खरेलको १० महिने असफलताः जहाज उडाएर कमाई गर्नुको सट्टा उल्टै सरकारसँग सहयोग माग्दै

Advertisement

काठमाडौं । राष्ट्रिय ध्वजाबहाक जहाज उडाउने नेपाल वायुसेवा निगमले खरिद गरेका दुई वटा वाइडबडी जहाज ए३३० खरिद विवादमा परेसँगै प्रधानमन्त्रीले आफ्नै जिल्लावासी र नातासमेत जोडिएका मदन खरेललाई सञ्चालक बनाए । लगत्तै कार्यकारी अध्यक्षसमेत बनाए ।

अठ्ठाइस बर्षपछि अन्तर्राष्ट्रिय उडानका लागि नयाँ जहाज बल्ल बल्ल खरिद गर्न सफल भएको निगममा खरेलको नेतृत्वले केही परिवर्तन आउने आशा निगमका कर्मचारीहरुमा थियो । तर, दिनप्रतिदिन त्यो आशा निराशामा बदलिन थाल्यो । अहिले निगम आर्थिकरुपमा थप जर्जर बन्दै गएको छ भने लामो दुरीका लागि उडान भर्न खरिद गरिएका वाइडबडी जहाजहरु ती कुनै पनि गन्तव्यमा पुग्न सकेका छैनन् । जहाज नउडेपछि ऋणको किस्ता तिर्न नसकेको निगम जहाज उडाएर कमाई गर्नुपर्ने बेला सरकारसँग अनुदानको भिख माग्ने अवस्थामा पुगेको छ । कम्तिमा २० अर्ब सरकारले सेयर थप हुनेगरी पैसा दिनुपर्ने बताउँदै आएका खरेल पछिल्लो समयमा चौतर्फी आलोचनाका पात्र बन्दै आएका छन् । यस्तो छन् खरेल आएपछिका १० महिनाका कमजोरीहरुः

वाइडबडी विमान अवतरण भएको जुलाई २०१८ मा हो । वाइडबडी आएको १३ महिनासम्म पनि जापान, कोरिया र सउदी अरबिया उडान हुन नसक्नु खरेलको ठूलो कमजोरी देखिन्छ । जापान र दक्षित कोरियामा सिधा उडान गर्न सहज पार्ने उद्देश्यले र मार्केटिङ तथा प्रचार प्रसार गर्ने कार्यको लागि जापानमा र कोरियामा जिएसए नियुक्त गर्ने प्रक्रिया २० महिना पहिले मिति २०७४ मंसिर २८ मा बसेको संचालक समितिको बैठकले व्यवस्थापनलाई निर्देशन दिएको एक निगम स्रोतले बतायो । त्यसपछि दुई पल्ट टेण्डर आह्वान गरेपछि बल्ल कोरियाको लागि प्यासिफिक एयर एजेन्सी नामको कम्पनीलाई जिएसएमा नियुक्तिको सम्झौता महाप्रबन्धक सुगतरत्न कंसाकार कै पालामा गरिएको थियो । तर जिएसए नियुक्त भइसकेको कोरियामा उडान शुरु गर्न अध्यक्ष खरेलले पटक्कै पहल नगर्दा चर्को भाडा लिइरहेको कोरियन एयरलाइन्सको एकाधिकार आजको दिनसम्म कायमै छ । प्रक्रिया अघि बढेर पनि निगमले कोरिया उडान गर्नमा कुनै पहल नगरेकोमा काठमाडौंस्थित कोरियन दूतावाससमेत आश्चर्यमा परेको छ ।

जापानको लागि निगम सञ्चालक समितिको मिति २०७५ भदौ २० को बैठकबाट व्यवस्थापनलाई दिएको निर्देशनमा तत्कालिन महाप्रबन्धक कंसाकारले एक कम्पनी वेस्टर्न एसोसियत्सलाई नियुक्त गरेको, तर सम्झौता मात्र गर्न बाँकी रहँदा मिति २०७५ भदौ ३१ मा मदन खरेल निगमको कार्यकारी अध्यक्षमा नियुक्त भए । उनले उक्त निर्णयलाई बेवास्ता गर्दै सञ्चालक समितिले जिएसए नियुक्त गर्न गरेको निर्देशन पनि पालना गरेनन् । टोकियोको नारिता एर्पोर्ट जाने निर्णयलाई निगम भित्र, मन्त्रालय र नेपालस्थित जापानी दूतावासका जापानी पदाधिकारीहरु सबैले उचित निर्णय भनेको थियो। खरेलले उक्त निर्णय फेर्दै ओसाकामा उडान गर्नेतर्फ प्रक्रिया सुरु गरे ।

नारिता एयरपोर्टको एक अधिकारीले २०७५ असार २२ मा निगमलाई इमेल पठाएर जापानमा उडान शुरु गर्न पहिलो पाइलाको रुपमा जिएसए नियुक्ति गर्नुपर्छ भनी लेखेको पत्र यसअघि कर्पोरेट नेपालले सार्वजनिक गरिसकेको छ । जिएसए नियुक्त भएपछि साढे दुईदेखि साढे तीन महिना जतिमा उडान शुरु गर्न सकिने ती पदाधिकारीले इमेलमा लेखेका छन् ।

कंसाकारको पालामा नियुक्त गरिसकेको जिएसएसँग खरेलले सम्झौता गरेको भए ६ महिना पहिले जनवरी २०१९ देखि नै जापान उडान शुरु हुने निश्चित थियो । कार्यकारी अध्यक्ष पदमा नियुक्त भएको १० महिनामा पनि जापानको जिएसएसम्म पनि नियुक्त गर्न नसकेका उनी यतिबेला निगमभित्रै चर्को आलोचनाको पात्र बनेका छन् । त्यसै हिमालय एयरलाइन्सले उडान गरिरहेको सउदी अरेबियामा सेवा सुरु गर्नेतर्फ पनि कछुवाको गतिमा कामकारवाही अघि बढाइरहेको कागजातबाट प्रमाणित हुने निगम स्रोतको दाबी छ ।

जापानको नियामन निकाय जेक्याबले अहिले उडान अनुमति दिइसकेकोले यो प्रमाणित हुन्छ कि इयूले नेपाललाई कालो सुचीमा राखेको कारणले जापान र कोरियामा उडान गर्न ढिलो भएको होइन । किन कि अहिलेसम्म इयूले नेपाललाई कालो सुचीबाट नहटाएको भए पनि जापानले उडान अनुमति दिइसकेकोछ । त्यसैगरी टोकियोको नारिता एयरपोर्टको सत्तामा ओसाका जाने हो भने छिटो अनुमति पाउने भनि मदन खरेलले दिँदै आएको तर्कमा कुनै सत्यता देखिन्न ।

जेक्याब भन्ने संस्थाले उडान अनुमति प्रदान गर्नुअघि अध्ययन विश्लेषण आदि गरेको नेपाल भित्रको अवस्था मात्र हो, टोकियो र ओसाकाको एयर्पोर्टसँग कुनै सरोकार राख्दैन। स्रोतको भनाई अनुसार यस मामिलामा पनि निगम व्यवस्थापनले पर्यटन मन्त्रालय र जनतालाई ओसाका जाँदा चाँडै अनुमति पाउँछ भनि ढाँटेको देखिन्छ । यसबाट नारिता नगइकन ओसाका जानखोज्नु कुनै न कुनै स्वार्थ लुकेको निगमसम्वद्ध एक कर्मचारीको भनाई छ ।

वाइडबडीबाट जापान, कोरिया र सउडी अरबिया सिधा उडान गरेपछि दुईवटा वाइडबडीले मात्र वार्षिक सात अर्ब कुल आम्दानी हुने ब्यापारिक योजनामा उल्लेख गरेको छ । यो आम्दानीबाट संचय कोष र लगानी कोषलाई किस्ता तिर्नमा कुनै समस्या नहुने स्वयम निगमकै अधिकारीहरुले त्यतिबेला सार्वजनिक कार्यक्रममा बनाएका थिए । तर नाफा कमाउन लागि आजको दिनसम्म पनि यी तीन वटै गन्तब्यमा निगमले उडान शुरु गर्न सकेको छैन।

डोमेस्टिकतर्फ पनि कुनै प्राविधिक समस्या नभए पनि एउटै टाइपको चार चारवटा वाई–१२ चिनिया विमान निरन्तररुपमा गत ७ महिनासम्म ग्राउन्डेड भएको निगमको इतिहासमा संभवतः पहिलो पटक हो । यसमा पनि खरेल असफल भएका छन् ।

उनी नियुक्त हुनुअघि तत्कालिन मन्त्री रविन्द्र अधिकारी कै पालामा निर्णय भइसकेको थप १० वटा विमान खरिद गर्ने योजनालाई खरेलले अघि बढाएनन् । उक्त १० वटा विमान खरिदको योजना पर्यटन मन्त्रालयले हरेक चौमासिक समीक्षाको कार्यक्रममा लिखितरुपमा नै प्रस्तुत गर्ने गरिएको थियो। छ वटा १९ सीटको स–साना भाइकिङ विमान, दुईवटा विमान आन्तरिक ट्रंक रुटको लागि र अन्तर्राष्ट्रिय सेवाको लागि दुई वटा न्यारोबडी ए३२० विमान गरि १० वटा विमान खरिद गर्ने कार्यक्रम थियो।

यसरी एकातिर आन्तरिक हवाई सेवामा आठ वटा विमान थपेर अघि बढ्ने निगमको योजना अलपत्र परेको छ भने अर्कोतर्फ एक निजी एयरलाइन्सले ट्रंक रुटको लागि नयाँ विमान थप्ने जानकारी सार्वजनिक भएको छ । साथै, अर्को एक निजी एयरलाइन्सले ३२ वटै एर्पोर्टमा सेवा शुरु गर्न नयाँ स–साना विमानहरु थप्ने १–२ हप्ताअघि मात्र घोषणा गरेको थियो ।

निगम व्यवस्थापनले गत ११ महिनाको अवधिमा नयाँ विमानहरु खरिद गर्नेतर्फ कुनै कारवाही अघि बढाएन । तर यही अवधिमा दुई वटा निजी हवाई सेवा कम्पनीले निगम कै योजना हुबहु कपी गरेर ब्यापार बढाउने घोषणालाई आफूहरुले टुलुटुलु हेरेर बस्नुपरेको निगम स्रोतले बतायो ।

Advertisement

Advertisement

Advertisement