सवारी साधनबाट एक करोड राजश्व सङ्कलन

Advertisement

काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालयले एक करोड २० लाख ४८ हजार जरिवाना (राजश्व) सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७५/७६ को अवधिमा सवारी कारवाहीबाट उक्त जरिवना सङ्कलन गरिएको हो ।

सवारी साधन कारवाहीबाट जरिवाना रकम सङ्कलन गरेको अहिलेसम्मकै उच्च रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यसवर्ष बढी राजश्व सङ्कलन भएको प्रहरी नायब निरीक्षक विष्णु बस्नेतले जानकारी दिए । सिन्धुलीमा सवारी चाप बढ्दै जाँदा सवारी साधनहरुले नियम उल्लङ्घन गर्दा कारवाहीको सङ्ख्या पनि बढेको उहाँको भनाइ छ ।

सवारी कारवाहीबाटै एक महीनामा न्यूनतम रु सात लाख राजश्व सङ्कलन भएको छ । एक आवमा १७ हजार ७२२ सवारी साधन कारवाहीमा परेका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ । नियम विपरीत चलेका दुई हजार ६४८ बस, आठ हजार ८११ ट्रक, चार हजार ६६९ जिप तथा कार, ७४५ ट्याक्टर, तीन हजार ७४४ मोटरसाइकल र एक हजार २३८ टेम्पो कारवाहीमा परेका ट्राफिक प्रहरीले जनाएको छ । सवारी कारवाहीबाट सबैभन्दा कम साउन महीनामा रु सात लाख ६५ हजार राजश्व सङ्कलन गरेका ट्राफिक प्रहरीले भदौमा १२ लाख २५ हजार, कात्तिकमा ११ लाख ९२ हजार, पुस, फागुन, चैत र वैशाख महीनामा १० लाख भन्दाबढी राजश्व सङ्कलन गरेको छ ।

बिपी राजमार्ग र मध्यपहाडी लोकमार्गमा सवारीको चाप बढ्दै जाँदा सवारीको कारवाही सङ्ख्या पनि बढ्दै गएको हो । आव २०७४÷७५ मा ट्राफिकले एक करोड आठ लाख ५४ हजार ५०० राजश्व सङ्कलन गरेको थियो ।

बिपी राजमार्गको सिन्धुली सडकखण्डमा ‘टाइमकार्ड’ लागू गरिएपछि दुर्घटना कम भएका प्रहरी निरीक्षक बस्नेतको भनाइ छ । सिन्धुली हुँदै काठमाडौं र काठमाडौं हुँदै तराईका विभिन्न जिल्लालाई गन्तव्य बनाएर दैनिक ७०० भन्दाबढी सवारी साधन गुड्ने गरेका छन् ।

Advertisement

Advertisement

Advertisement