अमेरिकी दूतावासले फेरि बोलाएर सन्दीप लामिछानेलाई भिसा दियो

Advertisement

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा अस्वीकृत गरेको तीन घन्टापछि बोलाएर फेरि भिसा दिएको छ।

भिसा पाएपछि सन्दीपले अमेरिकी दूतावास र आफ्ना शुभेच्छुकहरुलाई धन्यवाद दिएका छन् । सीपीएल खेल्न जानका लागि सन्दीपले मंगलबार बिहान अमेरीकी दूतावासमा अन्तवार्ता दिएका थिए । तर उनलाई कुनै कारणबिना नै भिसाका लागि अस्वीकृत गरेको थियो । त्यसपछि उनले आफ्नो असन्तुष्टि ट्वीटमार्फत पोखेका थिए ।

सन्दीपले प्रधानमन्त्री केपी शर्मा वली र अमेरिकी दूतावासलाई मेन्सन गर्दै अमेरिकाले भिसा नदिएको उल्लेख गरेका थिए । आफूले सन २०१६ देखि विश्वका विभिन्न लिगमा नेपालको प्रतिनिधित्व गरिरहेको र एउटा राष्ट्रिय खेलाडीलाई अमेरिकाले भिसा नदिएकोमा अचम्म लागेको उल्लेख गरेका थिए ।

भर्खरै क्यानडामा ग्लोबल टी-२० लिग खेलेर फर्किएका सन्दीप अर्को वैदेशिक लिग खेल्न जान लागेका हुन् ।

सुरुमा अमेरिकी दूतावासले भिसा नदिए पनि पछि रिभ्यूका लागि भन्दै बोलाएर सन्दपीलाई भिसा दिएको हो । केही असमझदारीका कारण उनलाई पहिलो पटक रिजेक्ट गरेको स्रोतले बताए।

उनले आफूलाई भिसा नदिएको कुरा ट्विटरमा राखेपछि दूतावासको तीव्र आलोचना भएको थियो । सीपीएलका लागि सन्दीप सेप्टेम्बरको पहिलो साता वेष्ट इन्डिज जाने तयारीमा रहेका छन् ।

नेपालबाट सीधै वेष्ट इन्डिज जान सम्भव नभएकाले सन्दीपले अमेरिकाको भिसाका लागि आवेदन दिएका थिए । वेष्ट इन्डिज जान बेलायत र अमेरिका हुँदै जानु पर्ने हुन्छ । वेष्ट इन्डिजका पनि विभिन्न टापुहरुमा खेल हुने भएकाले कतिपय अवस्थामा अमेरिकाको बाटो प्रयोग गर्नु पर्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रबन्धक रमन शिवाकोटीले जानकारी दिए ।

सन्दीपको टोली बार्बाडोस ट्राइडन्ट्स सन् २०१४ को क्यारेबियन लिगको विजेता टोली हो । सन्दीपको टोलीका कप्तान जेसन होल्डर हुन् ।

Advertisement

Advertisement

Advertisement