काठमाडौंसम्मै पेट्रोलियम पाइपलाइन ल्याउन अध्ययन अगाडि बढाइने

Advertisement

काठमाडौं । निर्माणाधीन काठमाडौँ–निजगढ द्रुतमार्गमा समेत पेट्रोलियम पाइपलाइन बिछ्याउने बारेमा अध्ययन अगाडि बढाइएको छ ।

अमलेखगञ्जसम्म आइपुगेको पाइपलाइनलाई निर्माणाधीन द्रुतमार्ग हुँदै काठमाडौँसम्म ल्याउने सम्भावनाको अध्ययन सुरु भएको हो । त्यसको अध्ययनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रक्रिया अगाडि बढाइसकेको छ ।

मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले स्थलगत सम्भाव्यता अध्ययन गर्ने मागसहित रक्षा मन्त्रालयमा पत्र पठाइसकिएको जानकारी दिए । दुई हप्ताअघि पठाइएको पत्रको अहिलेसम्म कुनै जवाफ भने आइनसकेको उनको भनाइ छ ।

रक्षा मन्त्रालयको सकरात्मक जवाफ आउने वित्तिकै दु्रतमार्गमा सम्भाव्यता अध्ययनका लागि प्रक्रिया अगाडि बढाइने उनले बताए । “द्रुतमार्ग निर्माण र पेट्रोलियम पाइपलाइन विछ्याउने काम एकैसाथ सम्पन्न गर्ने सरकारको योजना रहेको छ”, उनले थपे, कामसँगै बढाउनुपर्ने भएकाले यो कार्यमा ढिलासुस्ती गर्न हुँदैन । ”

रक्षा मन्त्रालयका प्रवक्ता बाबुराम गौतमले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पत्र रक्षा मन्त्रालयमा आएको पुष्टि गरे । द्रुतमार्गमा पेट्रोलियम पाइप विछ्याउन सम्भव छ छैन भन्ने यकिन छैन । पाइप राख्न आयोजनाको कुल लागत, समयावधि, कति ठाउँमा थप पुल बनाउनुपर्छ लगायतको विषयमा अध्ययनपछि मात्र स्पष्ट हुन सक्ने सचिव अधिकारीले बताए । पाइपलाइन विछ्याउन सम्भव भएमा सम्पूर्ण लगानी नेपाल आयल निगमले गर्ने बताइएको छ ।

प्रवक्ता गौतमले प्राप्त पत्रको अध्ययन भइरहेको जानकारीसमेत दिए । उनका अनुसार यसबारे नेपाली सेनाको समेत राय बुझ्न सेनालाई पत्राचार गरिएको छ । दु्रतमार्ग निर्माणको जिम्मा सेनाले पाएको हुनाले उसको राय माग गरिएको हो ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सरकारको योजनामा नेपाली सेनाको कुनै असहमति नरहेको स्पष्ट पार्दै यसबारे सेनाले प्रतिउत्तर पठाइसकिएको बताए । उनले यो कार्य राष्ट्रको हितमा रहेको समेत बताए ।

“हुन त दु्रतमार्ग निर्माणका लागि तयार सेनाद्वारा तयार पारिएको डीपीआरमा दु्रतमार्गमा पेट्रोलियम पाइपलाइन विछ्याउनेबारे केही पनि उल्लेख गरिएको छैन”, उनले भने, “तर पाइपलाइन विछ्याउन सम्भव देखिएमा तथा सरकारले यो आयोजनालाई अगाडि बढाउन तयार भएको अवस्थामा सेना यसका लागि तयार रहेको छ ।”

नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले निर्माणाधीन काठमाडौँ निजगढ दु्रतमार्गमा पाइपलाइन विछ्याउनेबारे अहिले सकरात्मक रूपमा काम अगाडि बढिरहेको जानकारी दिए ।

यसअघि काठमाडौँ–निजगढ द्रुतमार्ग निर्माणका लागि भारतीय कम्पनीद्वारा तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र एसियाली विकास बैङ्क (एडीबी) द्वारा गरिएको अध्ययनमा समेत दु्रतमार्गमा पेट्रोलियम पाइपलाइन विछ्याउन सम्भव रहेको उल्लेख गरिएको थियो । यद्यपि हाल उक्त डीपीआर स्वीकृत भएन । हाल कोरियन कम्पनीद्वारा बनाइएको नयाँ डीपीआर सरकारलाई पेस गरिएको छ । गत चैतमा उक्त डीपीआर सरकारलाई बुझाइए पनि अहिलेसम्म त्यसबारे निर्णय भएको छैन ।

गोरखापत्र दैनिकबाट ,

Advertisement

Advertisement

Advertisement