‘ओलीजीको स्वास्थ्यमा फेरि समस्या आएको सुनियो, उहाँ नरहे मुलुकमा फेरि अस्थिरता सिर्जना हुन्छ’

Advertisement

काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले भारतमा नरेन्द्र मोदी र उनको पार्टी भारतीय जनता पार्टीले बहुमत ल्याएको र मोदी नेपालको असल मित्र भएकोले उनको मित्रतालाई नेपालले समात्न सक्नुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लवमा मंगलबार उनले भने, ‘नेपाल र भारत दुवैले एक आपसको हित हेर्नुपर्छ ।’ भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउन लागेकोले उनको भ्रमणको बेला नेपालले भीख माग्न नहुने दीक्षितको सुझाव छ ।

दीक्षितले भने, ‘आजसम्म भएका सम्झौताहरु के कति कारणले कार्यान्वयन भएनन् ? यी विषयमा गम्भीर समीक्षा हुनुपर्छ ।’ उनले संयुक्त बैठकमा हाईड्रोदेखि ईरिगेशनसम्मका कुरा अघि बढ्नुपर्ने पनि धारणा राखे ।

दीक्षितले बाढीले नेपाल र भारत दुवै देशका जनता पीडित बनेको सुनाउँदै यो समस्याको दिर्घकालिन समाधान खोज्नुपर्ने बताए । उनले भने, ‘दुवै देशका जनतालाई हित हुने कुरा गर्नुपर्छ । खुल्ला सिमानाका समस्या छन् । कष्टममा नेपाली जनतालाई दुःख दिने काम भएका छन् । दशैं आउन थालेको छ । नेपालीहरुको बोर्डरमा सामान लुट्ने, पैसा लुट्ने काम भएका छन् । त्यसैले विहार, युपी, बंगालमा नेपालीहरुले दुःख नपाउन् ।’

दीक्षितले भारतले कश्मिरमा चालेको कदमबारे नेपालले कुरै नगर्ने भनेर परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अभिव्यक्ति दिएको भन्दै त्यसमा आपत्ति जनाए । उनले भने, ‘भारत नेपालको गाढा मित्र हो । हामी ओपन हुनुपर्छ । यस्तो मामिलामा कुरै गर्दैनौं भन्नु गलत हो ।’

पाकिस्तानी प्रधानमन्त्री ईमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हिटलरको संज्ञा दिँदा त्यो गलत हो भनेर नेपालले भन्न सक्नुपर्नेथियो भन्ने दीक्षितको भनाई थियो । दुवै देश सार्कको सदस्य राष्ट्र भएकोले यो क्षेत्रमा शान्ति कायम गर्नु नेपालको पनि दायित्व रहेको उनले उल्लेख गरे ।

दीक्षितले भने, ‘तर, यस्तो विषयमा हामी बोल्दैनौं भनेर हाम्रो मन्त्रीले भन्नुभयो, हाम्रो मन्त्रीको जिब्रो पनि विचित्रको छ ।’ भारतमा मोदी दोस्रो कार्यकालको लागि पाँच वर्षको प्रधानमन्त्रीको रुपमा आएकोले नेपालले भारतसँग ठूलो फाइदा लिनसक्ने उनको भनाई छ । दीक्षितले भने, ‘भारतसँग हाम्रो हजारौं वर्षको मित्रता हो भनेर त हामीले भन्छौं तर यो सरकारले व्यवहारमा त्यस्तो देखाएन् ।’

भारतले अहिले ‘डिजिटल युग’मा ठूलो फड्को हानेको पनि दीक्षितले सुनाए । ‘भारतबाट नेपालले धेरै विषयमा फाईदा लिनसक्छ’–उनले थपे, ‘चीनभन्दा पनि हाम्रो भारतसँग गाढा सम्बन्ध छ । हुन त हामीले चीनसँग पनि फाईदा लिने प्रशस्तै आधार र ठाउँ छन् । भारतसँग हाम्रो खुल्ला सिमा भएकाले अलिक बढि फाईदा लिन सक्छौं ।’

भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदा नेपाल सरकारले दया गरेर केही पनि माग्न नहुने उनको धारणा छ । दीक्षितले भने, ‘जयशंकर अत्यन्तै खारिएका र अनुभवी कुटनीतिज्ञ हुन । उहाँ आउनुभन्दा अघि हाम्रो परराष्ट्रमन्त्रीले कश्मिरको मामिलामा हामी बोल्दैनौं भनेर नचाहिने काम गर्नुभयो ।’ उनले भारतीय विदेशमन्त्रीलाई नेपालले राम्रो स्वागत गर्नुपर्ने पनि सुझाव दिए ।

फरक प्रसँगमा दीक्षितले प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थाको बारेमा नेपाली जनताले यथेष्ट जानकारी पाउनुपर्ने धारणा राखे । उनले भने, ‘केपी ओली दुई तिहाई बहुमत प्राप्त प्रधानमन्त्री हो । उहाँ त सर्वेसर्वा हो । उहाँ विरामी भएर सिंगापुर जानुभयो । फेरि जाँदै हुनुहुन्छ । उहाँको स्वास्थ्यको बारेमा जनताले थाहा पाउनुपर्छ । उहाँ त पब्लिक टप मष्ट फिगर हो ।’

दीक्षितले ओलीजी नभए मुलुकमा अस्थिरता उत्पन्न हुने पनि बताए । उनले भने, ‘उहाँको स्वास्थ्यको बारेमा विज्ञप्ति निकाल्नुपर्दछ । जनताले जानकारी त पाउनुपर्यो नि । हुन त उहाँ औषधिको मात्रा मिलाउन फेरि जान लाग्नुभएको भन्ने कुरा आएको छ । अहिले इन्टरनेटको जमाना छ । भाइबर छ । यसबारेमा जानकारी चाहियो । उहाँको स्वास्थ्य अवस्थाबारे विज्ञप्ती चाहियो । यो त हाम्रो हकको कुरा हो । उहाँको पनि सुचना दिनु दायित्व हो । उहाँको अगाडिको भविष्य के हो ? यसबारेमा जानकारी नदिनु उहाको टिमको गल्ती हो ।’

Advertisement

Advertisement

Advertisement