‘अब सहकारीको पनि मर्जर गराउँछु, ५० प्रतिशत संख्या घटाउँछु’

Advertisement

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले बालुवाटारको ललितानिवास जग्गा प्रकरणमा तीन वटा निकायबाट छानबिन तथा अनुसन्धानको काम भइरहेकोले सरकारले यो प्रकरणलाई ओझेलमा नपार्ने जिकिर गरेकी छन् ।

बुधबार रिपोर्टर्स क्लबमा मन्त्री अर्यालले उक्त जग्गा प्रकरणबारे आज पनि काम भइरहेको सुनाईन् । अख्तियार, भूमि व्यवस्था मन्त्रालय र सिआईबी तीनवटै निकायले आ–आफ्नो ढंगले काम गरिरहेको भन्दै उनले भनिन्, ‘सबैले आ–आफ्नो ढंगले काम गरिरहेका छौं । त्यही भएर अलिक समय लागेको हो । अब धेरै लामो समय जाँदैन् ।’

अर्यालले यो प्रकरणमा कारबाहीको लागि केही ढिलाई भएपनि दोषीहरु नउम्किने दाबी गरिन् । उनले भनिन्, ‘जनताले यो प्रकरणमा जुन अपेक्षा गरेका छन्, त्यहीअनुसारको नतिजा आउँछ ।’

अर्यालले नेपालका सीमा स्तम्भको बारेमा जसरी बाहिर हल्ला आएको छ त्यस्तो अवस्था भने अहिले नरहेको जिकिर गरिन् । उनले भनिन्, ‘यस सम्बन्धमा परराष्ट्र मन्त्रालय र नापी विभागमार्फत अनुगमन भइरहेको छ । जसरी बाहिर सीमा स्तम्भ हराएको हल्ला आएको छ, त्यस्तो अवस्था होईन ।’

नेकपाको पार्टी कार्यालय सरकारी जग्गामा रहेको कुराबारे टिप्पणी गर्दै अर्यालले पार्टीले भाडा तिरेर बसेको सुनाईन् । उनले भनिन्, ‘पार्टीले निश्चित् शुल्क तिरेर बसेको छ । यो प्रकृतिको जग्गा लिज सिष्टममा जानको लागि पत्राचार भइसकेको छ । यदि लिज सिष्टममा गएन भने भोगाधिकार अन्त्य हुन्छ ।’ अर्यालले २०७१ सालमै लिज नीति पारित भएकोले अब आफूहरुले लिज सिष्टममा लैजाने पनि बताईन् ।

उनले सरकारले भूमिको समुचित उपयोग र व्यवस्थापन गर्नेगरि भू–उपयोग विद्येयक ल्याएको पनि सुनाईन् । नेपालमा अहिलेसम्मको अवस्था हेर्दा भूमि व्यवस्थापनसम्बन्धी एउटा मात्रै कानून प्रयोग नभएको पनि अर्यालले स्पष्ट पारिन् ।

अर्यालले भनिन्, ‘भूमि व्यवस्थापनसम्बन्धी विभिन्न कानूनहरु प्रयोग भएका छन् । भूमिको व्यवस्थापनको लागि एउटामात्रै कानून पर्याप्त छैन् । धेरै कानून आवश्यक छन् ।’ भूमिको व्यवस्थापन र समुचित प्रयोगको लागि नै वर्तमान सरकारले पहिलोपटक भूमि ऐन ल्याएको उनले दाबी गरिन् ।

उक्त विद्येयकमा जमिनको प्रयोग, वर्गीकरणलगायतका विषयहरु समेटिएको पनि अर्यालले जनाईन् । उनकाअनुसार उक्त विद्येयकमा जमिनको अधिकतम् प्रयोगमा जोड दिईएको छ । त्यस्तै, जनताको सहभागितामा जमिनको एकीकरणबारे पनि विद्येयकमा जोड दिईएको उनले सुनाईन् । अर्यालले भनिन्, ‘जमिनको चक्लाबन्दीलाई एकीकरण गर्छौं । कृषि, पशुलगायतका फार्म सञ्चालनमा ल्याउँछौं । सरकारले सबै जमिनको प्रयोग गर्नुपर्छ भन्ने नीति लिएको छ । यदि बाँझो जमिन बाँकी रह्यो भनेपनि सरकारले जनतासँग लिजमा लिएर त्यसको उपयोग गर्छ ।’

त्यस्तै, उनले हिजो पारित भएको विद्येयकमा भूमी बैंकको पनि परिकल्पना गरिएको जनाईन् । अर्यालले भनिन्, ‘भूमि बैंकको अहिले परिकल्पना मात्रै गरिएको हो । कस्तो बनाउने भन्नेबारे हामी छलफलमा छौं । अन्तर्राष्ट्रिय मापदण्डहरु पनि हेर्छौं । जे गर्दा देश र जनताको हितमा हुन्छ, हामी त्यहीअनुसारको भूमि बैंक बनाउँछौं ।’

मन्त्री अर्यालले सरकारी जग्गा, जमिन अतिक्रमण र कब्जा गर्ने कामलाई वर्तमान सरकारले रोकेको दाबी गदै भनिन्, ‘हिजो अतिक्रमण र कब्जा गरिएका सरकारी जग्गा यो सरकार आएपछि फिर्ता लिने प्रक्रिया अघि बढाएको छ । त्यसैको ज्वलन्त उदाहरण हो बालुवाटारको ललिता निवासको जग्गा प्रकरण ।’

