पैंतिस हजार सहकारीलाई पाँच हजारमा झार्ने बडालको जिकिर

Advertisement

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले आगामी १० बर्षमा सहकारी संस्थाहरुको सख्या ३५ हजारबाट पाँच हजारमा झार्ने हावादारी तर्क गरेका छन् । सहकारी समन्वय सञ्जालको बैठकमा सोमबार बडालले भने, ‘अब सहकारीकर्मीहरुले सहकारीको एकीकरणमा जोड दिनुपर्छ । यसमा उत्साहित भएर अभियान चलाउन आग्रह गर्दछु ।’

बडालले गैरसरकारी संस्थाले प्रवद्र्धन गरेका सहकारी संस्थाहरु पनि एकीकरण हुनुपर्ने बताए । उनले ऐन नियमले तोकेअनुसार कोषहरु निर्माण गरी सहकारीलाई सबल बनाउने बताउँदै सहकारीको विषय बुझाएर मात्र सदस्यता दिनुपर्ने बताए । बडालले सहकारीको संख्या घटाउने तर उत्पादनलाई पाँच बर्षमा दोब्बर बनाउनुपर्ने बताए ।

उनले सन्दर्भ ब्याज दरको प्रसङ्गमा भने, ‘बढि ब्याज दिन्छु भनेर निक्षेप संकलन गर्ने सहकारीलाई ट्रयाकमा ल्याउनुपर्छ ।’ सन्दर्भ ब्याजदरलाई लिएर सहकारीकर्मीहरु विभाजीत हुने स्थिति बन्न नहुने बडालले बताए । उनले भने, ‘राज्य र सहकारी एक भएर अगाडि बढ्नुपर्छ । राज्यसँग मत बजाएर सहकारी अगाडि बढ्न सक्दैन ।’

‘सहकारी क्षेत्र स्वायत्त र स्वतन्त्र हो तर स्वच्छन्द होइन ।’ भन्दै उनले गलत गर्नेलाई दण्ड दिनुपर्ने बताए । बडालले संरक्षण नगर्ने हो भने पनि सहकारी अभियान चल्न नसक्ने बताए । उनले सहकारी एकीकरण भएर ठूलो भई उत्पादन बृद्धिमा लाग्नुपर्ने बताए ।

सञ्जालमा सहकारी महासंघ, केन्द्रिय सहकारी संघ, राष्ट्रिय सहकारी बैंक, सहकारी विकास बोर्ड, विभिन्न गैरसरकारी संघ संस्था, कृषि विभाग, पशुसेवा विभाग, महिला विकास विभाग, विकास बोर्डहरु, राष्ट्र बैंकलगायतका प्रतिनिधि रहेका छन् ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले सरकारले कम ब्याजदरमा लगानी गर्ने ऋण सहकारी बैंकमार्फत उपलब्ध गराउन सकेको खण्डमा सहकारीले गर्ने उत्पादनमा बृद्धि हुने बताए । उनले बैंकले ४४ शाखामार्फत सहकारी संघ संस्थालाई वित्तिय सेवा प्रदान गरिरहेको बताए ।

Advertisement

Advertisement

Advertisement