औद्योगिक करिडोरमा दिनमा १५ पटकसम्म लोडसेडिङ

विराटनगर । बिराटनगरमा भैरहेको औद्योगिक लोडसेडिङ तथा ट्रिपिङले उद्योगी व्यवसायी समस्यामा परेका छन्। बिद्युत अवरोधका कारण उत्पादनमा ह्रास आई कच्चा पदार्थ खेर जाने तथा उद्योगका मेशिनरी बिग्रने चिन्ता ब्यवसायीहरुको छ।

बिराटनगरमा आयोजित छलफलमा उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले औद्योगिक लोडसेडिङले समस्या तत्काल समाधान गर्न माग राखे। लोडसेडिङ अन्त्य नभए उद्योगीहरुले तालाचाबी प्राधिकरणलाई बुझाउने अवस्था आउने उनको भनाई छ।

सङ्गठनका उपाध्यक्ष राजकुमार गोल्छाले देशका अन्य औद्योगिककरिडोरमा सुनसरी मोरङ करिडोरको जस्तो विद्युतमा समस्या नभएको उल्लेख गरे। उनले दैनिक दश देखि पन्ध्र पटक सम्म विद्युत् कटौतीको समस्या यस क्षेत्रका उद्योगले भोगिरहँदा उत्पादनमा ठूलो क्षति पुगेको जानकारी दिए ।

सङ्गठनका अर्का उपाध्यक्षप्रदीप मुरारकाले कटहरी क्षेत्रका उद्योगीको अवस्था अत्यन्त दयनीय हुँदै गएको तथा विद्युतको कमभोल्टेजका कारण उद्योगका पार्टपुर्जा जल्ने र बिग्रने गरेकाले समस्या समाधानकालागि तत्काल काम प्रारम्भ गर्न आग्रह गरे ।

सङ्गठनका कार्यकारी सदस्य विपीन काबराले प्राधिकरणले जनशक्तिको विकास र परिचालनमा समेत ध्यान पुर्याउनुपर्ने सुझाव दिँदै विद्युत् कटौतीको पूर्व सूचना दिनुपर्ने र पुराना संरचनालाई परिवर्तन गर्नेतर्फ ध्यानदिनुपर्ने कुरामा जोड दिए ।

प्राधिकरणको विराटनगर शाखा कार्यालयका प्रमुख राजीव सिंहले भारत र नेपालको विद्युत् चेन्जओभर गर्नु पर्ने भएकाले पटक पटक–विद्युत् अवरूद्ध हुने गरेको जानकारी दिए ।

शाखाप्रमुखसिंहले केही दिनअघि आएको बाढीका कारण प्राधिकरणलाई ठूलो क्षति हुनुका साथै ठाउँठाउँमा विद्युतका पोलका साथै रुखहरू विद्युत् लाइनमा ढल्नाले वितरण प्रणलीमा समस्या आएको बताए ।

प्राधिकरणको दुहबी ग्रिड प्रमुख रेवतकुमार चौधरीले रङ्गेली र कटहरीका उद्योगहरू लामो दूरीमा स्थापना भएकाले दुहबी ग्रिडबाट त्यस क्षेत्रका उद्योगमा सप्लाई गरिएको विद्युतमा भोल्टेज ड्रप हुने समस्या समाधानकालागि प्राधिकरणले कार्य थालिसकेको जानकारी दिए।

प्रमुख चौधरीले कतिपय समस्याको समाधान केन्द्रबाट मात्र हुने भएकाले केन्द्रमा समेत पहल गर्न उद्योग सङ्गठनलाई अनुरोध गरेका छन् ।