‘चाइनिज’ले नाक खुम्च्याएपछि यसरी फैलियो ‘पैंचो पसल’

Advertisement

काठमाडौं । सुन्दा पत्याउन गाह्रो पर्छ की एउटा चाइनिजले नाक खुम्च्याउँदा कसैको जीवनको बाटो बदलिन्छ । लक्ष्य बदलिन्छ । तर गुल्मीका ध्रुव न्यौपानेका हकमा यही भइदियो । एउटा चाइनिजले नाक खुम्च्याएको घट्नाले उनको जीवन बदलिदियो । न्यौपाने चल्ताफुर्ता रेष्टुरेन्टको सेयर बेचेर पैंचो पसल नाममा नयाँ सोचबाट किसानले उत्पादन गरेको तरकारी र अन्न साटासाट गर्ने व्यवसायमा लागे । यतिबेला उनी किसानका समान साटासाटमा मात्रै सीमित छैनन्, यसको ठूलो सञ्जाल देशभर विस्तार गर्न सफल भइसकेका छन् ।

‘काठमाडौंको तिनकुनेस्थित सिद्धार्थ कटेजमा एक दिन ग्राहकलाई स्वीट पप कर्न खुवाउँदै थिएँ, एक चाइनिजले सोधेः यो तिम्रो देशको हो ? मैले जवाफ दिएँः होइन्, तिम्रै देशबाट ल्याईएको हो, हाम्रो देशको मकै त भैँसीलाई खुवाइन्छ । ती चाइनिजले नाक खुम्च्याए, मलाई असैह्य पीँडा भयो । त्यसपछि पैंचो पसल जन्मियो, न्यौपानेले सुनाए ।

पैंचो पसल सुरु गर्नुअघि ध्रुव न्यौपाने सिद्धार्थ ग्रुप अफ हस्पिटालिटिका एक हिस्सेदार थिए । चिनियाँसँगको नमिठो अनुभवले उनको बाटो मोडियो र पैंचो पसलको ड्रिम प्रोजेक्ट अघि बढाउने निर्णय गरे । चार वर्षअघि डेढ करोडको लगानीमा न्यौपाने र उनको समूहले आरम्भ गरेको पैंचो पसलमा अहिले २० करोेड लगानी पुगिसकेको छ । त्यति मात्रै होइन, वार्षिक कारोबारको आकार पनि २५ करोड पुगिसकेको छ । देशभर ६० हजार किसान आवद्ध भएका छन् । १२ हजार पाँच सय परिवार किसानसँग प्रत्यक्ष आवद्धता छन् । ३५० जनाले रोजगारी पाएका छन् । गाउँमा बाँझै बस्ने जमिनमा तरकारी फल्न थालेको छ भने किसानले आफ्ना उत्पादनको मूल्य पनि पाउन थालेका छन् ।

न्यौपाने भन्छन् ‘१३ जनाको परिवार थियो हाम्रो, घरमा प्रशस्तै अन्नबाली हुन्थ्यो । तर, पैसाको सधैँ अभाव थियो । स्कुल पढ्ने बेलामा ट्युसन जानुपथ्र्यो । तर, त्यसका लागि पैसा नहुने, यो पीडाले मलाई सधै सताउँथ्यो ।’ आज पैंचो पसलले गाउँ गाउँमा प्रसस्त्रै अन्नबाली र फलफुल हुने तर पैसा नहुने समस्याको अन्त्य गर्ने योजना बोकेर उनी कुँदिरहेका छन् ।

किसानले आफ्नो उत्पादन पैंचो पसललाई दिएर आफूलाई आवश्यक समान पाईरहेका छन् । धेरै समान दिएको छ भने आवश्यक समान लगेर पनि पैसा पाइरहेको छ । अर्थात बारीका फाँटहरु अब उपयोगविहीन हुने अवस्थाको अन्त्य हुने समय आउँदैछ । पैंचो पसलले किसानसँग लिएका उत्पादनको ७० प्रतिशतसम्म नगद भुक्तानी दिने गरेको छ भने ३० प्रतिशत समान नै उपलब्ध गराउँदै आएको छ ।

बलेटक्सारदेखिको यात्रा
गुल्मीको बलेटक्सारमा चार वर्षअघि आरम्भ भएको थियो पैँचो पसल । यतिबेला १२ वटा अउटलेट सञ्चालन छन् भने बुटवलमा ठूलो तरकारी बजार छ । त्यहाँ मात्रै दैनिक एक हजार भन्दा बढीले गाउँमा किसानले उत्पादन गरेका फलफुल र तरकारी खरिद गर्छन् । गाउँमा फलेका अमिला आँपले प्रोसेसिङ भएर अचारका रुपमा शहरमा बजार पाउन थालेका छन् ।

