नेपाल विद्युत् प्राधिकरणलाई एक नम्बरको अब्बल संस्था बनाईने छ: उर्जामन्त्री पुन

Advertisement

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणलाई एक नम्बर अब्बल संस्थाका रुपमा स्थापित गरेरै छाडिने दृढता व्यक्त गरेका छन्। प्राधिकरणको ३४औँ वाषिकोत्सवका अवसरमा  आयोजित पदक उपहार तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले सरकारी स्वामित्वका संस्थानमध्ये प्राधिकरणलाई एक नम्बरको संस्थाका रुपमा विकास गरिने बताएका हुन्।

पछिल्ला वर्षमा लगातार नाफामा गइरहेको संस्थालाई क्रमशः नाफा बढाउँदै लगिने र प्राधिकरणलाई थप व्यावसायिक संस्थाका रुपमा विकास गर्ने योजनाअनुसार नै काम भइरहको उनले बताए। प्राधिकरणमा चमत्कार नै भएको जस्तै भइरहेको उल्लेख गर्दै उनले राजनीतिक स्थायित्वसँगै संस्थाको व्यावसायिक कार्यशैलीगत र प्रशासनिक क्षमतामा समेत वृद्धि भएको उल्लेख गरे।

विगतमा भाषणमा मात्रै सुधारका कुरा हुने गरेको भए पनि आज परिणाम नै देखिन थालेको स्पष्ट पार्दै उनले आगामी दिनमा थप सकारात्मक स्थितिमा संस्था पुग्ने मन्त्री पुनको विश्वास थियो । सबैको मेहनतले प्राधिरकण अब्बल संस्थाका रुपमा विकास हुँदै गएको भन्दै कार्यकारी निर्देशक कुलमान घिसिङ र अरु कर्मचारीले गरेको मेहनतको पनि उच्च प्रशंसा गरे। सामूहिक प्रयत्नबाट मात्रै सफलता हासिल हुन्छ। कार्यकारी निर्देशकले व्यावसायिकरुपमा सबैलाई म्यानेज गरे। यो नै सफलताको प्रमुख श्रेय हो। पुनले भने।

प्राधिकरणले करीब ९० प्रतिशत जनतामा विद्युत् पहुँच पुर्याआएको र बाँकी रहेको क्षेत्रमा समेत आगामी दुई वर्षभित्र विद्युत् पुर्याउने लक्ष्य राखेको उनले बताए । उच्च हिमाली, पहाडी तथा विद्युत् नपुगेका क्षेत्रमा विद्युत् पुर्याउने गरी काम गर्नुपर्ने दायित्व हामी सबैको काँधमा रहेको उनले बताए। आगामी वर्षामाल नै ठूलोमात्रामा विद्युत् जोडिने भएकाले त्यसलाई आन्तरिक खपत बढाउँदै क्षेत्रीय बजारमा पुर्याउने गरी कार्ययोजनासमेत बनाउनु जरुरी रहेको मन्त्री पुनको धारणा थियो।

सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको स्मरण गर्दै उनले स्वदेशी तथा वैदेशिक लगानी भित्र्याउन पनि पहल भइरहेको स्पष्ट पारे।मुलुकमा सङ्घीयतामा कार्यान्वयन गइसकेकाले पनि प्राधिकरणको संरचनालाई पनि सोहीअनुसार अगाडि बढाउनुपर्ने र उपभोक्तालाई थप सरल र सहजरुपमा सेवा दिनुपर्ने उनले बताए।

विद्युत चुहावट नियन्त्रणमा पनि सफल

चालू आर्थिक वर्षको सुरुवातमा त विगतमा रुग्ण भनिएका आयोजनासमेत धमाधम सकिएका छन् । माथिल्लो त्रिशूली थ्री ए निर्माण सम्पन्न भएको छ । सो आयोजनाबाट उत्पादन भएको ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिसकिएको छ ।

यस्तै विगत १० वर्षदेखि रुग्ण भएको काबेली करिडोर १३२ केभी क्षमताको प्रसारण लाइनसमेत निर्माण सम्पन्न भएको छ । कूल ३८ रुग्ण आयोजना आव २०७५/७६ मा सम्पन्न भएका छन् भने १३ वटाको ठेक्का सम्झौता रद्द गरी पुनः ठेक्का गरिएको छ ।

कुलेखानी तेस्रो निर्माण सम्पन्न भएपछि रुग्ण आयोजना पालेर बसेको छ प्राधिकरण भन्ने आलोचनाबाट समेत मुक्ति पाइने छ ।प्राधिकरणले आव २०७५/७६ मा सरकारको ढुकुटीमा १ अर्ब रुपियाँ विगतका वर्षको ब्याजसमेत १३ अर्ब १६ करोड रुपियाँ र रोयल्टीबापत १ अर्ब ४४ करोड रुपियाँगरी १५ अर्ब ५९ करोड रुपियाँ जम्मा गरेको छ ।

यस्तै चुहावट घटाउनेतर्फ पनि प्राधिकरणले उल्लेख्य सफलता हासिल गरेको छ ।

आर्थिक वर्ष २०७२/७३ मा कूल चुहावट २५.७८ प्रतिशत रहेकामा तीन वर्षभित्र १०।४६ प्रतिशतले घटाई १५.३२ प्रतिशतमा सीमित गर्न सफल भएको छ ।

प्राविधिक चुहावटलाई क्रमशः न्यून गर्दै अन्य चुहावटलाई शून्यमा झारेर थप सबल संस्थाका रुपमा अगाडि बढाउने सोचमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र प्राधिकरणसमेत लागेको छ ।

प्राधिकरणको सञ्चित घाटा भने अझै १५ अर्ब रुपियाँको हाराहारी रहेको छ । सरकारलाई उक्त घाटाको अपलेखन गरिदिन प्राधिकरणले आग्रह गर्दै आएको छ ।

तत्कालीन अर्थमन्त्रीको हैसियतले वर्तमान ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पुनले नै प्राधिकरणको घाटा अपलेखन गरेका थिए । हाल प्राधिकरण सञ्चालक समितिको अध्यक्षमा मन्त्री पुन नै छन् ।

Advertisement

Advertisement

Advertisement