पार्टी एकता नगरेको भए विकल्पहरु धेरै हुन्थ्योः प्रचण्ड

Advertisement

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग पार्टी एकता गरेर गल्ती भएको दुखेसो पोखेका छन् । अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टीका विभागहरु गठन गरेको भोलिपल्ट प्रचण्डले पार्टी एकता गरेर गल्ती भएको बताएका हुन् ।

पार्टी एकताको पछिल्लो अवस्थाप्रति निराशा व्यक्त गर्दै शनिबार राष्ट्रिय चिकित्सक संघको कार्यक्रममा प्रचण्डले कतिपय अवस्थामा आफूलाई पार्टी एकता नगरेको भए ठीक हुने थियो कि ? भन्ने अनुभूति हुन थालेको बताए ।

पार्टीभित्र कतिपय कुरा चित्त नबुझ्दा पनि पार्टी एकतालाई बलियो बनाउनका लागि निर्णय गर्नुपरेको प्रचण्डले बताए । पार्टीभित्र आफ्नो पक्षधरका नेता कार्यकर्ताको असन्तुष्टि साम्य पार्न उनले उक्त अभिव्यक्ति दिएको देखिन्छ । शुक्रबारको विभाग गठनमा पूर्वमाओवादी केन्द्र पक्षधरहरु सन्तुष्टि छैनन् ।

प्रचण्डले लामो छलफलपछि नेकपाको सचिवालय बैंठकले शुक्रबार महत्वपूर्ण कुरामा निर्णय लिएको बताउँदै यसले पार्टी एकतालाई बलियो बनाएको बताए । उनले वर्तमान नेपाल निकै ठूलो अवसर र चुनौतीको दोसाँधमा रहेको बताउँदै चुनावका बेला गरिएका प्रतिवद्धता, घोषणा र सरकारको तर्फबाट गरिएको सुखी नेपाली समृद्ध नेपालको आकांक्षा पुरा गर्ने पनि चुनौती रहेको बताए ।

प्रचण्डले भने, ‘जनतामा हामीले निकै ठूलो अपेक्षा त जगाई दियौं, जनताले हामीलाई भरोसा र विश्वास पनि गर्यो र राज्य सञ्चालनको जिम्मेवारीमा राखेको छ ।’ प्रचण्डले नेकपाको एकतामा अझै चुनौती रहेको पनि बताए ।

उनले भने, ‘कहिलेकाहीँ हामीलाई लाग्छ, पार्टी एकता नगरेको भए बरु विकल्पहरु रहिराख्थे कि, झन् सबै विकल्प सकेर हामीले सफलता प्राप्त गर्न सकेनौं ।’

कम्युनिस्ट आन्दोलन र राष्ट्रकै भविष्य पनि बर्बाद हुने हो ? कि भन्ने शंका पनि आफूलाई लाग्ने गरेको बताउँदै प्रचण्डले यही चिन्ताका कारणले पनि अप्ठ्यारा समस्याहरु हल गर्न पहल गरिएको बताए ।

Advertisement

Advertisement

Advertisement