राणा शासन र पञ्चायत जति पनि किन टिकेन बहुदलिय प्रजातन्त्र ? गणतन्त्रको यात्रा कता ?

Advertisement

काठमाडौं । कुनै राजनीतिक व्यवस्था आफैमा नराम्रो भएर हैन, बिभिन्न दृष्टिले राज्यले त्यो व्यवस्थालाई थेग्न नसकेर नै पल्टिन्छ । राणा, बहुदलीय प्रजातन्त्र, पंचायत, बहुदलीय संवैधानिक प्रजातन्त्र, राजतन्त्र पल्टनुका कारण तिनलाई मुलुकले थेग्न नसकेरै हो । अहिले पनि संघीय लोकतान्त्रिक राजनीतिक व्यवस्था पनि झन् अराजकता एवं आर्थिक दृष्टिले नै थेगिएला जस्तो लक्षण देखिदैन ।

कानुन लेख्न कुनै कठिनाई हुदैन, एउटा वकिलले सजिलै धस्काईदिन सक्छ । मुल कुरा, देश-काल-संस्कृति-संस्कार-सामाजिक मूल्य-मान्यता, आध्यात्मिक/धार्मिक आस्था, विद्यमान समाज व्यवस्था, समाजको भिजन, सामाजिक एवं पारिवारिक सुख, शान्ति, अमनचयन-मैत्री कानुन बन्नु हो । बनेको कानुन प्रभावकारी लागू गर्न पर्याप्त लगानी, सक्षम संस्थागत व्यवस्था, योग्य न्यायप्रेमी अधिकारी, ईमानदार सुसंस्कारयुक्त पदाधिकारी, शिक्षित धरातलीय संस्कारयुक्त राजनीतिक नेतृत्व, पेशागत एवं प्राविधिक क्षमतायुक्त भुईस्तरका विज्ञ, छरितो चुस्त न्याय एवं प्रशासन प्रणाली अपरिहार्य, पूर्वशर्त र पूर्वाधार हुन् ।

यी पूर्वाधारका एवं सक्षमताको नितान्त कमी र भताभुंग भएको मुलुकमा हाल धमाधम बेढेगे कानुनका ढड्डाहरू मात्र निर्माणको गति र मति हेर्दा यो मुलुक अपराधीको बसोबास गर्ने हो र देशै जेल बनाउनुपर्छ भन्ने अवस्था भयावह देखिदैछ। ऐले बनेका मुलुकी कानुनहरूको मर्म केलाउदा, यो मुलुकमा बस्ने जति सबै अपराधी नै अपराधी हुन् भन्ने पूर्वमान्यतामा आधारित मगज कुठॉउमा भएकाहरूको ताण्डव नाचको महसुस गर्न पुगेको देखिन्छ। यति निम्न कोटीको धरातलीय यथार्थबिमूख कानुनहरू बनेको यो मुलुक सायद विश्वमा न भूतो न भविष्यति होला । मुलुकबासी एकएक सबै कुनै दिन अपराधीको ट्याग लाग्ने दिन अब धेरै समय नपर्खे हुने भयो । नेपाली अहिले नर्कको यात्रामा कानुनको डुंगामा चढ्न सुरू गरिसकेको भान हुन्छ।

नेपालमा अहिले जुन शैली र आईभोरी टावरमा बसेर आलाकॉचा, ईतिहास, संस्कार, समाज नबुझेकाहरूको लहडमा कानुन बन्दैछ, यसले ३ करोड नेपाली सबै कुनै न कुनै रूपमा अपराधी वा आरोपित हुने संभावना बढ्दैछ । कति जानेर, कति अंजानमा, कति दलालको फन्दामा परेर, कति बाध्यताले, कति अव्यावहारिक कानुनले, कति घुस्याहा प्रशासक, पुलिस वा न्यायकर्मीबाट फसाईएर, कति दुःख दिने गाँउसहरीया फटाहाहरूको सक्रियता बढ्नाले ।

नेपाली समाज निरन्तर घोर कानुनची बन्दै जानु अशान्त मुलुकतर्फ दगुरेको संकेत हो । यस्तो समाजमा अमनचयन हैन बैरभाव मात्र बढेर चॉडै नर्क बन्न पुग्छ । जहॉ जे कुरा पनि कानुनबाट समाधान गर्ने रोग लाग्छ, त्यहॉ न्याय छैन र अपराधिकरणको चरणबाट गुज्रेको छ भन्ने सूचक दिने गर्छ । गैरजिम्मेवार सरकार तथा राज्ययन्त्र र अपराधी मानसिकताका जनता बिकसित हुदै जान्छ । जेलहरू नानाथरिका आरोपित वा अभियुक्तहरूले भरिन्छन्, कानुनचीहरूको स्वर्ग बन्छ, ब्ल्याकमेलिंग र दलालीतन्त्र बढ्छ र मुलुक पुनः दुसाध्य राजनीतिक उथलपुथलमा फस्न पुग्छ।

कानुनचीको कहिले फुस्कन नसक्ने पासोमा नेपालीहरू फँस्न लागिरहेका देखिन्छन्। कानुन न्यायका लागि हुनुपर्छ। तर अहिले झन झन् कानुनचीको कमाई खाने भॉडो बन्दैछ, त्यसलाई रोक्नुपर्छ । तर कसरी ?

Advertisement

Advertisement

Advertisement