मन्त्री खतिवडाले भने: विदेशी बैंकमा रहेका खाताको खोजी हुँदैछ

Advertisement

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले विदेशमा लगानी गर्नु छ भने सरकारसँग स्वीकृति लिएर लगानी गर्न सकिने बताएका छन् ।

प्रतिनिधिसभाको बिहीवारको बैठकमा मन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा सांसद दिलेन्द्रप्रसाद बडूका तर्फबाट सांसद अतहर कमाल मुसलमानले नेपाली नागरिकबाट गैरकानूनी रूपमा स्विस बैंकमा जम्मा भएको देखिएको ५३ अर्ब रुपियाँबारे के कारवाही हुँदैछ, कहिलेसम्म कारवाही पूरा हुन्छ भनी राख्नुभएको प्रश्नको जवाफ दिँदै उनले कसैको नाम मिलेकै आधारमा विदेशमा पैसा छ भन्न नसकिने बताए ।

विदेशी बैंकमा रहेका खाताको खोजी भइरहेको बताउँदै मन्त्री खतिवडाले राजश्व सचिवको संयोजकत्वमा समिति गठन गरी प्रहरी पनि परिचालन गरिएको जानकारी दिए । नेपाल ट्रष्टले खोजी गर्दा तत्कालीन राजपरिवारका सदस्यको सानातिना रकम फेला परेको पनि उनले उल्लेख गरे ।

अन्तर्राष्ट्रिय सूचना प्रणालीबाट त्यसरी पैसा राख्नेको सूची खोजी भइरहेकाले कानून कार्यान्वयन गराउने मन्त्री खतिवडाको प्रतिबद्धता थियो ।

सांसद रामबहादुर विष्टले विदेशी बैंकमा राखिएका पैसा फिर्ता ल्याउने बारेमा राखेको जिज्ञासामा राजश्व प्रशासनमा मूलबाटै सुधार गर्न लागिएको बताए ।

Advertisement

Advertisement

Advertisement