आत्महत्या गर्ने योजना आयोगका कर्मचारीको गोजीमा सुसाइड नोट भेटियो

Advertisement

काठमाडौं । राष्ट्रिय योजना आयोगका एक कर्मचारी आज कार्यालयभित्रै मृत भेटिएका छन् । झण्डै आठ वर्षदेखि कार्यालयको प्रशासन महाशाखाअन्तर्गत प्रशासन तथा विपद् व्यवस्थापन शाखामा कार्यरत नायब सुब्बा बच्चुराम केसी अनुगमन तथा मूल्याङ्कन शाखाको सभाहलमा आज मृत भेटिएका हुन् ।

प्रहरीले घटनाको मुचुल्का उठाएर शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगेको छ । केसी कीर्तिपुर नगरपालिकास्थित टौदह निवासी हुन् ।

घटनास्थलमा बालीमा प्रयोग गर्ने एक प्रकारको विषादीको बट्टा फेला परेकाले त्यही खाएर आत्महत्या गरेको अनुमान गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबिन्द्र बोगटले जानकारी दिए ।

प्रहरीका अनुसार राति नै उनी कार्यालयमा प्रवेश गरेको पाइएको र उनको गोजीमा ‘सुसाइड नोट’ समेत फेला परेकाले घटनाको अनुसन्धान भइरहेको छ ।

आयोगका प्रवक्ता किरण रुपाखेतीले बिहान कार्यालय समयमा कर्मचारीले उनलाई हलभित्र सुतिरहेको देखेपछि तत्कालै प्रहरीलाई खबर गरेको जानकारी दिँदै मिजासिलो मान्छेको सोच्नै नसकिने गरी घटना भएकोमा आश्चर्य लागेको बताए ।

Advertisement

Advertisement

Advertisement