माधव नेपाललाई एक्ल्याउने अभियानका योजनाकार ३ भाई को हुन् ?

Advertisement

काठमाडौं । सत्तासिन नेकपामा यतिबेला पूर्व प्रधानमन्त्री तथा बरिष्ठ नेता माधव नेपाललाई ओली, प्रचण्ड, झलनाथ, बामदेव लगायतका नेताहरुले मिलेर एक्ल्याएको चर्चा छ ।  केहि समय अघि केपी ओलीलाई संसदिय दलको नेता, प्रधानमन्त्री र पार्टी अध्यक्षबाटै हटाउनुपर्छ भन्ने अभियान चलाएका प्रचण्ड–बामदेवलाई माधव नेपालले नै रोकेका थिए । नेता नेपालले ओलीलाई शक्ति सन्तुलनमा ल्याउनु आवश्यक रहेको तर सत्ताच्युत गराउनु गम्भिर गल्ति हुने भन्दै प्रचण्ड र बामदेवलाई हपारेका थिए । ओलीलाई सत्ताबाट हटाउने सम्बन्धी बामदेव गौतमको अडियो रेकर्ड नै प्रधानमन्त्री ओलीसम्म पुगेको स्रोत बताउँछ ।

आफैंलाई सत्ताबाट हटाउने अभियानमा लागेकाहरुसँग मिलेर माधव नेपाललाई ओलीले किन पेल्ने काम गरे ? यो यतिबेलाको अहम प्रश्न हो ।
यस्तो परिस्थिति निर्माणका लागि पछिल्लो समय नेकपा भित्र तीन नेताले भूमिका खेले । महेश बस्नेत, खगराज अधिकारी र आनन्द पोखरेलले सबै भन्दा पहिले केपी ओलीको कान फुकेका थिए । उनीहरुले माधव नेपाललाई तह नलगाउँदासम्म पार्टीमा आफुहरु सुरक्षित नहुने भन्दै ओलीलाई भड्काएको स्रोत बताउँछ ।

यी तीन भाईले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शितल निवासमै भेटेर सल्लाह लिन्थे । बालुवाटार, शितल निवासको दर्जनौं पटक फन्को मारेपछि यी ३ भाईले बामदेव गौतमलाई भेटेर संगठन विभाग र उपाध्यक्षको प्रस्ताव गरेका थिए । त्यति मात्रै होइन, उप निर्वाचनमा पोखराबाट टिकट दिलाउने ओलीको सन्देश पनि गौतमसम्म पुर्याएका थिए । गौतम कन्भिन्स भएपछि झलनाथ खनाललाई फकाउने उपायको खोजी सुरु भयो । गौतमले नै तेस्रो वरियता दिएर खनाललाई मनाउन सकिने सुझाव दिए । त्यसपछि यी ३ भाईले डल्लु पुगेर खनाललाई मनाएको स्रोत बताउँछ ।

त्यसपछि खुमलटार पुगेर प्रचण्डलाई ओलीको उत्तराधिकारी बन्ने अफर गर्न भ्याए । प्रधानमन्त्री र एकिकृत पार्टीको एक्लो अध्यक्ष बन्ने योजनामा रहेका दाहाललाई ओलीको उत्तराधिकारी बनाउने गोल्डेन अफरले तान्योे । माधव नेपालसँग नियमित सम्पर्कमा रहेका प्रचण्डले अब आफ्नो योजना बदले । बिहान माधव नेपालसँग भेटेर छलफल गर्ने, ओलीको कुरा काट्ने अनि नेपालका कुरा साँझ बढाई चढाई गरेर ओलीलाई सुनाउने काम प्रचण्डले सुरु गरे ।

बस्नेत, अधिकारी र पोखरेलदेखि प्रचण्डसम्मले निरन्तर ओलीलाई नेपालका विरुद्ध उचालिरहे । राष्ट्रपति विद्या भण्डारीले पनि सब थोक छोडेर भए पनि जनताको बहुदलिय जनवादलाई कायम राख्न दवाव दिई रहिन् । बामदेवलाई मनाउने क्रमबाट सुरु भएको यो प्रक्रिया झलनाथ खनालाई तेस्रो वरियता हुँदै इश्वर पोखरेललाई स्कुल विभाग, प्रचण्डलाई ओलीको उत्तराधिकारी बनाउने कुरामा गएर टुंगो लाग्यो । यसबिचमा प्रचण्डपछि बामदेव गौतम हुँदै इश्वर पोखरेलमा नेकपाको नेतृत्व पुर्याउने लामो सम्झौता नै भएको स्रोत बताउँछ ।

प्रचण्ड, खनाल र गौतमले आगामी महाधिवेशनमा प्रचण्डलाई अध्यक्ष बनाउने र बाँकी सबै महत्वपूर्ण जिम्मेवारीमा केपी ओलीका मान्छेलाई सेट गराउने सम्झौता नै गरेको बताइन्छ । आफु सेट हुने नाउँमा अरु सबैको राजनीति दाउमा राखेको भन्दै प्रचण्ड, खनाल र गौतम निकट नेताहरु आक्रोशित बनिरहेका छन् ।

माधव नेपाललाई धोका दिएका प्रचण्डले पछिल्लो समय २ पटक नेता नेपाललाई उनकै निवासमा पुगेर भेटिसकेका छन् ।  यतिबेला माधव नेपालले सचिवालयमा आफ्नो ७ बुँदे असहमति पत्र दर्ता गराएका छन् । उनले पार्टीलाई विधि संगत ढंगले चलाउनुपर्ने, पार्टी र सरकारको कामलाई प्रभावकारी बनाउन एक व्यक्ति एक पदको अवधारणा लागु गर्नुपर्ने लगायतका विषय समेटेका छन् ।

बालुवाटारमा नयाँ सचिवालयको उदय
यतिबेला प्रधानमन्त्रीको नीजी निवास बालुवाटारमा यी ३ भाईको रजगज चलिररहेको बताइन्छ । यी ३ भाईलाई बालुवाटारको नयाँ सचिवालयका रुपमा लिन थालिएपछि अहिले सचिवालयमा बसेर काम गरिरहेका नेताहरु भने ओलीसँग असन्तुष्ठ बन्दै गएका छन् । यो टिमले बालुवाटार शितल निवासको फन्को लगाउन थालेपछि ओली निकट अन्य नेताहरुले भने आफुहरु असुरक्षित बन्दै गएको आशंका गर्न थालेका छन् ।

Advertisement

Advertisement

Advertisement