प्रभु हेलिकोप्टरविरुद्ध उजुरी, बिरामी बोक्न पनि अस्वाभाविक रकम मागेको पीडितको गुनासो

Advertisement

काठमाडौं । बिरामी बोक्नलाई चर्को चार्टर शुल्क मागेको भन्दै पीडितले प्रभु हेलिकप्टरका सञ्चालकविरुद्ध उजुरी दिएका छन् । खोटाङको खोटेहाङ– ३, सावाकटहरेका प्रेम सुवेदीलाई उपचारका लागि काठमाडौं लैजान हेलिकोप्टर चार्टर गर्न खोज्दा चर्को रकम मागेपछि उक्त हेलिकोप्टरका सञ्चालकलाई कारवाहीको मागसहित पीडित पक्षले उजुरी दिएको हो ।

उक्त हेलिकप्टरले पहिला तीन लाख १५ हजार मागेको र ‘बार्गेनिङ’ गर्दा पनि दुई लाख ८५ हजार चाहिने बताएपछि पीडित पक्षले उजुरी दिएको हो । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उक्त उजुरीसहित घटनाको अध्ययन गर्न र दोषी पाइए कारवाही गर्न पत्र पठाएको छ ।

प्रभु समूहले सञ्चालन गरेको उक्त हेलिकप्टरले आफूले मागे जति रकम नदिए बिरामी भए पनि बोक्न नजाने अडान लिएपछि खोटाङ सेवा समाजका सचिव बाजिन्द्र विष्टले करिव दुई साताअघि उजुरी दिएका थिए । उनले बिरामीको उपचारको संवेदनशीलतालाई समेत बेवास्ता गर्दै हेलिकोप्टरले चर्को रकम माग्ने काम गरेकोले यसका सञ्चालकहरुलाई हदैसम्मको कारवाही गर्न माग गरेका छन् ।

उजुरीकर्ताको उजुरीका आधारमा हेलिकोप्टरबाट कमजोरी भए नभएको सत्य तथ्य हेर्न र उक्त विवरण आफूलाई समेत पठाउन पनि प्राधिकरणलाई आग्रह गरेको छ । सरकारले दुगर्म क्षेत्रका लागि हेलिकोप्टरको चार्टर दर प्रतिघण्टा एक हजार अमेरिकी डलर मात्रै निर्धारण गरेको छ । प्रभु हेलिकप्टरले बार्गेनिङ गरेको रकम त्योभन्दा झण्डै दोब्बर हुन आउँछ । खोटाङबाट काठमाडौं आइपुग्न करिव एक घण्टाको समय मात्रै लाग्ने पीडित पक्षको भनाई छ ।

उजुरीकर्ता विष्टका अनुसार प्रभु हेलिकप्टरले चर्को रकम मागेपछि अर्को हेलिकप्टर बोलाएर बिरामीलाई काठमाडौं ल्याइएको थियो ।

Advertisement

Advertisement

Advertisement