लोकन्थलीमा पानी ट्यांकी बनाउन डोजर लगाउँदा पहिरो गयो, छ घर जोखिममा

Advertisement

काठमाडौं । भक्तपुरको लोकन्थलीमा पानीट्यांकि बनाउन डोजर लगाउँदा पहिरो गएको छ । पहिरो खस्दा एउटा घरका मानिसहरु नै विस्थापित भएका छन् भने पाँच घर खस्ने जोखिममा परेका छन् । मंगलबार बिहान करिब दुई बजेतिर पहिरो खसेको हो ।

पहिरोको कारणले एक घरका मानिसहरु विस्थापित भएका छन् । अन्य पाँच घरका बासिन्दा पनि ठुलै पीडामा परेका छन् । पहिरोले गर्दा पैदल हिँड्ने बाटोसमेत अवरुद्ध पारेको छ ।

स्थानीयका अनुसार घरमा भने अहिलेसम्म असर परेको देखिएको छनै । कुनै पनि घरहरु चर्किएको देखिएको छैन । तर, समयमै सुरक्षा नअपनाए छ वटै घर खस्ने संभावना देखिएको छ ।

मध्यपुरठिमी नगरपालिकाको वडा नम्बर १, २ र ३ मा खानेपानीको समस्या छ । त्यसैले, गत बैशाख महिनाबाट ट्यांकी खन्न सुरु गरियो । वडा नम्बर १ मा पाँच लाख लिटर क्षमताको ट्यांकी बनाउने काम सुरु भयो । ट्यांकी बनाउन बजेट १ करोड ३२ लाख खर्च हुने स्टिमेट गरियो ।

तर, काम गर्दागर्दै वर्षा सुरु भएको भन्दै ठेकेदारले काम रोक्यो । दुई-चार दिन पानी रोकिएपछि भदौ १ गते फेरि सामान्य सरसफाइ गर्ने भन्दै डोजर चलाईयो । तर, रातिको वर्षाले ठूला रुखसमेत ढल्ने गरी पहिरो गयो ।

ट्यांकि बनाउने ठाउँ नै भिरालो भएकाले पहिरोको जाखिम उच्च थियो । यो काम शुरु गर्दा जोखिम भएको जानकारी भएकाले नै ग्याबिन वाल लगाउन अलिअलि खन्दै गर्दा नै पहिरो गएको हो ।

उक्त ठाउँमा अघिल्लो वर्ष पनि त्यहाँ डेढ फिट भत्किएको थियो । त्यसलाई सामान्य मर्मत गरियो । तर, राम्रोसँग मर्मत नगरेकाले अहिले पहिरो गएको स्थानयीको अनुमान छ । पहिरो गएको स्थान अवलोकनलगत्तै छलफल गर्न स्नानीय निकाय तथा जनप्रतिनिधिहरुको संयुक्त बैठक चलिरहेको छ ।

Advertisement

Advertisement

Advertisement