क्यासिनोका मजदुरप्रति राज्य किन यति धेरै अनुदार ? पीडित ९२२ जना बर्षौदेखि न्याय माग्दै

Advertisement

काठमाडौं । यो देशमा सत्ता र सम्पत्ति हुनेले न्याय पनि खरिद गर्न सक्छ । दोषबाट पनि उन्मुक्ति पाउन सक्छ । प्रशासनदेखि मिडियालाई आफ्नो पक्षमा पार्न सक्छ । तर सत्तामा पहुँच पनि नहुने र सम्पत्ति पनि नहुनेले पनि न्याय र अधिकारको कुरा गर्नु बेकार हुन्छ ।

त्यस्तै भएको छ दरबारमार्गस्थित क्यासिनो अन्नाका मजदुरहरुको हकमा । निर्वाधरुपमा सञ्चालन भइरहेको क्यासिनोमा २०६३ सालसम्म झण्डै एक हजारको संख्यामा मजदुरहरु निर्वाधरुपमा काम गर्दै आएका थिए । त्यतिबेलासम्म मजदुरहरुमा समयमा तलव भत्ता लिँदै आएका थिए । सञ्चय कोषदेखि उपदान लिन समस्या थिएन् । राज्यलाई दिनुपर्ने करको कुनै बक्यौता पनि थिएन् ।

जब तत्कालिन विद्रोही माओवादी पार्टी शान्ति प्रक्रियामा आयो, तब उक्त पार्टीसम्वद्ध मजदुर युनियन क्यासिनोमा हावी भयो । नेपालमा लामो समयदेखि क्यासिनोहरु सञ्चालन गर्दै आएका अमेरिकी आरडी टटल यहाँबाट लखेटिए । उनी लखेटिएसँगै एकपछि अर्कोले क्यासिनो कब्जा गर्ने र आफूले आफैलाई मालिक घोषणा गर्ने होड चल्यो ।

सँगसँगै प्रहरी प्रशासनको हस्तक्षेप क्यासिनोमा बढ्दै गयो । प्रहरी प्रशासनदेखि नेतासम्मले क्यासिनोलाई कमाउने साधन बनाउँदै गए भने क्यासिनोभित्र बर्षौंदेखि काम गर्दै आएका मजदुरहरुले पाउँदै आएको तलव भत्तादेखि राज्यलाई बुझाउनुपर्ने करको बक्यौता बढ्दै भयो । मजदुरको सञ्चय कोष जम्मा हुन छोड्यो । क्याटिनमा खुवाइने खाजा र खानामा समेत कटौती हुनथाल्यो । दिनदिनैको झगडा, गुटबन्दी र नाराजुलुसले क्यासिनो अन्ना दिनप्रतिदिन शिथिल बन्दै गयो । सरकारी निकायहरुले समस्याको व्यवस्थापनभन्दा अस्थिरताको मौका उठाउँदै नयाँ सञ्चालकहरुसँग फाइदा उठाउँदै गए ।

कर नतिरेकै नाममा सयौं मजदुरहरु काम गरिरहेको क्यासिनो अन्नामा प्रशासनले एक दिन आएर ताला ठोकेर गयो । जीवनको महत्वपूर्ण समय क्यासिनोमै बिताएका, त्यहीं आफ्नो अनुभव संगालेका, आफनो भविश्य क्यासिनोमा देखेका मजदुरहरुको आशामा तव तुषारापत भयो जब होटल अन्नपूर्णले छदम तरिकाले रातारात क्यासिनो रहेको भवन नै भत्काइदियो ।

महिनौदेखिको तलव भत्ता, सञ्चय कोष, उपदान नपाएका ९२२ जना मजदुरहरुले क्यासिनो खुल्ने दिनको प्रतिक्षा गरिरहेको बेला भूकम्प गएपछिको मौका छोपेर होटलले क्यासिनो अन्नाको भवन भत्काइदिएपछि उनीहरु आश्चर्यमा परे । आक्रोसित पनि भए । आफ्नो बक्यौता र पेशागत सुरक्षाका लागि मजदुरहरु आज पनि संघर्षरत छन् । न उनीहरुलाई अदालतले न्याय दिन्छ, न सरकारले नै संरक्षण गर्छ, न राजनीति दल तथा तिनका नेताहरुले उनीहरुको पीडालाई सुन्छन् ।

किन दिइँदैन न्याय ?
क्यासिनोप्रति राज्य र समाजको हेर्ने दृष्टिकोण सुरुदेखि नै सकारात्मक हुन सकेन् । क्यासिनोलाई जुवा घरको रुपमा मात्रै चित्रण गरिँदा त्यहाँ काम गर्ने मजदुर र उनीहरुको श्रमलाई उपेक्षाको नजरबाट हेर्ने काम भयो । वास्तवमा नेपालका क्यासिनोहरु विदेशी पर्यटकहरुको मनोरञ्जनका लागि खुलेका थिए । सञ्चालकहरुले पनि आफ्नो फाइदाका लागि नेपालीहरुलाई अवैध प्रवेश दिने र प्रहरी प्रशासनले पनि त्यही कुरालाई आधार बनाएर क्यासिनोबाट लामो समयदेखि फाइदा मात्रै लिँदै आयो । बाहिर हेर्ने दृष्टि जस्तो भए पनि भित्र मजदुरहरु मर्यादित हिसावले काम गर्थे ।

विसं २०४८ सालमा स्थापना भएको क्यासिनो अन्ना होटल अन्नपूर्णले २५ बर्षका लागि जग्गा भाडामा दिई क्यासिनोका तत्कालिन सञ्चालकले आफैले भवन बनाएर सञ्चालन हुँदै आएको थियो । हरेक मजदुरहरुको नियुक्तिपत्र होटल अन्नपूर्णकै लेटरप्याड प्रयोग हुँदै आएको थियो । तर बहाल नदिएको कारण देखाउँदै मजदुर र सरकारलाई तिर्नुपर्ने दायित्व नियोजितरुपमा समाप्त पारियो । २५ बर्षपछि क्यासिनोको दायित्व होटलमा स्वतः सर्ने अवधारणाअनुसार नै अन्नपूर्ण इन्टरनेशनल र होटल डेला अन्नपूर्णबीच करार सम्झौता भएको देखिन्छ । होटल र क्यासिनो फरक फरक कानुनी व्यक्ति नभएकोले क्यासिनो र त्यहाँ कार्यरत मजदुरहरुको दायित्व स्वतः होटल अन्नपूर्णमा जाने भएपछि भूकम्पले क्षति पुर्याएको र भाडा नतिरेको बहानामा सरकारी कागज बनाएर रातारात क्यासिनो अन्ना भत्काइको यहाँका मजदुरहरु बताउँछन् । पर्यटन मन्त्रालयले पनि होटललाई क्यासिनो मजदुरहरुको आन्तरिक व्यवस्थापन गर्न २०६८ सालमा पत्र पनि पठायो । सर्वोच्च अदालतले पनि क्यासिनोको दायित्व स्वतः होटलको हुने भन्दै उनीहरुको दायित्व लिन होटललाई अन्तरिम आदेश दियो । तर, ती सबै आदेश र निर्देशकलाई होटलका प्रभावशाली सञ्चालकहरुले फोहर फाल्ने टोकरीमा मिल्काइदिए ।

