एघार स्थानीय तह खुला दिसामुक्त क्षेत्र घोषित

Advertisement

काठमाडौं । जिल्लाका ११ स्थानीय तह खुला दिसामुक्त क्षेत्र घोषणा गरिएका छन् । पछिल्लोपटक मटिहानी नगरपालिका खुला दिसामुक्त क्षेत्र घोषणा भएपछि स्थानीय तहको सङ्ख्या ११ पुगेको हो ।

भदौमा महोत्तरी गाउँपालिका र मटिहानी नगरपालिका खुला दिसामुक्त क्षेत्र घोषणा भएका हुन् । बिहीबार खुला दिसामुक्त क्षेत्र घोषणा भएको मटिहानी नगरपालिका क्षेत्रमा पाँच हजार २२७ घरधुरी छन् ।

जिल्लाका १५ स्थानीयतहमध्ये अब मटिहानीसहित भङ्गाहा, बर्दिवास, गौशाला, रामगोपालपुर, बलवा र मनराशिशवा नगरपालिका एवं महोत्तरी, सम्सी, सोनमा र पिपरा गाउँपालिकासमेत ११ स्थानीय तह खुला दिसामुक्त क्षेत्र भएका जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिलेले जनाएको छ ।

अब जिल्लाका औरही, लोहारपट्टी र जलेश्वर नगरपालिका एवं एकडारा गाउँपालिका मात्र खुला दिसामुक्त क्षेत्र घोषणा हुन बाँकी छन् । बाँकी स्थानीय तहमा शौचालय निर्माण र सरसफाइसम्बन्धी काम अघि बढेकाले भदौ मसान्तभित्रै जिल्ला नै खुला दिसामुक्त क्षेत्र घोषणा भइसक्ने जिल्ला समन्वय समितिका संयोजक एवं जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष सुरेशप्रसाद सिंहले जानकारी दिए।

जिल्लाका १५ स्थानीयतहमा कूल एक लाख ११ हजार ३४ घरपरिवारमध्ये अब शौचालय नहुने घर तीन अङ्कमा झरेको छ । अब ७०० हाराहारी घरमा मात्र शौचालय बन्न बाँकी रहेका अध्यक्ष सिंह बताए । जिल्लामा खानेपानी, सरसफाइ तथा स्वच्छता अभियानमा युएन ह्याविटेट, युनिसेफ र एसएनभी नेपालसहितका अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्था र जिल्लामा कार्यरत १० वटा सामाजिक सङ्घसंस्थाले जिल्ला समन्वय समिति र स्थानीय तहको समन्वयमा काम गरिरहेका छन् ।

Advertisement

Advertisement

Advertisement