मन्त्रीको सहकारी संस्थाहरुलाई सल्लाह– जो पायो त्यहीलाई ऋण नदिनुस्, खाएर भाग्लान

Advertisement

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले निजी स्वार्थ नभएर संस्थागत स्वार्थलाई सर्वोपरि ठान्ने व्यक्तिलाई सहयोग गर्न सहकारी संस्थाहरुलाई आग्रह गरेकी छन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको ३२औं स्थापना दिवसको कार्यक्रममा अर्यालले ऋण लिनको लागि मात्रै सदस्य बन्ने सदस्यले सहकारी संस्थाको हितमा काम नगर्ने बताइन् । उनले भनिन, ‘जब ऋण चाहियो तपाईंको सहकारी खोज्दै आउँछ । अन्य समयमा त्यो मान्छे सहकारीका बारेमा कहिले केही गर्न आउँदैन । त्यस्ता व्यक्तिलाई सहयोग नगर्नुस्ु ।’

मन्त्री अर्यालले सधैं सहकारीको हितमा काम गर्ने व्यक्तिलाई सहकारी संस्थाको लगानीको प्राथमिकता बनोस् भन्दै लगानीको प्राथमिकता सहकारी संस्थाको हित चाहनेलाई हुनुपर्ने बताइन् । सहकारी संस्थाहरु अब लगानीमा केन्द्रित हुनुपर्ने बताउँदै उनले उत्पादनमूलक क्षेत्रमा केन्द्रित हुन आग्रह गरिन् ।

अर्याल थपिन्, ‘अब लगानीका दिशामा अगाडि बढ्नुस । उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुस । विषयगत सहकारी संस्था जसले उत्पादनमा हात हालेका छन् । तर उनीहरूसँग पैसा छैन । ती संस्थालाई तपाईं पैसा भएका संस्थाहरूले सहयोग गर्नुस् ।’

सहकारी क्षेत्रबाट नियमावली नभएका कारण काम गर्न सकिएन भन्ने गुनासो आएपछि सरोकारवाला सबैसँग छलफल, समन्वय गरेर नियमावली ल्याएको भन्दै मन्त्री अर्यालले अब कार्यान्वयन गर्ने जिम्मेवारी सहकारी क्षेत्रकै भएको बताइन् ।

उनले मन्त्रालयले भर्खरै सन्दर्भ ब्याजदर निर्धारण गरेको भन्दै सबै सहकारी संस्थामा एकरुपता कायम गर्नेगरी सन्दर्भ ब्याजदर निर्धारण गरिएको बताइन् । कानुन मातहत रहेर एउटै ब्याजदर निर्माण गरिएको अर्यालको भनाई छ । तर यस विषयमा केही गुनासो आएकाले यसबारेमा छलफल गर्न तयार रहेको उनले बताइन् ।

मन्त्री अर्यालले मन्त्रालयले सहकारी संस्था मर्जरको अभियान थालेको भन्दै प्रक्रिया पुगेर मर्जरका निम्ति आएका संस्थाको काम एकदिन भन्दा बढी नरोकिने बताइन् । उनले भनिन, ‘हामीले एक दिनमा काम सक्नेगरी विभागलाई भनिसकेका छौ । सबै कागज पुर्याएर ल्याउने काम तपाईंहरुको हो ।’

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडाल, काँग्रेसका नेता बालकृष्ण खाँड, नेकपाका नेता पशुपति चौलागाईं, पूर्वमन्त्री सुरेन्द्र पाण्डे, सांसद घनश्याम खतिवडा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपिनाथ मैनाली, नेफ्सकुनका अध्यक्ष डिबी बस्नेतले पनि बोलेका थिए ।

Advertisement

Advertisement

Advertisement