एक मन्त्रीको दावी– आर्थिक विकासमा हामीले चमत्कार गरिसक्यौं, १७० देश पछि परिसके

Advertisement

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपालको बारेमा अहिले विश्वभरि प्रशंसा भइरहेको दावी गरेका । उनले अहिले आर्थिक वृद्धिको दरले र विकास निर्माणको दृष्टिकोणले वर्तमान सरकार विकाशील देशहरुमध्ये डेढ सय देशहरुलाई पछाडि पार्दै अगाडि बढेको दाबी गरे ।

सोमबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘आर्थिक समृद्धिमा हामी विश्वका १७० देशलाई पछि पार्दै टप पोजिशनमा आएका छौैं । आज हामी अन्तर्राष्ट्रिय पत्रपत्रिका हेरौं, विकाशील देशहरुले यो डेढ वर्षभित्रमा जति राम्रो गरिरहेका छन्, त्यसको टप स्थानमा आज नेपाल पुगेको छ । हामी आएको डेढ वर्ष भएको छ, यो अवधिमा यति राम्रो ईम्प्रुभ गर्नु राम्रो कुरा हो । तर, हामीले धेरै गरिसक्यौं भन्ने पनि होइन, भर्खर भर्खर पाइला टेक्दै गरेको अवस्थामा हिजोको भन्दा धेरै राम्रो काम गरेका छौं ।’

महासेठले वर्तमान सरकारले विकास र समृद्धिको मामिलामा फड्को मारेको दाबी गरे । उनले भने, ‘यो सरकारले विकास र आर्थिक वृद्धिमा ठूलो फड्को मारेको छ । हामी समृद्ध नेपाल, सुखी नेपालीको नाराअनुसार नै अघि बढिरहेका छौं ।’ सरकारले आगामी साँढे तीन वर्षभित्र नेपालले दोहोर अंकको आर्थिक वृद्धि हाँसिल गर्ने महासेठको दाबी छ ।

उनले भौतिक पूर्वाधारलगायतका विकास निर्माणका काम पनि रेकर्ड नै ब्रेक गर्नेगरि भएको सुनाए । उनले भने, ‘प्रधानमन्त्री केपी ओलीको निर्देशनअनुसार नै मैले काम गरिरहेको छु । हामी १० वर्षभित्र १५ हजार किलोमिटर नयाँ सडक बनाउँछौं । त्यस्तै २८ सय किलोमिटरको रेलमार्गले जोड्छौं ।’

महासेठले विद्युतीय रेलमार्ग निर्माणको कामपनि धमाधम भइरहेको बताए । उनले भने, ‘पूर्व–पश्चिम विद्युतीय रेलमार्गको काम हामी तीन वर्षभित्र सम्पन्न गरिसक्छौं । अहिले डीपीआर त सम्पन्न नै भैसकेको छ । हामीले रेलमार्गको निर्माणमा पनि फड्को मारेका छौं ।’ उनले सडकको अवस्थामा पनि धेरै राम्रो काम भइरहेको सुनाए ।

मन्त्री महासेठले भने, ‘असार २४ गतेसम्मको डेटाको कुरा गर्नुहुन्छ भने हामीले ९१५ किलोमिटर बराबरको ६, ४ र २ लेनका नयाँ पिच सडकहरु बनाएका छौं । जबकी यो सरकारभन्दा अघिका सरकारको पालामा एक वर्षमा १२५ किलोमिटर मात्रै हुन्थे । एक सयभन्दा बढि पुल निर्माण हुँदैन थिए, तर हामीले यो एक वर्षमा २४३ पुल बनाईसकेका छौं ।’

उनकाअनुसार अहिले ११ सय किलोमिटरको ग्राभेल सडक र ३१० किलोमिटरका माटे सडक पनि निर्माण भइसकेका छन् ।
महासेठले काठमाडौंको बाटो, घाटो, धुलोलगायतका अवस्थामा पनि पहिलेभन्दा अहिले सुधार आएको दाबी गरे । यद्यपी केही सडकहरुले भने आफूहरुलाई अहिले पनि आलोचनाको पात्र बनाएको उनको स्पष्टोक्ति थियो । महासेठले थपे, ‘कलंकी–नागढुंगा सडक, चावहिल–साँखु सडकका कारण हामी आलोचनाको शिकार भयौं । तर, अब हामी द्रुत गतिमा काम गरिरहेका छौं । खानेपानीको कारण सडक बनाउन अप्ठ्यारो भएको थियो । तर, हामीले अहिले खानेपानीको कामपनि आफैं गर्नेगरि बोलपत्र आह्वान गर्न लागेका छौं । यो आर्थिक मसान्तभित्रै सबै काम सम्पन्न गरिसक्छौं ।’

उनले काठमाडौंलाई सुन्दर सहर बनाउनेगरि आफूहरुले काम गरिरहेको पनि दावी गरे । कोटेश्वर, गौशला, थापाथली लगायतमा ‘ओभरहेड ब्रिज’ बनाउन लागिएको पनि उनले सुनाए । त्यस्तै, महासेठले काठमाडौंमा स्मार्ट ट्राफिक लाईटहरु राख्ने पनि जनाए । यो वर्ष सरकारको पहिलो आधार वर्ष भएकोले जनताको अपेक्षाअनुसार काम गर्न नसकिएको उनले स्विकारे । तर, विकास निर्माणलगायत पूर्वाधार विकासमा सरकारले रेकर्ड नै कायम गरेको महासेठको दाबी छ ।

उनले यो आर्थिक वर्षको अन्तिमतिर अर्थात ११ महिनापछि काठमाडौंवासीले सुन्दर काठमाडौं उपहार पाउने बताए । काठमाडौंमा भएका पुलहरुलाई व्युटिफिकेशन गर्ने, सिग्नेचर ब्रिजहरु बनाउनेलगायतका काम हुने उनले जनाएका हुन् । त्यस्तै, रिङ–रोड विस्तारको कामपनि यही वर्षभित्र हुने महासेठको भनाई छ । देश समृद्ध रातारात नहुने बताउँदै सिंगापुर, चीनलगायतका देशलाई पनि अहिलेको अवस्थामा आईपुग्न दशकौं समय लागेको उनले स्मरण गराए ।

मन्त्री महासेठले वर्तमान सरकार पाँच वर्षसम्मको लागि भएकोले यो अवधिभित्र देशलाई समृद्ध बनाउनेगरि काम गर्ने स्पष्ट पारे । विकास निर्माण र पूर्वाधार विकासमा विशेष योजनाका साथ काम इैरहेको उनको भनाई छ । त्यस्तै, उनले आगामी दुई वर्षभित्र आफ्नै झण्डा र लोगो भएको पानीजहाजपनि सञ्चालनमा ल्याईने दाबी गरे । क्रस–बोर्डर रेलहरुपनि छिट्टै सञ्चालनमा ल्याईने उनले बताए ।

मन्त्री महासेठले यही वर्षको फागुनबाट विराटनगरबाट क्रसबोर्डर रेल सञ्चालनमा आउने जनाए । जयनगर–जनकपुर–बर्दिवासको ५२ किलोमिटर रेलपनि छिट्टै सञ्चालनमा आउने उनको विश्वास छ । उनले भने, ‘भारत सरकारसँग भएको सम्झौतअनुसार ६० दिनभित्रै दुई वटा रेल (डेमो) रेल प्राप्त गर्छौं ।’ यो बीचमा सडक सुरक्षा, यातायात प्राधिकरणलगायतका ऐनहरु संसदमा पेश गरिएको पनि उनले सुनाए ।

Advertisement

Advertisement

Advertisement