प्रदेश २ को नाम के ? मधेश प्रदेश, जानकी प्रदेश, मिथिला–भोजपुरा वा मध्य प्रदेश

Advertisement

जनकपुरधाम । प्रदेश नं २ को नामकरण र राजधानीका लागि प्रदेशसभा सचिवालयमा विभिन्न नाम दर्ता गरिएको छ ।

मधेश प्रदेश, जानकी प्रदेश, मिथिला–भोजपुरा र मध्य प्रदेश नामको प्रस्ताव विभिन्न दल र दलको निर्णयप्रति असहमति राख्ने प्रदेशसभा सदस्यले आज सचिवालयमा दर्ता गराएका हुन् । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीले संयुक्त रूपमा मधेश प्रदेशको नामको प्रस्ताव दर्ता गराएको छ भने नेकपाले जानकी प्रदेश र नेपाली काङ्गेसले मिथिला–भोजपुरा नामको प्रस्ताव दर्ता गराएका छन् । त्यस्तै प्रदेशको राजधानीको नामकरण गर्न विभिन्न नाम गर्दा भएको छ ।

सचिवालयका अनुसार समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीले संयुक्त रूपमा जनकपुरधाम (परिक्रमा क्षेत्रसहित ढल्केवर, कमलाहुँदै सीमावर्ती क्षेत्रसम्म), नेकपाले परिक्रमा क्षेत्रसहित धनुषा जिल्ला र नेपाली काङ्गे्रसले जनकपुरधाम नाम दर्ता गराएको छ । समाजवादी पार्टी नेपालका सात प्रदेशसभा सदस्यले पार्टीले दर्ता गराएको प्रस्तावप्रति असहमति राख्दै वीरगञ्जको नाम प्रस्ताव दर्ता गराएका छन् । सो दलका प्रदेशसभा सदस्य सिंहासन कलावार, करिमा बेगम, जन्नत अन्सारी, अञ्जु यादव, भीमा यादव, रागिनी देवी वर्णवाल र प्रह्लाद गिरी गोस्वामीले वीरगञ्जको नाम दर्ता गराएका छन् ।

त्यस्तै काङ्गे्रसका प्रदेशसभा सदस्य राजेश्वरप्रसाद साह, शङ्करप्रसाद चौधरी, असिया देवी र ओम शर्माले दलले सिफारिस गरेको प्रदेशको नाम र राजधानीको प्रस्तावप्रति असहमति राख्दै मध्य मधेश र वीरगञ्जको नाम दर्ता गराएका छन् । प्रदेशसभामा नेकपाको ३२, समाजवादी पार्टी नेपालको ३०, राष्ट्रिय जनता दलको २५, नेपाली काङ्गे्रसको १९ र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।

Advertisement

Advertisement

Advertisement