नेपाल भारतबीच थाती रहेका सम्झौता खारेज गर्नुपर्छ: मन्त्री ज्ञवाली

Advertisement

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र भारतबीच थाती रहेका सम्झौता खारेज गरी नयाँ शिराबाट बढ्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको नेपाल–भारत सम्बन्धको भविष्य र सम्भावना’ विषयक अन्र्तक्रियामा बोल्दै मन्त्री ज्ञवालीले सम्झौता भएको दशकौं सम्म कार्यान्वयनमा जान नसकेका सम्झौता खारेज गर्नुमा दुवै देशको हित रहेको बताएका हुन् ।

दशकौं हुँदा पनि केही सम्झौताहरु कार्यान्वयनमा जानुको साटो उल्टो तनावको विषय बन्न गइरहेका छन्, परराष्ट्रमन्त्री ज्ञवालीले भने,‘अब त्यस्ता सम्झौतालाई कि कार्यान्वयन गरौं कि पन्छाऔं । पञ्चेश्वर परियोजना कर्णाली जलविद्युत आयोजनालगायतका सम्झौतातर्फ संकेत गर्दै उनले कार्यान्वयन या खारेजीको विकल्प रोजेर बढ्नुमा दुवै देशको हित हुने बताए ।

कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले भारतले नेपालका लागि उदारभाव देखाउनुपर्ने बताए । नेपाल विश्व महाशक्ति या क्षेत्रीय शक्ति पनि नभएको र बन्ने महत्वाकांक्षा पनि नराखेको बताउँदै भने हामी समृद्धिको उद्देश्य बोकेर अगाडि बढ्न चाहन्छौं, त्यसका लागि भारतले उदारताका साथ साथ देओस् । भारतबाट लगानीको अपेक्षा गरिएको र त्यसले भारतको पनि हित गर्ने बताए । नेपाल र भारतबीच व्यापार घाटा बढिरहँदा नेपाललाई ठूलो नोक्शानी परिरहँदा भारतबाट नेपालमा उद्दोग संचालनमा लगानी हुन सके घाटाको समस्या समाधान हुने बताए । उनले भने,‘दुवै देशलाई लाभ हुनेगरी विन विनको अवस्थामा जानुपर्छ ।

नेपाल भारतबीच संस्कृति जनताले जर्गेना गर्दै आएको उल्लेख गर्दै अबका दिनमा आर्थिक सम्बन्ध मजबुत र साझेदारसहितको हुनुपर्नेमा जोड दिए । नेपालमात्र भारतसँग निर्भर नभएर भारत पनि नेपालसँग निर्भर रहेको व्याख्या गर्दै एक अर्काबीचको निर्भरतालाई मनन गरेर आपसी हितमा बढ्नुपर्ने बताए । त्यसका लागि आवश्यक परे विगतका सन्धी सम्झौता परिवर्तन या परिमार्जनको विकल्पमा जोड दिए । दुई देशबीच आर्थिक सम्बन्धलाई प्रगाढ बनाउने गरी पूर्वाधार निर्माणले गति लिएको बताए ।

मोतिहारी अमलेखगञ्ज पाइपलाइन उद्घाटन हुनगइरहेको  हुलाकी राजमार्गको दुईवटा खण्ड उद्घाटन हुनलागेको र वीराटनगर जोगवनी चेकप्वाइन्ट शुरु हुन गइरहेको, आन्तरिक जलमार्ग सुचारु गर्ने तयारी भइरहेको भन्दै आर्थिक सम्बन्ध मजबुत बनाउने दिशातर्फ द्विपक्षीय सम्बन्ध बढेको बताए ।

मन्त्री ज्ञवालीले भारतको ७३ औं स्वतन्त्रता दिवसको बधाई दिदै भारत लोकतन्त्रमा पनि सुदृढ र सबल सरकार निर्माण हुन्छ र विकासले गति लिनसक्छ भन्ने उदाहरण भएको बताए । भारतबाट विश्वले सिक्ने विषय रहेको भन्दै उसको आर्थिक वृद्धि र सबल लोकतन्त्रबाट नेपालले पनि सिकिरहेको बताए । भारतको प्रगतिबाट नेपाल खुशी हुने भन्दै भारत पनि नेपालको प्रगतिबाट खुशी भएकोमा धन्यवाद व्यक्त गरे ।

Advertisement

Advertisement

Advertisement