चिया क्षेत्रको समस्या समाधानका लागि सरकार प्रतिबद्धः मन्त्री खनाल

Advertisement

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले झापा र इलामका चिया किसानलगायत सरोकारवालासँग छलफल गरेको छ ।

चियाखेती शुरु भएको करीब एक सय ५० वर्ष बिते पनि अझै पनि चियाबाट राम्रो लाभ लिन सकिएको छैन । कहिले श्रमिकले तोकिएको गुनासो त कहिले हरियोपत्ती नबिकेको पीडा सधैँ समस्यै समस्याबाट गुज्रिरहेको समयमा मन्त्रीले नै अवलोकन गर्दा केही समस्या समाधान हुने सरोकारवालाको बुझाइ छ ।

अन्य खेतीलाई जस्तो चियालाई सरकारले कहिल्यै हेरेन । हामी निजी क्षेत्रकै जोडमा मात्र चिया क्षेत्र चलेको छ । चिया उद्यमी तथा गोर्खा टी स्टेटका मालिक उदय चापागाईंले भने, चियाको समस्या हल गर्न गठित समितिले बनाएको प्रतिवेदन पनि मन्त्रालयमै थन्किएको छ । त्यसको कार्यान्वयन गराउन पनि मैले मन्त्रीलाई सुझाव दिएको थिए । चापागाईंले चियामा सहुलियत र अनुदान दिन सकेमात्रै पनि देशको व्यापार घाटा धेरै हदसम्म घट्न सक्ने भएकाले सरकारको ध्यानाकर्षण हुनुपर्नेमा मन्त्रीलाई सुझाव दिइएको बताउ ।

सरकारले सुविधा नदिएकै कारण चिया क्षेत्र पछि परेको भन्दै यसतर्फ सरकार गम्भीर भएर लाग्नुपर्नेमा सरोकारवालाले जोड दिएका थिए । राज्यले विभेदकारी नीति लिएकै कारण चियामा समस्या निम्तिएको चिया उत्पादन सहकारी संस्थाका जिल्ला अध्यक्ष प्रेमराज गुरुङले बताए ।

सरकारले आम्दानी मात्र लिने तर लगानी नगर्ने परम्परा रहेकाले चियालाई विभेद भएको छ । यो नीति खारेज गर्नु पर्छ । मन्त्रीसँगको भेटमा चिया उद्यमी सहकारी साना किसानले ज्ञापनपत्र बुझाएका थिए ।

बहुफाइदाकारी कृषिजन्य उत्पादन चियाखेती व्यवसाय र चिया क्षेत्रको एकीकृत र दिगो विकासका लागि सरकारी निजी र सम्बद्ध सबै क्षेत्रबाट समन्वयात्मक प्रयत्न गरी चियालाई राष्ट्रिय प्राथमिकताका क्षेत्रमा समावेश गरेर अघि बढ्न ढिलाइ भइसकेको अवस्थाप्रति ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाइएको बताइएको छ । आफ्नो तीन दिने भ्रमणका क्रममा मन्त्री खनालले चिया प्रतिवेदनका बारेमा समेत अध्ययन गरेर कार्यान्वयन गर्ने र प्राङ्गरिकरूपमा चियाखेती गर्ने किसानलाई सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

सरकारले घोषणा गरेका चिया क्षेत्रलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने बताउँदै उनले भने, मजदूर उद्योग र बजारीकरणमा देखिएका समस्याको विषयमा सरकार गम्भीर छ । मन्त्री खनालले भने, “चिया क्षेत्रलाई जोगाउन सरकारले छिट्टै योजना बनाएर समस्याको समाधान गर्नेछ ।” अहिले चिया खेतीका लागि मल अभाव भएको गुनासो आइरहेको र यसको समाधान गर्न आफू लागिपरेको पनि उनले बताए ।

मन्त्री खनालले देशको अर्थतन्त्रको मेरुदण्ड मानिएको चिया क्षेत्रमा दिगो समाधानका लागि चिया क्षेत्र समस्या समाधान उच्चस्तरीय कार्यदलले दिएको प्रतिवेदन कार्यान्वयनमा सरकार अडिग रहेको धारणा व्यक्त गरेका थियो ।

Advertisement

Advertisement

Advertisement