पुडासैनीकी पत्नीले काठमाडौं प्रहरी परिसरमा दिइन रविविरुद्ध किटानी जाहेरी

Advertisement

काठमाडौं । चितवनमा झुण्डिएको अवस्थामा भेटिएका पत्रकार शालिकराम पुडासैनीकी पत्नीले सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछानेसहित तीन जनाविरुद्ध काठमाडौंमा पनि किटानी जाहेरी दिएकी छन् ।

चितवन प्रहरीले लामिछानेसहित तीन जनालाई पक्राउ गरी छानविन अघि बढाइरहेको बेला पुडासैनीकी पत्नी सम्झनाले महानगरीय प्रहरी परिसर काठमाडौंमा आइतबार किटानी जाहेरी दर्ता गरेकी हुन् । उनले परिसरमा पुगेर रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीविरुद्ध किटानी जाहेरी दिएको काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।

उनका अनुसार सम्झनाले आत्महत्यामा दुरुत्साहन गर्ने रवि लामिछानेसहित तीनै जनाविरुद्ध हदैसम्मको कारबाही माग गरेकी छन् । काठमाडौंमा दर्ता गरिएको उक्त जाहेरी चितवन पठाउने तयारी भइरहेको जनाइएको छ ।

शुक्रबार चितवन जिल्ला अदालतले रविसहित तीनैजनालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न निर्देशन दिएको थियो । रवि र युवराजलाई प्रहरीले बिहीबार साँझ न्युज २४ टिभीको कार्यालय पानीपोखरीबाट पक्राउ गरेको थियो भने अस्मिता कार्कीलाई बिहीबार दिउँसो पक्राउ गरिएको थियो ।

पुडासैनीले आत्महत्याअघि रेकर्ड गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि रविसहित तीन जना पक्राउ परेका हुन् । भिडियोमा पुडासैनीले आफूलाई रविसहित अस्मिता भनिने रुकु कार्की र कँडेलले आफूलाई मर्न बाध्य पारेको बताएका छन् । उक्त भिडियो पुडासैनीको मोबाइलमा फेला परेपछि प्रहरीले फरेन्सिक जाँच गर्दा भिडियो आफैं खिचेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement