प्राधिकरणले ठेक्का तोडेपछि हेटौंडा–भरतपुर प्रसारण लाइनको काम ठप्प

Advertisement

हेटौंडा । भारतीय ठेकेदार कम्पनीले काममा ढिलाइ गरेको भन्दै विद्युत् प्राधिकरणले ठेक्का तोडेपछि हेटौँडा–भरतपुर–बर्दघाट २२० केभिए प्रसारण लाइनअन्तर्गत हेटौँडा भरतपुर खण्डको काम ठप्प भएको छ । तोकिएको समयभन्दा आठ वर्ष ढिला भइसक्दा पनि काम नसकेको भन्दै आइकन टेली लिमिटेड भारतसँग प्राधिकरणले गत वैशाखमा ठेक्का तोडेको हो ।

आइकन टेलीसँगको ठेक्का तोडे पनि प्राधिकरणले नयाँ ठेक्का भने आह्वान गरेको छैन । करीब चार महीनायता काम हुनसकेको छैन, अब नयाँ ठेक्काको प्रक्रिया भने शुरु भइसकेको जनाइएको छ । चाँडै नै प्रसारण लाइनको काम शुरु हुने आयोजना प्रमुख ईश्वरीप्रसाद जैसवाल बताए । विश्व बैंकको ऋणमा निर्माण भइरहेको प्रसारण लाइनको काममा भइरहेको ढिलासुस्तीप्रति बैंकले नै असन्तुष्टि जनाएपछि ठेक्का रद्द गरिएको जैसवालले जानकारी दिए ।

विश्व बैंकको स्वीकृति आउने बित्तिकै ठेक्का आह्वान हुने जैसवालको भनाइ छ । हेटौंडा–भरतपुर प्रसारण लाइनको काम ६४ प्रतिशत सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । सन् २००९ मार्च ९ मा दुई वर्षभित्र सम्पन्न गर्ने गरी आइकन टेली लिमिटेड भारतसँग सम्झौता गरिएको थियो । प्राधिकरणले उक्त कम्पनीलाई ११ पटकसम्म म्याद थप गर्दा पनि काम भने सम्पन्न हुनसकेन । एक अर्ब ६० करोडमा काम शुरु गरेको कम्पनीले लगानी जुटाउन नसकेपछि प्राधिकरणले ठेक्का सम्झौता तोडेको आयोजना प्रमुख जैसवालले जानकारी दिए ।

प्राधिकरणले कम्पनीको बैंक खाता नै रोक्का गरेको छ । हेटौँडा–भरतपुर प्रसारण लाइनमा २२६ वटा टावर निर्माण गर्नुपर्नेमा १६४ वटा टावर निर्माण सकिएको छ । एक वर्षभित्र सम्पन्न गर्ने गरी एक अर्ब ३९ करोड रुपैयाँ बराबरको ठेक्का निकाल्ने तयारी भएको आयोजनाले जनाएको छ ।

आयोजनाको भरतपुर–बर्दघाट क्षेत्रको काम भने तीव्र गतिमा अघि बढिरहेको आयोजनाले जनाएको छ । भरतपुर–बर्दघाट प्रसारण लाइनको काम ५० प्रतिशत सकिएको बताइएको छ । उक्त खण्डको ठेक्का चिनियाँ कम्पनी हेम्टन अप्टिकल इलेक्ट्रिक कम्पनी लिमिटेडले लिएको छ । ५५ लाख डलरमा सम्झौता भएको उक्त प्रसारण लाइनको काम चालू आर्थिक वर्षमा नै सकिने आयोजनाले जनाएको छ । कामको प्रगति निकै सन्तोषजनक रहेको बताउँदै जैसवालले काम थालेको एक वर्षमा नै ५० प्रतिशत काम सकिएको जानकारी दिए ।

भरतपुर–बर्दघाट खण्डको २४६ वटा टावरमध्ये ११९ वटा टावरको निर्माण सकिएको छ । १५२ वटाको फाउण्डेशन सकिएको र दशवटाको फाउण्डेशनको काम जारी रहेको आयोजनाले जनाएको छ । १८ महीनामा कामसक्ने गरी २०७५ साउनमा हेम्टन अप्टिकल इलेक्ट्रिक कम्पनीसँग प्राधिकरणले सम्झौता गरेको थियो । विसं २०७६ माघसम्म कम्पनीको समय बाँकी नै छ । अहिले निर्माणको क्षेत्रमा कुनै ठूलो समस्या नदेखिएको आयोजना प्रमुख जैसवालले जानकारी दिए ।

यसैगरी विश्व बैंकको सहयोगमा हेटौंडा–११ थानाभ¥याङमा प्रसारण लाइनका लागि सबस्टेशन निर्माणको काम पनि धमाधम भइरहेको छ । हेटौंडा–ढल्केवर–इनरुवा ४०० केभिएका लागि सबस्टेशन निर्माणको काम पनि भइरहेको छ ।

Advertisement

Advertisement

Advertisement