त्यति मात्रै होइन्, क्यासिनो अन्नाका मजदुरहरु हरेक दिन सडक संघर्ष गर्दै आएको र सम्वन्धित मुद्दा अदालतमा विचाराधिन रहेकै समयमा भवन भत्काउनासाथै अन्नपूर्ण होटल परिसरमै अर्को क्यासिनो खोलियो । जबकी त्यही होटलमा सञ्चालित क्यासिनोले कर बक्यौता तिरेन भनेर नाटकीय हिसावले क्यासिनो बन्द गर्ने र भत्काउने अनुमति दिने सरकारी निकायले अर्को नाममा क्यासिनो खोल्न कसरी दियो ? आश्चर्यको विषय छ । अन्नपूर्ण परिसरमा सञ्चालित अन्नाका मजदुरहरुलाई निरन्तरता दिन अस्वीकार गर्दै होटल सञ्चालकहरु सिर्जना राणा र कपिल राणाले ‘प्यालेस’ नामको अर्को क्यासिनो सञ्चालनमा ल्याइएको छ । सडक संघर्षसँगै कानुनी लडाईंमा रहेका मजदुरहरु आफूहरु दायित्वहरुको करोडौं बक्यौता कायम हुँदाहुँदै र अदालतमा मुद्दा विचाराधिन हुँदाहुँदै पैसा र पहुँचको बलमा अर्को नामको क्यासिनो खोल्ने कुरा गैरकानुनी छ । तर जतिसुकै गैरकानुनी भने पनि उनीहरुको आवाज न न्यायालयका न्यायाधीसदेखि मन्त्री, सचिव, सरकारी निकायका अरु प्रशासक, दलका नेताहरुले होटल र क्यासिनोका मालिकहरुका आवाज मात्रै सुने । निमुखा मजदुरहरुको आवाज सुन्नै चाहेनन् । जबकी राजपरिवारको नाममा रहेको होटल अन्नपूर्ण एकाएक कसरी सिर्जना र कपिलको भयो ? किन नेपाल ट्रष्टमा गएन ? भन्ने प्रश्नको उत्तर अझै अनुत्तरित छ ।

श्रम ऐनअनुसार आफूहरुले पाउनुपर्ने तलव, भत्ता, सञ्चय कोष, उपदानलगायतका सुविधा नदिँदासम्म क्यासिनो अन्नाको अस्तित्व कायम रहने र अन्नपूर्ण इन्टरनेशनल प्रालिले त्यो सबै दायित्व लिनुपर्ने मजदुरहरुको बताउँछन् । त्यति मात्रै नभएर मजदुरहरुको रोजीरोटी खोसिँदा उनीहरुमाथि परेको मानसिक, पारिवारिक र आर्थिक समस्याबाट उत्पन्न क्षतिको मूल्य अझ ठूलो रहेको उनीहरु बताउँछन् । हुँदाखाँदाको रोजगारी खोसिँदा कतिपयले आत्महत्या नै गर्नुपरेको छ भने धेरैले दयनीयअवस्थामा जीवन गुजार्नुपर्ने, कष्टकर काम गर्नुपर्ने बाध्यता रहेको छ । समस्या समाधानका लागि होटलका पदाधिकारी र क्यासिनो अन्नाका मजदुरबीच पटक पटक छलफल र सहमति पनि भए । समस्या समाधानका प्रतिवद्धता पनि आए । तर त्यसलाई समेत पालना गरिएन । तर, त्यसको पालना गरिएन । बरु उल्टै सरकारी निकायहरुलाई गलत र भ्रमणपूर्ण जानकारीहरु गराउने काम हुँदै आएको अन्नाका मजदुरहरु स्मरण उदाहरण दिन्छन् । होटल र अन्नपूर्ण इन्टरनेशनल नामक कम्पनीका सञ्चालकहरुको रणनीति मजदुरहरुलाई थकित बनाउने, विभाजित गर्दै उनीहरुको आन्दोलन तुहाउने देखिन्छ । सोही रणनीतिअनुसार होटलले अन्नपूर्ण इन्टरनेशनलको सञ्चालकहरु पनि फेरबदल गर्ने र होटललाई अलग्याने काम गर्दै आयो । यो सबै षडयन्त्र तिर्न मजदुरहरु हरेक पर्यटन मन्त्री, श्रम मन्त्री, हरेक दलका नेता, सम्वन्धित सरकारी निकायका हाकिमहरुलाई हारगुहार गर्दै आए । उनीहरुले मजदुरहरुको संवेदनलाई एक छिन सहानुभूति दर्साउँदै सहयोगको आश्वासन मात्रै दिए । कसैले क्यासिनो अन्नाका मजदुरलाई न्यायउ दिलाउन इमान्दार प्रयास गरेनन् । यद्यपि मजदुरहरु भने आफूहरु न्याय नपाएसम्म अन्तिमसम्म लड्न नछोड्ने अडानमा छन् ।

Advertisement

Advertisement

Advertisement