उर्जामन्त्री पुन र कुलमानलाई ‘श्री ३ महाराज’ भन्दै कमिशनमा बिजुली बेच्ने गरेको गम्भीर आरोप

Advertisement

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद गजेन्द्रबहादुर महतले ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुन र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई श्री ३ महाराजको संज्ञा दिँदै उनीहरु बिजुली बेचेर कमिशन खाने गरेको गम्भीर आरोप लगाएका छन् ।

महतले जुम्लाको विद्युत समस्याबारे कुरा गर्न खोज्दा मन्त्री पुन र घिसिङले फोन नउठाएको र भेट्न पनि समय नदिएको भन्दै उनीहरुलाई ‘श्री ३ महाराज’को संज्ञा दिएका हु्न । उनले जुम्ला सदरमुकाम अहिले अन्धकार रहेको र उक्त समस्या समाधानका लागि पटक पटक कुरा खोज्दा दुवैले बेवास्ता गरेको गुनासो गरे ।

सांसद महतले भने ‘जुम्लाको समस्या यति मिडियामा आइसक्यो, यति सामाजिक सञ्जालमा आइसक्यो, हामीले यति फोन गर्यौं तर हाम्रा श्री ३ महाराजलाई । हाम्रा श्री ३ महाराज को हो ? भने कुलमान घिसिङ, अर्का श्री ३ महाराज हुनुहुन्छ वर्षमान पुन ।’

उनले थपे, ‘यी श्री ३ महाराजको फोन कसरी उठ्ने हो ? भेट कसरी गर्ने हो ? हाम्रो जिल्लाको समस्या कसरी राख्ने हो ? के विद्युत प्राधिकरण छैन नेपालमा, जुम्ला जिल्ला भन्ने छैन ?’ महतले विद्युत समस्याका कारण चार्ज गर्न नपाएर जुम्लामा अहिले मोवाइल फोनसमेत चलाउन समस्या हुने गरेको भन्दै यति प्रगति गर्र्यौं भनेर कुर्लिने र प्रचार गर्नेहरु जुम्लाको समस्या नहेरेको गुनासो गरे ।

उनले भने, हामीले यति प्रगति गर्यौं भनेर यिनीहरु कुर्लेको कुर्ल्यैं छन् । इन्डियालाई बत्ती बेच्छौं भन्दैछन्, कृपया जुम्लालाई बेचिदिनिुस्, तपाईहरुसँग कति विजुली छ ?, हामीलाई बेचिदिनुस् ।’

विद्युत आपूतिको समस्या भएपछि जुम्लामा अहिले डिजेल प्लान्ट राख्न लागेको भन्दै उनले भने, ‘यिनीहरुले जहाँबाट कमिसन आउँछ, त्यहीँमात्र विजुली विस्तार गर्छन् भन्ने सुनेको थिएँ, आज विश्वास लागेको छ ।’

Advertisement

Advertisement

Advertisement