सिंहदरबारभित्र आत्महत्या गर्ने कर्मचारी राजदरबार हत्याकाण्डका प्रत्यक्षदर्शी भएको खुलासा

Advertisement

काठमाडौं । १९ जेठ ०५८ मा भएको राजदरबार हत्याकाण्डका प्रत्यक्षदर्शी बच्चुराम केसीले विष सेवन गरी सिंहदरबारमा आत्महत्या गरेका छन् । राष्ट्रिय योजना आयोगमा सुब्बा तहमा कार्यरत केसी मंगलबार दिउँसो कार्यालयमा मृत अवस्थामा भेटिएका हुन् । राजदरबार हत्याकाण्डका वेला केसी युवराज दीपेन्द्रको बासस्थानका रूपमा रहेको त्रिभुवन सदनमा ब्वाइज (सुब्बा) पदमा कार्यरत थिए र उनको जिम्मेवारी भान्सेका रूपमा थियो ।

दरबार हत्याकाण्डका दिन त्रिभुवन सदनको बिलियार्ड हलमा लगिएको खाना उनीलगायतको टोलीले तयार पारेको थियो । तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा गठित उच्चस्तरीय समितिका सदस्य तत्कालीन सभामुख तारानाथ रानाभाटले दरबार हत्याकाण्डसम्बन्धी प्रतिवेदन तयार पार्ने क्रममा केसीसँग पनि बयान लिएका थिए ।

दरबार हत्याकाण्डलगत्तै तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहले गद्दी सम्हालेपछि उनको सरुवा निर्मलनिवासमा भएको थियो, जहाँ उनी अक्सर पारस शाहसँग रहन्थे । गणतन्त्र स्थापनापछि राजप्रासाद सेवा (दरबार) का कर्मचारीलाई निजामती सेवामा समायोजन गरियो, त्यसक्रममा केसीको सरुवा परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागमा भयो ।

त्यसैक्रममा उनले गरेको गल्तीले उनलाई मंगलबार बिहान आत्महत्याको स्थितिमा पुर्‍यायो । राहदानी विभागमा कार्यरत छँदा विदेशीलाई नेपाली नागरिकता र राहदानी दिने गिरोहको लहैलहैमा लागेर केसीले १७ जना बंगलादेशीलाई नेपाली राहदानी दिलाएका थिए । यही विषयमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

जिल्ला अदालतमा चलेको मुद्दा उनले हारेका थिए । लामो समयदेखिको मुद्दाका कारण तनावमा रहँदै आएका केसीले सोही कारणले नै आत्महत्या गरेको पारिवारिक स्रोतको दाबी छ । आत्महत्या गर्नुअघि उनको लेखोटमा आफ्नै कारणले आत्महत्या गरेको उल्लेख छ ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement