देशभर २३ हजार दरबन्दी खाली, लोकसेवा भन्छ- केन्द्रले नै पदपूर्ति गर्नुको विकल्प छैन

Advertisement

काठमाडौँ । समयमै पदपूर्ति हुन नसक्दा देशभर करिब २३ हजार कर्मचारीको दरबन्दी रिक्त छ । संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका तथा लोकसेवा आयोगको भर्ना प्रक्रियामा रहेकाबाहेक २३ हजार १ सय ७५ जनाको दरबन्दी खाली रहेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार संघमा ८ हजार ४ सय ४९, प्रदेशमा ८ हजार ४ सय ३६ र ७ सय ५३ स्थानीय तहका लागि १५ हजार ४ सय ५१ दरबन्दी खाली छ । ४ देखि १० तहसम्मका कर्मचारीको दरबन्दी रिक्त रहेको मन्त्रालयले जनाएको छ । त्यसमध्ये ९ हजार १ सय ६१ कर्मचारी भर्ना प्रक्रियामै छन् ।

गत चैतमै सरकारले संघमा ३९ हजार ९ सय ६०, प्रदेशमा १३ हजार ८ सय २१ र स्थानीय तहमा ५१ हजार ४ सय ५७ कर्मचारी समायोजन गरेको थियो । मन्त्रालयका अनुसार संघ, प्रदेश र स्थानीय तहमा रिक्त कर्मचारी संख्या कुल दरबन्दीको करिब १७ प्रतिशत हो । रिक्त दरबन्दी पूर्ति गर्ने विषयमा संघ र प्रदेश सरकार अन्योलमा छन् । अधिकार क्षेत्र मिचेर कर्मचारी भर्ना प्रक्रिया अघि बढाएको भन्दै केही प्रदेश सरकारले संघको आलोचना गरेका थिए ।

भर्ना प्रक्रियामा रहेका कर्मचारी आगामी कात्तिकसम्म पदस्थापन भइसक्ने तर अन्य रिक्त दरबन्दीको विषय अन्योल रहेको मन्त्रालयले जनाएको छ । लोकसेवाको भर्ना प्रक्रियामा रहेका ९ हजार १ सय ६१ कर्मचारी छनोट गरेर कात्तिकभित्र पदस्थापन गरिसक्ने सरकारको तयारी रहे पनि रिक्त दरबन्दी पूर्ति गर्ने विषयमा अझै अन्योल छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले रिक्त दरबन्दी पूर्ति नहुँदा सेवा प्रवाहमा असर पुगेको बताए । उनका अनुसार हरेक वर्ष ३ हजारभन्दा बढी कर्मचारी नियमित अवकाशमा जाने गरे पनि पदपूर्ति भएको छैन ।

संघ र प्रदेशका लोकसेवासम्बन्धी ऐन–कानुनलगायत सबै संरचना नबनेसम्म विद्यामान कानुनअनुसार संघबाटै कर्मचारी व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको बताए । त्यसका लागि संघीय लोकसेवाको विद्यमान कानुनबाटै रिक्त दरबन्दी पूर्ति गर्नुको विकल्प नभएको उनले बताए ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement