षरता बढाउनका लागि खाता अनिवार्य गरिएको र पछि यही खाताबाट पैसा नेपाल पठाउनुपर्ने व्यवस्था कार्यान्वयन गर्न सहज हुने महानिर्देशक भुषालको विश्वास छ । यसले हुण्डीमार्फत नेपाल पैसा पठाउने परिपाटीको पनि अन्त्य हुने विश्वास छ ।

विभागलाई बदल्ने मन्त्र
२०६२ सालमा वैदेशिक रोजगारका ठेकेदारहरुबाट ठगिएका नागरिकहरु यतिबेला विभागमा न्याय पाइन्छ भनेर आइरहेका छन् । २०६२ सालमा गरिएका तमसुक बोकेर नागरिक आज उजुरी दिन आईरहेका छन् । यो भनेको विभागप्रति मानिसको बढ्दो विश्वास र आशा हो । उनीहरुको त्यो विश्वास र आशालाई तोड्न दिन हुन्न भन्ने पक्षमा महानिर्देशक भुषाल छन् । बदनाम अड्डाका रुपमा रहेको विभागप्रति नागरिकको नजरिया बदलिएको प्रमाण यो भन्दा अरु हुन सक्दैन’, उनले सगौरव सुनाए ।
यो विश्वासलाई अझै बढाउँदै जाने भुषालको संकल्प छ ।

म होइन्, हामी
‘मैँले परिवर्तन गरौं भनेँ, सबै साथीहरुले एकै स्वरमा हुन्छ भन्नु भयो, अहिले विभागमा रहेको हाम्रो टिम निकै मेहनतका साथ लागिपरेको छ, सबैले मेरो स्पिरिट र स्पिडलाई साथ दिनु भएको छ, यो हामी सबैको साझा प्रयत्नको प्रतिफल हो’, भुषालले गर्वका साथ सुनाए । आफू जहाँ गए पनि परिवर्तनका लागि काम गरेको अनुभव उनी सुनाउँछन् । विभाग आउनुअघि उनी वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रकाशकीय अधिकृत थिए । त्यहाँबाट विभाग सरुवा भएपछि पर्साका सांसद प्रदीप यादवले उनलाई लेखेको एउटा सन्देश निकै मर्मस्पर्शी छ ।

यादव लेख्छन्, ‘म के भनुँ, के नभनुँ, मसँग शब्द नै छन । प्रजातन्त्र आएपछि पहिलो चोटी एउटा सत्य बोल्ने, कसैको डर धाक नमान्ने, ईमानदारीका साथ कार्य गर्ने/गराउने, बीरगञ्जलाई केही बनाउनु पर्छ र बीरगञ्जबासीको सपना सकार गर्नुपर्छ भन्ने मनसायले लगनशील भई लगातार बिहान ६ बजे देखि राती १० बजेसम्म र कहिलेकाही राती १२ बजेसम्म पनि आफू नै बीरगञ्ज महानगरका कुना कुनामा गई भईरहेको कामको प्रगतिलाई स्थलगत निरीक्षण गर्थें । जनताको समस्या समाधान गर्ने एउटा साहसी अफिसरको रूपमा बीरगञ्जबासीले हेरेका थिए ।’

सांसद यादवले अझै अघि भनेका थिए– बीरगञ्जको मृत अवस्थामा रहेका बसपार्कलाई युरोपको बसपार्क जस्तो बनाउने एउटा साहसी अफिसर बीरगञ्जबासीले पहिलो चोटी हेरेका थिए । प्रसौनी र मनियारी जोड़ने पुल ८ बर्षदेखि बनेर पनि बन्द थियो । तपाईंको सक्रियताले चालु भयो । मेरो नजरमा तपाई जस्तो ईमान्दार कर्मठ विकाशप्रेमी वीरगञ्जबासीले कहिले पाउदैनन्, दुर्भाग्य छ बीरगञ्जमा तपाईं जस्तो अफिसर टिक्न सकेनन् ।’

को हुन भुषाल ?
अर्घाखाँचीको जुकेना २ मा २०३२ सालमा जन्मिएका भुषालले एसएलसीसम्मको अध्ययन त्यहीं पूरा गरे । आईएससी अध्ययन गर्दागर्दै अहेबका लागि छात्रवृत्ति प्राप्त गरेका उनले नौ बर्ष स्वास्थ्य सेवामा बताए । त्यतिञ्जेलमा प्राइभेट अध्ययन गरेर अर्थशास्त्रमा स्नातकोत्तर पास गरेका उनी एकाएक राजश्व समूहमा अधिकृतमा नाम निकाल्न सफल भए । २०६० सालमा राजश्व समूहको अधिकृतबाट पुनः सरकारी सेवा आरम्भ गरेका भुषालले विश्व बैंकको छात्रवृत्तिमा जापानमा पुनः स्नातकोत्तर अध्ययन गर्ने अवसर पाए । फेरि स्पेनको युनिभर्सिटी अफ ड्युस्टोबाट हरित अर्थतन्त्रमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा विषयमा पीएचडीसम्मको अध्ययन गरे ।         

Advertisement

Advertisement

Advertisement