नाफा कसरी ?
‘किसानले आफ्ना उत्पादन दिन्छन । आफूलाई चाहिएको सामान लैजान्छन् । किसानको मूल्यमा पैंचो पसलले खरिद गर्छ । पसलले गाउँमा किनेर शहरमा बेच्ने प्रणाली विकास गरेको छ । साथै, उद्योगबाट सामान सिधै खरिद गरेर किसानसम्म पुर्याइन्छ । पैंचोको बजार प्रणालीबारे सुनाउँदै न्यौपानेले आफूहरु अहिले नाफा घाटा बराबरको अवस्थामा आइपुगेको र अब बने यस व्यवसायले गति लिने बताए । गत वर्ष २५ करोडको कारोबार गरेको पैंचो पसलले अब ४० करोडको टार्गेट सेट गरेको छ ।

किसान र बजार
पैंचोसँग प्रत्यक्ष रुपमा १२ हजार ५०० घरधुरी किसान आवद्ध छन् । यी किसानका खेतबारीसम्म पैंचोले नै कृषि प्राविधिक पठाएर सहयोग गर्छ । त्यसबाहेक देशभरका ६० हजार कृषि फार्ममा उत्पादित उपज पैंचोमा पाइन्छ ।  देशभर पाँच डिलर र २५ हजार पसलहरुले पैंचोबाट सामान लगेर बेचिरहेका छन् ।

काठमाडौंमा के गर्ने ?
कामाठाडौंको बजारलाई काँठका उत्पादन र धादिङ, काभ्रे, नुवाकोटका उत्पादनले धानेको न्यौपानेले निष्कर्ष सुनाए । त्यसकारण उनीहरुले पहिले व्यवसायिक हुन नसकेका उपत्यका बाहिरका शहरहरुसम्म पैँचो विस्तार गरेर मात्रै उपत्यका छिर्ने योजना बनाएका छन् ।
यद्यपी काठमाडौंमा बिगमार्ट, सेल्सबेरी, केके मार्ट लगायतले पैँचोका उत्पादन बेचिरहेका छन् । केही समयभित्रै भाटभटेनीमा समेत पैँचोका समान पाइनेछन् ।

भावी योजना ?
भर्खरै बेलायतको ल्यानकास्टर युनिभर्सिटीले पैंचो पसललाई इमेल पठाएको छ जसमा पैैचो पसल प्रणालीबारे अध्ययन गर्ने र उपयुक्त देखिएमा पाठ्यपुस्तकमै समावेश गर्ने उल्लेख छ । न्यौपाने भन्छन्, ‘फ्युडल मेनेजमेन्ट इन्नोभेसन’को विकास गरेर  पैँचो पसलको रुपमा विस्तार गर्ने र केही समयपछि निर्यात समेत गर्ने उनको अठोट छ । उनले कृषि र व्यापारलाई सिधै जोड्ने व्यवसायिक प्रणाली पैँचो भएको र त्यसलाई एक दशकभित्र व्यापक बनाईसक्ने अठोट पनि सुनाए ।

समस्या पनि
किसानका उत्पादन खरिद गर्दा पैंचो पसलले बिल दिनसक्ने अवस्था नरहेकोले भोलिका दिनमा कर प्रशासनले दुःख दिने होकी ? भन्ने चिन्ता न्यौपानेले व्यक्त गरे । यस्ता उत्पादनमा बिल दिने कुरा व्यवहारिकरुपम संभव नभएको कुराले अहिलेसम्म भने कर प्रशासनले केही भनेको छ्रैन् । उनी भन्छन्, ‘हामीले किसानसँग समान खरिद गर्दा बिल पाउँदैनौं, त्यसले चाहीं पछि चिन्ता पार्छ कि ? भन्ने डर पनि छ ।

गाउँ गाउँमा उत्साहित किसान
न्यौपानेले यतिबेला गाउँ गाउँमा किसानहरुमा आफूहरुले उत्साह देखेको बताउँछन् । उनी भन्छन्, ‘हिजो धेरै फलेका उत्पादन फ्याक्नुपर्ने बाध्यता थियो, आज पैँचोले किनिदिन्छ । बाँझो छोडिएका जमिनहरुमा केही न केही लगाउन थालिएको छ । किनकी उत्पादन भएपछि पैँचोले खरिद गरिदिन्छ ।’

नयाँ प्रडक्ट
हाल पैँचोले विभिन्न २७ वटा खाद्य पदार्थका ४९ वटा ब्राण्ड बजारमा लगिरहेको छ । टोम्याटो केचप, सोया सससहित १० प्रकारका अचार छन् । त्यसबाहेक लोकल चामल, स्वीट कर्न पनि तयार पारेको छ । नेपालमै पहिलो पटक आफूहरुले स्वीट पपकर्न तयार पारेको दावी न्यौपानेको छ । नाक खुम्च्याउने चाइनिजकै कारण यो उत्पादन आफूहरुले गरेको उनी बताउँछन् । जंगली मह र चुक अमिलोको छुट्टै ब्राण्ड बनाउनेको सोँच पनि पैंचो पसलले बनाएको छ ।         

Advertisement

Advertisement

Advertisement