बैंकर्सको विज्ञप्तिले पुँजी बजारमा हलचल, यसो भन्छ धितोपत्र बोर्ड र राष्ट्र बैंक

Advertisement

काठमाडौं । नेपाल बैंकर्स संघको विज्ञप्तिले पुँजी बजारमा हलचल ल्याईदिएको छ ।  बैंकर्स संघले बैंकहरुको नाफामा २५ प्रतिशतसम्म गिरावट आउने र सेयर बजारमा ७५ प्रतिशत हिस्सा बैंक तथा वित्तिय संस्थाको सेयर मूल्यमा गिरावट आई समग्र सेयर बजारमै नकारात्मक असर पर्ने निष्कर्षसहितको विज्ञप्ति निकालेको थियो ।

बैंकर्स संघले सेयर बजारमा नकारात्मक असर पर्ने गरि विज्ञप्ति निकालेपछि सेयर बजारका लगानी कर्ताले आपक्ति जनाए । सेयर बजारलाई प्रत्यक्ष प्रभावित पार्ने गरि विज्ञप्ति निकालेको भन्दै सेयर बजारका लगानीकर्ताले आपक्ति जनाएका हुन् । सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बैंकर्सको विज्ञप्ति गैर जिम्मेवार भएको आरोप लगाए । ‘बैंकर्स संघले गैर जिम्मेवार ढंगले विज्ञप्ति निकाल्यो, कार्य क्षेत्र भन्दा बाहिर गएर विज्ञप्ति निकाल्यो, यो हाम्रा लागि आपक्ति जनक छ ।’

उनले बैंकर्स संघमा आवद्ध बैंक तथा वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुलाई धितोपत्र बोर्डले कारवाही गर्नुपर्ने माग समेत राखे । ‘पुँजी बजारलाई प्रत्यक्ष प्रभावित पार्ने गरि संगठित रुपले विज्ञप्ति निकाल्नेहरुलाई धितोपत्र बोर्डले कारवाही गरोस्, पुँजी बजार ध्वस्त हुन्छ भन्ने अधिकार बैंकर्सलाई कसले दियो ?’, अध्यक्ष अर्यालले भने ।

[caption id="attachment_133046" align="aligncenter" width="546"] बैंकर्स संघले निकालेको विज्ञप्तिको एक अंश[/caption]

नेपाल इन्भेष्टर्स फोरमका महासचिव राजन लम्सालले पनि सेयर बजारमा प्रभावित हुने कुरा बोल्न नहुने बताए । सेयर बजार घट्ने वा बढ्ने कुरा लगानीकर्ताको मनोविज्ञानमा भर पर्ने भएकाले बैंकर्स संघले त्यस्तो धारणा राख्ने अधिकार नभएको बताए । ‘बैंकर्स संघले आफ्ना माग राख्दा सेयर बजारमा असर पर्ने कुरा गर्न पाउँदैनन्, सेयर बजार बढ्ने वा घट्ने कुरा लगानीकर्ताको हातमा हुन्छ, बैंकर्सलाई त्यस्तो बोल्ने अधिकारी छैन’, महासचिव लम्सालले कर्पाेरेट नेपालसँग भने । उनले बैंकर्सको विज्ञप्ति प्रति नेपाल राष्ट्र बैंक कडा रुपमा प्रस्तुत हुनुपर्ने आवश्यकता समेत औल्याए ।
लगानीकर्ता संघका उपाध्यक्ष तारा प्रसाद फुल्लेले पनि बैंकर्सको विज्ञप्ति प्रति आपक्ति जनाए । ‘बैंकर्स संघले कुन नैतिकतामा यस्तो विज्ञप्ति निकाल्यो, सबै विद्धानहरु रहेको संस्थाले सेयर बजारलाई प्रत्यक्ष प्रभावित गर्ने यस्तो विज्ञप्ति निकाल्नु दुःखद कुरा हो’, उपाध्यक्ष फुल्लेलले भने ।

यसो भन्छ धितोपत्र बोर्ड र राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए ।‘सबैले आ आफ्नो ठाउँमा जिम्मेवार हुनुपर्छ, जिम्मेवार अभिव्यक्ति दिनुपर्छ ।’, प्रवक्ता निरौलाले भने । सेयर बजारमा प्रत्यक्ष प्रभाव पार्ने विषय विषय बारे धितोपत्र बोर्डले सोच्नुपर्ने उनको भनाई थियो ।
उता, धितोपत्र बोर्डका सहायक प्रवक्ता रुपेश केसीले भने बैंकर्सको विज्ञप्तिबारे बोर्डले अध्ययन गर्ने बताए ।‘बैंकर्स संघको विज्ञप्तिको आसय के हो भनेर हामी अध्ययन गर्छाै’, बोर्डका सहायक प्रवक्ता केसीले कर्पाेरेट नेपालसँग भने ।

Advertisement

Advertisement

Advertisement