एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउन अफगानी टोली नेपाल आइपुग्यो

Advertisement

काठमाडौं । काठमाडौंमा आयोजना हुने एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउन अफगानिस्तानको राष्ट्रिय भलिबल टोली आज नेपाल आइपुगेको छ । आगामी भदौ २ देखि ८ गतेसम्म हुने खेलमा सहभागिता जनाउन अफगानिस्तानको राष्ट्रिय भलिबल टोली नेपाल आइपुगेको हो ।

नेपाल भलिबल सङ्घका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अफगानिस्तान टोलीलाई स्वागत गरे । नेपालले अफगानिस्तानसँग यही साउन २९ र ३० गते दुई मैत्रीपूर्ण खेल खेल्दैछ । उक्त खेल लगनखेलस्थित आर्मीको कभर्डहलमा हुनेछ । एभिसी सेन्ट्रल जोनमा आयोजक नेपालसँगै साविक विजेता तुर्कमेनिस्तान, उज्बेकिस्तान, अफगानिस्तान, माल्दिभ्स, किर्गिस्तान र बङ्गलादेश गरी सात राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

यही च्याम्पियनसिपमा नेपालले तीन वर्षअघि माल्दिभ्समा भएको खेलमा कास्य पदक जितेको थियो । नेपालले हालसम्म अन्तर्राष्ट्रिय भलिबलमा प्राप्त गरेको एकमात्र पदक यसै प्रतियोगितामा हो । एभिसी सेन्ट्रल जोन खेल्ने नेपाली भलिबल टोलीको कप्तानीको भूमिका इमबहादुर रानाले निभाउनेछन् । त्यस्तै टोलीको अन्य सदस्य खेलाडीमा हरिहजुर थापा, नरेन्द्र गिरी, विशाल विक, राजकुमार निरौला, हरि अधिकारी, दुर्गा खड्का, दीपकराज जोशी, धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, कुलबहादुर थापा, टेकराज अवस्थी, विनोदबहादुर चन्द र ईश्वर थापा मगर छन् ।

Advertisement

Advertisement

Advertisement