दश बर्षदेखि अधकल्चो यो भवन देखेर भक्तपुर–काठमाडौं ओहोर–दोहोर गर्ने यात्रु छक्क पर्छन

Advertisement

काठमाडौं । भक्तपुरको मध्यपुर थिमी चोकदेखि करिब एक किमीको हाइवे सडक पार गरेपछि राधेराधे चोक आउँछ। चोकमै अडिएर यसो अघिल्लतिर नियाल्दा सामुन्ने एउटा निर्माणाधीन अवस्थाको अग्लो भवन देखिन्छ।

भक्तपुर–काठमाडौं ओहोर–दोहोर गर्ने यात्रुले आजकाल यो भवन देख्दा प्रश्न गर्छन्, यत्रो अग्लो भवन कसले के प्रयोजनको लागि बनाउँदै होला... लामो समयसम्म निर्माणधीन अवस्थामा रहेको यो भवन निर्माण कार्य थालिएको झण्डै १० वर्ष बितेको छ। तर, निर्माण कार्यले भने अझै पूर्णता पाएको छैन बरु विवाद थपिएको छ। राधेराधे चोकस्थित करिब ६ रोपनी ३ आना क्षेत्रफलमा बनेको यो भवन अवैध रहेको मध्यपुर थिमी नगरपालिकाले जनाएका छ । सुरुमा आवासको लागि निर्माण गर्ने मापदण्ड र नक्सा बनाएर निर्माण गर्दागर्दा नक्सा परिवर्तन गरेर पाँचतारे होटल खोल्ने प्रयाश भएको नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले बताए।

उनले मापदण्ड विपरीत निर्माण भएपछि नगरपालिकाले निर्माणाधीन अवस्थामा रहेको भवनको काम रोकेको उनले बताए । नगरपालिकाभित्र बन्न भवनबारे नगरपालिकालाई नै जानकारी नदिएकाले त्यसबारे अनुसन्धान गर्न तत्कालका लागि निर्माण कार्य रोकिएको श्रेष्ठको भनाइ छ। उनले भने, ‘पाँच तलाको स्वीकृत लिएर १७ तला बनाइयो। राजकुलो पुरेर नगरपालिकाको बीचमा यस्तो अग्लो भवन बनाउनु गैरकानुनी थियो। भवन बनिहाल्यो अब भत्काउने कुरा भएन । राजकुलो र सडकको जग्गा छुट्याइदिएपछि मात्रै यसमा नगरपालिका सहमत हुन्छ। ’

उनले दुईवटा भवन बनाएपछि ५ तले भवनको मात्रै स्वीकृति भएकाले त्यसबारे नगरपालिकाले आवश्यक कारबाहीसमेत गर्ने जानकारी दिए। उक्त स्थानको किता न. २६ र ५० को जग्गामा जोडेर अर्को भवन निर्माण गर्दा नगरपालिकालाई बेवास्ता गरेकाले नगरपालिकाले यस्तो आपत्ति जनाएको हो । ‘यसलाई नगरपालिकाले अवैध निर्माणको रुपमा राखेको छ। अहिले भक्तपुर जिल्लामा यस्ता अनियमित रुपमा निर्माण भइरहेका अन्य भवनलाई पनि हामीले रोक्का गरेका छौं,’ मेयर श्रेष्ठले भने।

मुख्य सडकको छेवैमा बनाइँदै गरिएको यो भवन निर्माण २०६७ सालमा सुरु भएको थियो। पहिलो पाँच तलाको भवन निर्माण स्वीकृति मध्यपुर थिमी नपाले दिएको थियो। ५ तलाको भवनसँगै जोडिएको अर्को भवन निर्माणको लागि नगरपालिकासँग स्वीकृति लिइएको छैन। उपत्यका विकास प्राधिकरणले १७ तलाको भवन निर्माणको लागि स्वीकृति दिएको थियो।

उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले निर्माणकर्ताले संयुक्त आवास भनेर स्वीकृति लिएको केही समयपछि उपयोग परिवर्तन गरेकाले समस्या देखिएको बताए। ‘पहिले आवासको लागि भवन निर्माण गर्ने भन्ने कुरा थियो। त्यसपछि पहिले दर्ता गरेको प्रयोजन परिवर्तन गरेपश्चात नगरपालिकाले कारण माग गरेको हो,’ उनले भने, ‘हामीले सबै सर्तसंगत देखिएर नै १७ तलाको स्वीकृत दिएका छौं। बाँकी कुरा नगरपालिकाले जानोस्। ’

व्यवसायिक तथा निर्माणाधीन भवनका मालिक विष्णु न्यौपानेले आफूले सबैजसो कागजात पूरा गरेर संरचना निर्माण गरेको बताए। ‘हामीले भवन प्रयोजनको शीर्षक मात्रै परिवर्तन गरेका हौं। अन्य सबै स्वीकृति र प्रक्रिया पूरा गरेका छौं,’ उनले सुनाए, ‘तर नगरपालिकाले अचानक निर्माण कार्य रोक्का गरेको छ। ’ उनले यो भवनमा पाँचतारे होटल बनाउने योजना अनुसार काम अघि बढेको बताए।

‘पहिले हामीले निजी आवास भनेर मापदण्ड स्वीकृत गराएका थियौं। पछि परिवर्तन गर्नुपर्ने अवस्था आयो त्यसकारण प्रयोजन शीर्षक परिवतर्न गरेका हौं,’ उनले भने। उनका अनुसार १७ तलाको भवन निर्माणको लागि उपत्यका विकास प्राधिकरणले स्वीकृति दिएको थियो। तर, नगरपालिकाले भने स्थानीयत तहसँग अनुमति नलिएको र राजकुलो मिचिएको भन्दै भवन निर्माण कार्य रोक्का गरेको छ।

नागरिक दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement