एउटा ‘रियल प्लेयर’लाई टेलिकम क्षेत्रमा आउन नदिएर सरकारले गल्ती गर्दैछः निर्वाण चौधरी

Advertisement

अन्तर्राष्ट्रियस्तरमा परिचित नेपालका एक मात्रै अर्बपति विनोद चौधरीले नेतृत्व गरेको चौधरी समूहले लगानीको क्षेत्र विस्तार गर्दै दूरसञ्चार क्षेत्रमा समेत ठूलो लगानीको तयारी गरेको छ । नेपाल इन्भेष्टमेन्ट समिटमा सरकारले नै सहजीकरण गरि सीजी टेलिकमले २५ अर्ब लगानीको घोषणा गरेको थियो । तर, समिटपछि सरकारले चौधरी ग्रुपलाई सहजीकरण होइन, अवरोध पुर्याइरहेको अवस्था देखिन्छ । लगानी गर्न पैसा हातमा लिएर बसिरहेको ग्रुपलाई लगानी गर्ने वातावरण नदिने तर लगानी बढ्न सकेन भनेर सरकारका मन्त्रीहरूले भाषण गरिरहेका छन् । सीजीलाई टेलिकममा लगानी गर्ने वातावरण बनाए टेलिफोन तथा डेटा शुल्कमा आधाले सस्तो हुने चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरी बताउँछन् । तर आफूलाई लाइसेन्स दिन रोक्ने प्रयास भइरहेको उनले बताए । प्रस्तुत छ चौधरीसँग कर्पोरेट नेपालका सम्पादक सीताराम विलासीले गरेको कुराकानीको सारः

चौधरी समूहको एक शताब्दीभन्दा लामो व्यवसायिक इतिहास छ । तपाईं त्यसको पछिल्लो पुस्ता । यो व्यवसायिक इतिहासलाई तपाईंले फर्किएर हेर्दा कसरी हेर्नुहुन्छ ?
व्यवसाय गर्ने एउटा व्यवसायी भएकोले मुलुकको अर्थतन्त्र योगदान दिनु हाम्रो स्वाभाविक जिम्मेवारी हो । तर पनि हामीले यति योगदान गर्यौं भनेर देखाइरहन चाहान्नौं । हामीले देखाइरहनु नै पर्दैन । आम जनताले देखिरहेकै हुन्छ । मूल्यांकन गरिरहेकै हुन्छ । काम गर्दै जाने हो । कम्पनीहरुको ग्रोथ हुँदै जान्छ । चौधरी ग्रुप पछाडि फर्किएर सोच्ने भन्दा पनि अगाडि कसरी बढ्ने ? भन्ने सोचमा हुन्छ ।

तपाईंको बुबा (विनोद चौधरी) नेपालको बिलेनियरको रुपमा विश्वभर परिचित हुनुहुन्छ । उहाँले अझै अघि बढ्ने सपना पनि देख्दै आउनुभएको छ । तपाईं उहाँको एउटा उत्तराधिकारी पनि भएकाले उहाँको लिगेसीलाई कसरी सम्हालेर लैजादै हुनुहुन्छ ?
चौधरी ग्रुप भनेको एउटा प्रोफेशनल ग्रुप हो । हरेक डिभिजन, हरेक भर्टिकल, हरेक कम्पनीको आफ्नै सिइओ, आफ्नै टिम, कोर टिमहरु छ । बुबाको के भिजन छ भने– विश्वभर गएर नेपाली कम्पनीले पनि काम गर्नसक्छ भनेर सावित गर्ने । उहाँको त्यही भिजन र गोलमा हामी पनि अघि बढ्ने हो । साथ दिने हो । बुबाको भन्दा फरक भिजन मेरो छैन् । कसरी नेपालमा विजनेश ग्रो गर्ने ? लगानी गरिसकेपछि आफ्नो प्रोफिट मात्रै होइन्, सोसाइटीलाई पनि बेनेफिट कसरी गर्ने ? त्यो मात्रै सोचाई हाम्रो छ । दश बर्षअघि कसरी लार्जेष्ट कम्पनी बन्ने ? भन्ने गोल थियो भने अहिले कसरी लगानी गरेर वेल्थ क्रियशन गर्ने ? सँगसँगै सीएसआरको माध्यमबाट समाजलाई पनि कसरी लाभान्वित गर्ने ? भन्ने छ ।

अहिले देखिएको तपाईंहरुको मुख्य व्यवसायमा फुड नै छ । वाईवाई मुख्य ब्राण्डको रुपमा देखिएको छ । तर अब व्यवसाय डाइभर्सिफिकेशन गर्न खोज्दै हुनुहुन्छ । कसरी अघि बढ्दै हुनुहुन्छ ?
अहिले तपाईंले हेर्नुभयो भने १६ वटा भर्टिकल्स छ ग्रुपको । हाम्रो ग्रुपको मुख्य तीन वटा भर्टिकलमा पहिलो भनेको फुड नै हो । वाईवाई, ब्रुअरी, स्न्याक्स आदि । सेकेण्ड भनेको फाइनान्सियल सर्भिसेज भयो । तेस्रो भनेको हस्पिटालिटी अर्थात होटल्स हो । गएको पाँच बर्षमा हामीले नेपालमा मात्रै पाँच वटा होटल खोलिसक्यौं । नेपालमा थप खोल्नलाई बजार पनि तयार हुनुपर्यो । त्यस कारण मलाई के लाग्छ भने अर्को पाँच बर्ष हाम्रो कोर विजनेश भनेको फुड अर्थात वाईवाई नै रहन्छ । दोस्रो हामीलाई सरकारले टेलिकममा आउन दियो भने त्यो अर्को महत्वपूर्व विजनेश हुन्छ । हामी मात्र त्यस्तो एक मात्रै कम्पनी हौँ जसले सरकारलाई तिर्नुपर्ने बक्यौता एक पैसा पनि बाँकी राखेको छैन् । हामीले प्रक्रिया पूरा गरेको बर्षौं भइसक्यो । टेलिकममा अहिले पनि मनोपोली छ । दक्षिण एसियामा सबैभन्दा हाईयेष्ट टेलिकम रेट नेपालमा छ । सबैभन्दा मिनिमम् डेटा पेनिट्रेशन भनेकै नेपालमा हो । मिनिमम् स्मार्टफोन पेनिट्रेशन पनि नेपालमै हो । मोनोपोली ढंगले एउटा कम्पनीले प्रोफिटाबिलिटि कमाइरहेको छ । यसले नेपालको डिजिटल इकोनोमोमा आघात पुगिरहेको छ । अहिले इण्डियामा जिओ आएर कसरी चेन्ज आइरहेको छ ? हेर्नुस त । त्यही खालको सोच बनाएर हामी आउन लागेको हो । हामीलाई नै रोकेपछि त यो देशको विकास कसरी हुन्छ ? भर्खरै पैसा नतिर्ने एउटा टेलिकम कम्पनीको लाइसेन्स खारेज गरियो । अरु कतिपय पैसा नतिरी बसिरहेको अवस्था छ । उनीहरु कहाँ छन् ? हेर्नुस । उनीहरु टेलिकम कम्पनी चलाउन आएको त होइन रैछ । लाइसेन्स पाएको ४–५ बर्ष भइसक्यो । खोई त काम सुरु गरेको ? भनेपछि एउटा ‘रियल प्लेयर’लाई अगाडि आउन नदिन सरकारले जुन बाताबरण बनाइरहेको छ, त्यो कुराले हामीले आश्चर्यमा परेका छौं ।



रोक्यो भन्नुभयो । तपाईंहरुलाई रोक्ने खास को हो ? भन्नु न ।
हामी आयौं भने अरुको लाइसेन्स बिक्दैन । हामी आयौं भने अरु कम्पनीको प्रोफिट्याबिलिटि कम हुन्छ । हामी आयौं भने नेपाली पिपुलले सस्तोमा सर्भिस पाउनुहुँन्छ, डिष्ट्रिक्टिक मोडलमा जनतालाई फाइदा हुन्छ । तर सरकारले किन जनताको पक्षमा काम गर्न नचाहेको हो ? भन्ने कुरा उतै सोध्नुपर्छ । गएको लगानी सम्मेलनमा हेर्नुस, आठवटा डिल भएको थियो । हामीले भनिरहेका छौं कि बाहिरबाट मानिसहरुलाई बोलाउनुभन्दा पहिला आफ्नै कम्पनीहरुको प्रोबोलम के छ ? त्यो पो बुझ्नुपर्यो नि । त्यसलाई समाधान गर्नुपर्यो नि । यहीको समस्या समाधान भएको छैन् । बिग्रिएको बिग्रियै छ । बाहिरको लगानीकर्ता बोलाएर को आउँछ ? त्यति हुँदाहुँदै पनि लगानी सम्मेलनमा आठ वटा डिलमा छ वटा डिल कस्ले गर्यो ? सिजीले गर्यो नि ।

ती समझदारीहरु कुनै पनि अघि बढेको छैन् ?
छैन नि । एउटा टेलिकमको थियो । त्यो फाईल सिंहदरबारको घर्रामा राखेको बर्षौं भइसक्यो । सोलार प्रोजेक्टको लागि हरेक प्रदेशमा न्यूनतम् वातावरण सरकारले बनाइदिनुपर्ने अवस्था छ । कुनै काम अघि बढेको छैन् । लजिष्टिकको अहिलेको पोलिसी नै अहिलेसम्म बनेको छैन् । यस्तो कुरामा साइन गरेर हल्ला गर्नुभन्दा अघि नै फण्डामेन्टल कुरा नै तयार हुन्न भने हल्ला गर्नुको मतलव नै भएन् ।

भनेपछि चौधरी ग्रुपलाई नै लक्षित गरेर असहयोगको काम भइरहेको अवस्था हो ?
हामीलाई त्यस्तै फिल हुन्छ । हामीलाई हरेक क्षेत्रमा काम गर्न गाह्रो भइरहेको छ । बाताबरण त्यस्तै बनाइएको छ । हामीलाई गाह्रो नै गराइएको हो भन्ने लागिरहेको छ । होइन भने त हाम्रो सिजी टेलिकम तीन बर्ष अघि नै आउनुपर्ने हो । रोक्नुपर्ने कारण के हो ? हामीले गल्ती के गरेका छौं ? रुल मानेका छैनौं भने देखाउनुपर्यो । तपाईंले एनटीए (नेपाल दूरसञ्चार प्राधिकरण)को चेयरमेनलाई सोध्नुस् । त्यहाँको हरेक बोर्ड मेम्बरलाई सोध्नुस् । उहाँहरु भन्नुहुन्छ, ‘सिजीले त बर्र्षांैंअघि लाइसेन्स पाउनुपर्ने हो ।’ तर खोई त ? हामीले त बेटर गर्न लागेको हो । किन हामीलाई रोक्नुपर्यो ? कस्को कारणले रोक्नुपर्यो ? कारण भन्नुपर्दैन ?

तपाईंहरुले टेलिकममा अझै रोकिराखियो, अघि बढ्नै दिइएन भने चौधरी ग्रुप के गर्छ ?
हामी नेपाली कम्पनी भएकाले हाम्रो ड्युटी भनेको नेपालमा नै लगानी गर्ने हो । आज बाताबरण ठिक नभए पनि भोलि ठिक होला । बुझ्ने लिडरशीप आउला । त्यो बेलामा लगानी गरौंला । छेकेको छेक्यै गरे पनि, हात बाँधे पनि हामी कहीं जानेवाला छैनौं । हामी हाम्रो तर्फबाट प्रयास गर्न छोड्दैनौं । अहिलेको लिडरशीपलाई पनि कुनै दिन फिल होला सिजीलाई रोकेर मुलुकप्रति, जनताप्रति गलत गर्यौं । किन भने यस्ता कुराहरु पब्लिकले पनि वाच गरिरहेको हुन्छ । अहिलेको नेपाली भनेको धेरै सचेत र एनालाइसिस गर्नसक्ने भइसकेको छ ।

तपाईंहरुले जुन ७० अर्ब लगानी गर्ने इच्छा देखाइरहनुभएको छ, त्यो कुन कुन क्षेत्रमा कति हो ?
टेलिकममा २५ अर्बको छ । सोलारमा ३०–४० अर्ब छ । लजिष्टिक पार्टमा पाँच अर्ब छ । अरु हाम्रो ब्रुअरी र सिमेन्टको एक्सपान्शन २० अर्बको छ । सिमेन्टबाहेक अरु सबै रोकिएको अवस्था छ । यो त हामीले पहिले नै लाइसेन्स लिएर, माइन लिएर अघि बढाइरहेका छौं । जे जे मा गर्भमेन्टले रोकेको छैन्, त्यसमा हामी अघि बढिरहेका छौं । नयाँ लाइसेन्स दिनुपर्ने, नयाँ एप्रुभल दिनुपर्नेमा सबै रोकिदिएको छ ।

तपाईंले सिजी टेलिकम आएपछि बेटर सर्भिस हुन्छ भन्नुभयो । अहिले दिइरहेको सर्भिसभन्दा कति बढि सस्तो हुन्छ ?
जे हिसावले जिओ आयो नि इण्डियामा, हाम्रो त्यही मोडल हुन्छ । हामीहरु एटलिष्ट आधाले सस्तो सेवा उपलब्ध गराउने तयारीमा छौँ । यस्को फाइदा कस्लाई हुन्छ ? भन्नु त । जनतालाई हुन्छ नि । सबैको हातमा डेटाको एक्सेज भयो भने त कयौं नयाँ इन्डिष्ट्रिजहरु खुल्छ ।

nirwan-chaudhary

चौधरी ग्रुप टेलिकिममै आकर्षित हुनुको कारण के हो ?
टेलिकम यस्तो ग्रोइङ सेक्टर हो कि हाम्रो दैनिक जीवन जे हिसावले अघि आइरहेको छ, ती सबैको ब्याकबोड हो । आज हामीले लाइट अन गर्न गछौं । भोलि डेटाले लाइट अन गर्न थाल्छ । अपरेशन रिमोर्टले हुन थाल्छ । अब हरेक सेक्टरको ब्याकबोन अफ इन्फ्रास्टक्चर भनेको टेलिकम हो । जे हिसावमा इकोनोमी अघि बढ्छ, त्यसको इन्फास्टक्चरका लागि हाइवे बनाउनु जरुरी छ । एउटा त नेसेसिटी पनि हो । अर्को भनेको अपरच्युनिटी पनि हो । तर बिडम्बना एउटा कम्पनी हेर्नुस मोनोपोली गरिहेको छ । अरु कम्पनीहरु त्यसैसँग लिङ्क भएर बसिरहेका छन् । एउटा गर्भमेन्टको कम्पनी छ । बाँकी कोही छैन् । आजको दिनमा टेलिकम भनेको लक्जरी होइन् । नेसेसिटी हो । नेसेसिटीलाई नै दबाएर राखेर जनतालाई महंगो सेवा लिन बाध्य पारियो भने राम्रो हुँदैन नि ।

टेलिकम्युनिकेशन विजनेश धेरै प्रोफिटेवल विजनेशको रुपमा हेरिन्छ विश्वमै । तपाईंहरु विलेनियरको पोर्टफोलियो बढाउने प्रयासमा पनि हुनुहुन्छ । टेलिकममा लगानी गर्दा पोर्टफोलियो बढाउन सहयोग पुग्ने देखेर यसमा लगानी गर्न खोज्नुभएको हो कि ?
वल्डवाइड त्यस्तो धेरै प्रोफिटेवल मानिन्न । तर नेपालमा चाहीं अहिले होला । त्यस्तो बढाउन त अरु दर्जन सेक्टरहरु छन् । हाइड्रोपावरमै अझै बढि फोकस भइन्थ्यो होला । अहिले मानिसहरुले गर्भमेन्टसँग सेटिङ गरेर टेण्डरको काम गर्छ नि, हामी पनि त्यहीं लाग्थ्यौं होला । पैसा त्यहाँ पनि छ । टेलिकममा हाम्रो विजनेश इन्ट्रेष्ट भनेको २० प्रतिशत मात्रै हो । मुख्य कुरा हामी टेलिकममा आउन खोज्नुको कारण सर्वसुलभरुपमा टेलिकम्युनिकेशन सर्भिस पाउनुपर्ने नेपाली जनताको राइट्स छ, त्यसलाई ब्रिज गर्नका लागि हो ।

चौधरी ग्रुपलाई एउटा आरोप पनि के छ भने उद्योगमा भन्दा व्यापारमा बढि फोकस हुन खोजेको, स्वदेशमा भन्दा विदेशमा लगानी गर्न खोजेको । के भन्नुहुन्छ ।

यो पूर्णरुपमा असत्य हो । समय समयमा मिडियामार्फत पनि हामीले हाम्रो बारेमा भनिरहेका छौं कि ८० प्रतिशतभन्दा बढि लगानी हाम्रो नेपालमा नै छ । भविश्यमा पनि रहने छ । बाहिर वाईवाईको ग्रोथ कम्पेरेटिभ एडभान्टेजको ग्रोथ हो । तर लगानीका हिसावले ८० प्रतिशत लगानी नेपालभित्रै छ ।

हुन त तपाईंले अघि सरकारबाट सहयोग नपाएको गुनासो गर्नुभयो । तर अहिले त स्थिर सरकार छ । त्यो पनि दुईतिहाईको । त्यसको अनुभति तपाईंहरुलाई हुन सकेको छैन् ?

स्टेबल संसदभित्र होला । बाहिर छैन् । कर्पोरेट विजनेश इन्भाइरोमेन्ट सिर्जना हुन सकेको छैन् ।

पहिलाको भन्दा पनि अहिले समस्या हो र ?
अहिले जस्तो समस्या मैले फेस गरेको छैन् पहिला । हाम्रो ग्रुपले फेस गरेको थिएन । सरकारले हामीप्रति गरेको व्यवहारभन्दा पनि विजनेश सेक्टरलाई ल्याएको पोलिसीले गाह्रो पारिरहेको छ । जसले राम्रो गरेको छ, उसलाई पेलौं । एक्दमै एक्सट्रिममा गइरहेको छ । त्यसले के सन्देश दिन्छ ? भन्नु त । देशकै लगानीकर्ताहरु लगानी गर्न नआए बाहिरको कसरी आउँछ ? मान्छे नेपालमा किन लगानी गर्न आउने ? बाताबरण नै छैन् भने कसरी आउँछ ? इम्प्वाइमेन्ट रेगुलेशन, इन्भेष्टमेन्ट रेगुलेशन सबै हुनुपर्यो । अनि पो विजनेश रन हुन्छ । अनि प्रोफिट हुन्छ । मार्केट यति सानो छ यहाँ । छेउमा चाइना र इण्डिया छन् । बरु इण्डिया वा चाइनामै गएर विजनेश सेटअप गर्छ । कम्तिमा त्यहाँ लगानीको बाताबरण छ । हामीले अरु केही मागेको पनि होइन फेरि । लेवर प्लेइङ इन्भाइरोमेन्ट बनाइदेउ भनेको मात्रै हो ।

टेलिकमकै कुरा गरौं । टेलिकममा लगानी गर्दैगर्दा त्यसका लागि आवश्यक तयारी या भनौं पूर्वाधार पनि चाहिएला । तपाईंहरुले त्यो पूर्वाधार तयार गरिसक्नु भएको अवस्था हो ?
हामी धेरैहदसम्म रेडी छौं । ह्वावेसँग कोल्याब्रेशन भइसक्यो । हाम्रो टिममा पनि टकसेलको मानिसहरु आइसक्नुभएको छ । त्यसकारणले मलाई लाग्छ ह्वावे जस्तो कम्पनीको रोलआउट र हाम्रो आफ्नो ग्रुपको सेल्स एण्ड मार्केटिङको क्षमतालाई लेभरेज र क्यापिटलाइज गरेर अघि बढ्न सक्छौं ।

यदि सरकारले सिजी सेललाई लाइसेन्स दिइहाल्यो भने कति समयमा सर्भिस दिनसक्नुहुन्छ ?
सरकारले लाइसेन्स दिएको नौ महिनामा हामीले जनतालाई सेवा दिन तयार छौँ ।

तपाईंहरुको सरकारी पक्षसँग यी विषयमा कुरा त भइरहेको होला नि ?
धेरै पटक भेटेका छौं । अनुरोध गरेका छौं । सुनुवाई भएको छैन् । सबैले सर्टटर्म फाइदा खोजेर लङटर्म र लार्जर गेम बिगार्ने काम भएको छ । हामीले ल्याउने टेलिकमको रेटले नै मुलुक नै कहाँ पुग्थ्यो । कन्जुमरलाई कति फाइदा हुन्थ्यो । त्यो कस्ले बुझाइदिने ?

  nirwan-chaudhary

Advertisement

Advertisement

Advertisement