गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

Advertisement

काठमाडौं । नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका विषयमा चर्चा गरेका थिए भने परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डेले तेस्रो पूर्वाधार सम्मेलनको तयारीका सन्दर्भमा जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्दै मन्त्री लम्सालले परिसंघले आयोजना गर्नलागेको तेश्रो पूर्वाधार सम्मेलन एक महत्वपूर्ण कार्यक्रम रहेको र यस्तो कार्यक्रममा प्रदेशलाई त्यहाँका परियोजनाहरु अन्तर्राष्ट्रिय जगतमा प्रदर्शन गर्ने व्यवस्था मिलाउनु अत्यन्त सकारात्मक रहेको बताएका थिए । गण्डकी प्रदेशले त्यहाँ रहेका सम्भावित परियोजनाहरुलाई सम्मेलनमा प्रस्तुत गर्ने प्रतिवद्धता समेत जनाएको छ ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष पौडेलले प्रदेशको प्रथम पञ्चवर्षिय योजनाको आधार पत्र तयार भई सकेको र पूर्वाधार सहित ७ वटा क्षेत्रलाई प्रदेशले मुख्य क्षेत्रको रुपमा पहिचान गरेको जानकारी प्रस्तुत गरेका थिए । यी ७ वटै क्षेत्रहरुको समग्र विकासका लागि योजनावद्ध रुपमा प्रदेश अगाडी बढ्दै छ, यस्तो समयमा परिसंघले गर्न लागेको पूर्वाधार सम्मेलन प्रदेशका लागि समेत अत्यन्त महत्वपूर्ण रहने उनको भनाई थियो । सोही कार्यक्रममा बोल्दै नेपाल युवा निर्माण व्यवसायी समुदायका अध्यक्ष आनन्द सुबेदीले देशको पूर्वाधारको विकास गर्ने जिम्मा युवाहरुमा आई परेकोले आफुहरु यसमा होमिएको बताए । सोही कार्यक्रममा सम्मेलनको आयोजनाका सहयोगी तथा नेपाल पूर्वाधार विकास बैंकका नायव महाप्रवन्धक सुर्यबाहादुर तामाङले पूर्वाधार निर्माणमा लगानीको महत्वका बारेमा चर्चा गरेका थिए ।

यस पटकको पूर्वाधार सम्मेलनमा परिसंघले नेपालका सातवटै प्रदेसमा पूर्व सम्मेलन छलफल तथा अन्तरक्रिया कार्यक्रम गरि त्यहाँको आवश्यकता पहिचान गर्ने कार्यक्रम गरिरहेको छ । त्यसरी गरिएको छलफल तथा अन्तरक्रियाबाट प्राप्त निचोडलाई पूर्वाधार सम्मेलनमा प्रस्तुत गर्ने गरी कार्यक्रम तय भएको छ । सो कार्यक्रममा प्रदेश सरकारका उच्च पदस्थ कर्मचारीहरु, परिसंघ गण्डकी प्रदेशका संयोजक विनोद न्यौपाने लगायत स्थानीय उद्योगी तथा व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

Advertisement

Advertisement

Advertisement