सरकारी कार्यदलले दुधको मूल्य ह्वातै बढाउन सिफारिस गर्यो

Advertisement

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गठन गरेको कार्यदलले प्रशोधित दुधको मूल्य बढाउन सिफारिस गरेको छ । कार्यदलले आइतबार मौसमका आधारमा दुईथरि मूल्य कायम गर्न सिफारिस गर्दै प्रतिवेदन पेश गरेको हो । मन्त्रालयले दुधको मूल्य सिफारिस गर्न दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको संयोकजत्वमा आठ सदस्यीय कार्यदल बनाएको थियो ।

कार्यदलको सिफारिसअनुसार दूध बढी उत्पादन हुने मौसममा कम मूल्य र कम उत्पादन हुने मौसममा बढि मूल्य गरिनेछ । जसमा कम उत्पादन हुने मौसममा हाल कायम मूल्यमा प्रतिलिटर १० रुपियाँ थप्न प्रस्ताव गरिएको छ भने बढि उत्पादन हुने मौसममा प्रतिलिटर ६ रुपियाँ थप्न प्रस्ताव गरिएको छ । प्रतिवेदनमा जनाइएअनुसार चैतदेखि भदौसम्मको समय कम दुध उत्पादन हुने समय हो भने असोजदेखि फागुन बढि उत्पादन हुने समय हो ।

अहिलेकै मूल्य चर्को भएको उपभोक्ताको गुनासो आइरहेका बेला सरकारी कार्यदलले दुधको मूल्य ह्वात्तै बढाउन सिफारिस गरेको हो । वृद्धि हुने दूधको मूल्यमध्ये ६९ प्रतिशत किसान र ३१ प्रतिशत उद्योगलाई उपलब्ध गराइने जनाईको छ।

यता पशुपालक किसानदेखि उद्योगीहरुले दुधको मूल्य कम भएको भन्दै गुनासो गर्ने गरेका छन् । विशेषगरी डेरी उद्योगहरु दुधको मूल्य उच्च दरमा बढाउन लबिङमा थिए । उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाले भने सर्वसाधारण उपभोक्तालाई अहिलेकै मूल्यमा दूध किनेर खान कठिन भइरहेको बेला फेरि उच्च दरमा मूल्य बढाउने तयारी गलत भएको बताउँछन् ।

किसानलाई उचित मूल्य दिन सरकारले अन्य अनुदानका उपायहरु छन् भन्दै उपभोक्तालाई मार पर्नेगरी डेरी उद्योगीहरुको दबाब र स्वार्थमा मूल्य बढाउने काम गर्न नहुने बताए । मूल्य वृद्धिले उपभोक्ताको टाउकोमा थप आर्थिक भार पर्ने, महंगी बढ्ने भन्दै बानियाले लागत खर्च घटाउन र उपभोक्ता हितलाई संरक्षण गर्न सरकार उदासीन बनेको बताए ।

Advertisement

Advertisement

Advertisement