प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

Advertisement

सिरहा । भारतबाट अवैध रुपमा ल्याएको समान छुटाउन प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको भन्दै सिरहा प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ ।

सिरहा नगरपालिका–७ ट्राफिक चौकमा चेकजाँच गरिरहेको प्रहरी टोलीलाई भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा छुटाउन आर्थिक प्रलोभनमा पार्न खोजेको भन्दै प्रहरीले सिरहा नगरपालिका–५ निवासी ४५ वर्षीय मोहम्मद मुमताजलाई पक्राउ गरेको हो ।

सो क्रममा अवैध रुपमा ल्याएको सामानसमेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरीले सिरहा नगरपालिका–७ ट्राफिक चौकबाट बिना कागजपत्र ल्याएको २२ थान अवैध भैंसी र ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले ना २ ख ८५५५ नंको एलपी ट्रकमा ल्याउँदै गरेको लैनो भैँसी ११ र पाडारपाडी ११ वटासहित ट्रक चालक मोरङको सुन्दर हरैचा नगरपालिका–२ निवासी ३२ वर्षीय सञ्जयकुमार चौधरी र भैँसी धनी सिरहाको नगरपालिका–१२ निवासी ५२ वर्षीय इनकुमार यादवलाई पक्राउ गरेको हो । पक्राउ परेको करीब रु तीन लाख ५० हजार मूल्य बराबरको भैँसी र  ६ लाख मूल्य बराबरको सो ट्रक आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय माडर सिरहामा बुझाइने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement