परम्परागत ढर्राको कुटनीतिलाई फेर्दै परराष्ट्र, आर्थिक हितलाई जोड दिइने

Advertisement

काठमाडौँ । नेपालको आर्थिक कूटनीतिले समृद्धिका लागि बलियो आधार खडा गरेको छ । परम्परागत ढर्रामा अगाडि बढिरहेको नेपालको कूटनीतिक क्षेत्रले आर्थिक कूटनीति क्षेत्रमा अब भने देशको राष्ट्रिय योजनासँग साझेदारी गर्ने अवस्थामा पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयस्थित नीति, योजना, विकास कूटनीति तथा विदेशमा रहेका नेपालसम्बन्धी महाशाखाका प्रमुख कुमारराज खरेलले भने, “आर्थिक कूटनीतिको देशगत रणनीतिसँगै देशको समृद्धिमा बृहत् योगदान गर्ने तयारीमा छौँ, अब राजनीतिक सन्तुलनका लागि मात्र हैन, पर्याप्त लगानी र आर्थिक अभिवृद्धिको सहायक बन्नेछौँ ।”

महाशाखाले देशगत रणनीति निर्माणमा संयोजनकारी भूमिका निर्वाह गरेको उनको भनाइ छ । महाशाखा प्रमुख खरेलका अनुसार परम्परागत रूपमा सबैथरि काम सबै देशसँग हुने गरेको थियो । अब योजनाबद्ध ढङ्गले आर्थिक कूटनीतिलाई सक्रिय बनाउने अभियानमा मन्त्रालय लागेको छ ।

“अबको हरेक कूटनीतिक भेटघाट, वार्ता र छलफलमा राष्ट्रिय आर्थिक हितलाई जोड दिइने योजना छ, जसका लागि मिसन र देशगत रणनीतिअन्तर्गत कार्यक्रम र बजेट विनियोजनसमेत भएको छ,” खरेलले थपे । रणनीतिकै आधारमा वार्षिक कार्ययोजनासमेत सञ्चालन हुने तयारी रहेको उनले बताए ।

लगानीकर्तासँग सीधै बार्गेनिङ गर्न कूटनीतिक व्यक्तित्वहरू सामेल हुने छैनन् । देशको मिसन र विभिन्न मन्त्रालयको योजनासँग जोडेर लगानी र अवसर भित्रायाउन कूटनीतिज्ञले सक्रिय प्रवद्र्धन गर्ने योजना छ । मन्त्रालयअन्तर्गत गठन भएको देशगत रणनीति तर्जुमा कार्यदलले आर्थिक कूटनीतिको देशगत रणनीति तयार पारेको हो ।

रणनीतिको अन्तिम काटछाँट चलिरहेको छ । यसअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संयोजक रहेको आर्थिक कूटनीति अनुगमन तथा सञ्चालन समितिमा अन्तिम छलफल भएको छ । अन्तिम रूप दिन बनेको अर्को समितिले अब छिट्टै सो रणनीति प्रकाशनमा ल्याउने तयारी गरिरहेको मन्त्रालयले जनाएको छ ।

गोरखापत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement