सहकारी विकास बोर्डको सदस्य चयनमा सत्ताधारी दलले एकलौटी गरेपछि काँग्रेस पक्षधरको आपत्ति

Advertisement

काठमाडौं । राष्ट्रिय सहकारी विकास बोर्डको रिक्त दुई सदस्य पद सत्तारुढ दलनिकट सहकारीका नेताहरुले कब्जा गरेका छन् । विषयगत केन्द्रीय सहकारी संघहरुबाट बोर्डमा चयन हुने दुई सदस्य पद नेकपा पक्षधरहरुले एकलौटी चयन गरेपछि काँग्रेस पक्षधरहरुले बैठकमा हस्ताक्षर नगरी बहिस्कार गरेर हिँडेका हुन् ।

विगतमा सहमतिका आधारमा बोर्डका सदस्यहरु चयन हुँदै आएकोमा यस पटक बहुमतको धाक देखाउँदै पेलेर सत्ताधारी दलका व्यक्तिहरुलाई चयन गर्ने काम भएको एक जना सहकारीका नेताले बताए ।

उनी भन्छन्– विगतदेखि नै सहमति र सहकार्यका आधारमा सदस्यहरु चयन गर्ने परम्परालाई तोड्दै गुपचुपरुपमा आफ्नो पार्टीका मान्छेहरु छिराउने काम भयो । वास्तवमा यो शैलीले सहकारी अभियानको विकासमा सहयोग पुग्दैन् ।

कुल २० वटा विषयगत केन्द्रीय सहकारी संघमा १३ भोट नेकपा पक्षधरको छ भने सात भोट काँग्रेस पक्षधरको छ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडाल, सहकारी विभागका सहसंयोजक धर्मदत्त देवकोटा, स्वास्थ्य सहकारी केन्द्रीय संघका अध्यक्ष एवं नेकपाका नेता राजेन्द्र पाण्डे तथा राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलको मिलेमतोमा बचत तथा ऋण केन्द्रीय सहकारी संघ र जडिबुटी केन्द्रीय सहकारी संघका अध्यक्षलाई बोर्डको सदस्यमा चयन गर्ने काम भएको छ ।

स्रोतको भनाई छ– राजनीतिकरण गरेर सहकारी अभियानको विकास हुन्न । सहकारीको विकासका लागि नीतिगत र व्यवस्थापकीय सुधारका लागि मिलेर अघि बढ्नुपर्ने कुरालाई उपेक्षा गरेर केही व्यक्तिबाट क्षणिक लाभ हेर्ने काम भयो । यसमा हामीलाई दुःख लागेको छ ।

Advertisement

Advertisement

Advertisement