सरकारले शक्तिशाली आयोग बनाएर उक्त प्रकरणलगायत अन्य विषयमा अध्ययन, अनुसन्धान तथा कारबाहीको काम अघि बढाईरहेको पनि उनले जनाईन् । सरकारले अहिले भूमिको व्यवस्थापनको लागि छुट्टै खालको सफ्टवेयर पनि विकास गरेको अर्यालले सुनाईन् ।

उनले भनिन्, ‘भूमि व्यवस्था विभागमार्फत अब सफ्टवेयरले जग्गा दर्तालगायतका काम गर्दछ । अब पहिलेजस्तो सरकारी जग्गा अतिक्रमण गर्ने, कर्मचारीको मिलेमतोमा कब्जा गर्ने काम बन्द भएको छ । अब मिलेमतोमा सरकारी जग्गाको पुर्जा लिने काम रोकिएको छ ।’

मन्त्री अर्यालकाअनुसार सरकारले ‘ल्याण्ड रेडर्क एण्ड म्यानेजमेन्ट सिष्टम’ नामक नयाँ सफ्टवेयर प्रयोगमा ल्याएको छ । आफूहरु आधुनिक नेपाल निर्माणको अभियानमा जुटिसकेको पनि उनले जनाईन् । उनले भनिन्, ‘हामी आधुनिक नेपाल निर्माण अभियानमा अघि बढिसकेका छौं । जग्गाको नाप, नक्शा पनि अब जीपीआरएस प्रविधिअनुसार हुन्छ । यो कोअर्डिनेटर प्रविधिको प्रयोग हो । डाँडामा राखेर जमिनको अवस्था के छ, कतिपटक हल्लियो भनेर हेर्न सकिन्छ । यही प्रविधि हामीले सगरमाथाको उचाई मापनमा प्रयोग गरेका थियौं । वरिपरि राखेर ६ ठाउँबाट हेर्यौं । चुचुरोमा राखेर अब्जर्भेशन गर्यौं । अब प्रोसेङिको काम भैरहेको छ ।’ यो प्रविधि नेपालका विभिन्न भागमा १ सयदेखि १५० स्थानमा स्थायी रुपमा राख्ने तयारी भएको पनि उनले जनाईन् ।

अर्यालले अब जग्गाको कित्ता, नापी पनि डिजिटल नापी (टोटल स्टेरेशन) बाट नाप र नक्शाको काम गरिरहेको पनि विश्वास दिलाईन् । उनले भनिन्, ‘यो सिष्टम लागुसँगै जैविक प्रकोपको बारेमापनि पनि सूचना दिन्छ । यो अत्यन्तै उपयोगी प्रविधि हो ।’ आफूहरुले जग्गाको कित्ता, नापी डिजिटल नापीको सुरुवात गरेको पनि अर्यालले जनाईन् ।

उनले भनिन्, ‘यसले जमिनको सतह निमेलेको ठाउँपनि सिधा देखाउँछ ।’ त्यस्तै भिरालो भए पनि सिधा यही सिष्टमले देखाउने र त्रुटि हुने सम्भावना पनि नहुने अर्यालले स्पष्ट पारिन् । उनले लाईडरको व्यवस्थाले पनि जमिनको अवस्था हेर्दा के कस्तो छ ? भन्ने कुरा देखिने जनाईन् । अर्यालले भनिन्, ‘यो लाईडर प्रविधि भनेको मानिसको स्वास्थ्य अवस्थाको जाँच गर्दा प्रयोग गरिने एम.आर.आईजस्तै हो । अहिले एउटा प्रदेशबाट यो प्रविधि सुरु हुँदैछ ।’

त्यस्तै, मन्त्री अर्यालले स्याटलाईट ईमेजको पनि प्रयोग गर्न लागिएको सुनाईन । उनले भनिन्, ‘जमिनको सतहको अवस्था के कस्तो छ ? भनेर यसले देखाउँछ । जमिनको सतहमा नभई हेर्न सकिन्छ । अफिसबाट वा कुनै ठाउँबाट पनि यो हेर्न सकिन्छ । यो चीन सरकारबाट सहयोग प्राप्त भएको हो ।’

नेपालको महत्वपूर्ण पुँजी भनेको नै भूमि भएकोले यसको वैज्ञानिक व्यवस्थापन र समुचित उपयोग गर्नेगरि सरकार अघि बढिरहेको उनको भनाई छ । अब नयाँ प्रविधिको विकास भएकोले सोही सिष्टमबाट नै नेपालका सरकारी जग्गाको सरंक्षण गर्नसकिने पनि अर्यालले बताईन् ।

मन्त्री अर्यालले सहकारीको हकमा आएको नयाँ नियामावलीले सन्दर्भ व्याजदर यही सरकारले पहिलोपटक निर्धारण गरेको दाबी गरिन् । उनले भनिन्, ‘सहकारी संस्थाले ऋण दिँदा १६ प्रतिशतभन्दा बढि लिन नपाउने व्यवस्था गरेका छौं । बचत र ऋणको अन्तर ६ प्रतिशतभन्दा बढि हुन नदिने र अनुगमनको लागि एकीकृत निर्देशिका बनाएका छौं । यसको लागि स्थानीय तह, प्रदेश र संघले अनुगमन गर्छ ।’

त्यस्तै अर्यालले आफूहरुले सहकारीको मर्जर (एकीकरण) गर्ने पनि सुनाईन् । बचत ऋण कारोबार गर्ने संस्थाको छुट्टै ऐन बनाउने पनि उनले जनाईन् । अर्यालले आगामी पाँच वर्षभित्र सहकारीको संख्या ५० प्रतिशतमा झार्ने पनि जानकारी दिईन् । सहकारीको सेवा प्रवाहको पाटोपनि सुधार गर्ने सरकारको तयारी रहेको उनको भनाई छ ।

Advertisement

Advertisement

Advertisement