सडक दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई १० लाख क्षतिपुर्ति, गम्भिर घाइतेको उपचारमा १५ लाख

Advertisement

काठमाडौं । अब सडक दुर्घटनमा ज्यान गुमाउने मृतकका परिवारले १० लाख रुपैंया क्षतिपुर्ति पाउने भएका छन् । सरकारले सडक दुर्घटनामा ज्यान गुमाउने मृतकका परिवारको क्षतिपूर्ति रकम शतप्रतिशतले बढाएर १० लाख पुर्याउने प्रक्रिया अघि बढाएको हो । यातायात व्यवस्था विभागले सडक गाडीको तेश्रो पक्ष बीमाको भारित जोखिमको रकम ५ लाखबाट बढाएर १० लाख पुर्याउने निर्णय गरेर बीमा समितिमा पठाएको हो ।

बीमा समितिले बीमादर सल्लाहकार समिति मार्फत निर्णय गरेर यो व्यवस्था लागु गर्नेछ । प्रिमियम निर्धारणका लागि समितिका अध्यक्ष, बीमक कम्पनीका दुई जना प्रतिनिधी र समितिका कार्यकारी निर्देशक सदस्य सचिव रहेको बीमा दर सल्लाहकार समिति रहेको छ । हाल सडक दुर्घटनामा ज्यान गुमाउनेका परिवारले तेश्रो पक्ष बीमा वापत ५ लाख रुपैंयाँ पाउने व्यवस्था छ । त्यस्तै घाइतेहरुको उपचारका लागि ३ लाख रुपैंया बीमा वापत उपलब्ध हुन्छ ।

नयाँ व्यवस्था अनुसार घाइतेहरुको उपचार खर्च ३ लाख नै कायम गरिएको छ । तर गम्भिर घाइतेहरुको उपचार खर्चका लागि भने १५ लाख रुपैंयाँ पाउनेछन् । ‘यातायात विभागबाट फाइल आएको छ, हामीले बीमा कम्पनीहरुसँग एक पटक छलफल गरिसकेका छौं, केहि समयभित्रै त्यसको टुंगो लाग्छ’, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने ।

हालसम्म मोटर बीमा सम्बन्धी निर्देशिका, २०७३ अनुसार तेश्रो पक्ष बीमा हुँदै आएको छ । २०६६ सालदेखि तेश्रो पक्ष बीमाको भुक्तानी दायित्व ५ लाख बनाइएको थियो । संसदको विकास तथा प्रविधि समितिले यात्रुको तेश्रो पक्ष बीमाको रकम बढाउन निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार भौतिक मन्त्रालयले यातायात व्यवस्था विभागले निर्णय गरेर बीमा समितिमा पठाएको हो ।

Advertisement

Advertisement

Advertisement