एमालेका वडाअध्यक्षले अमेरिबाट पठाए राजीनामा पत्र

Advertisement

हेटौंडा । व्यापक जन दबाबपछि मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–८ का अध्यक्ष जगत्मान घिसिङले अमेरिकाबाटै राजीनामा पत्र गाउँपालिका कार्यालयमा पठाएका छन् । उनले करिब ५ महिनापछि राजीनामा पठाएका हुन् ।

डीभी परेर चैत २७ गते परिवारसहित अमेरिका जानुभएका घिसिङले जनताको सेवा गर्ने इच्छा हुँदा पनि घरायशी तथा विविध कारण सेवा गर्न तत्काल नेपाल आउन नसक्ने’ पत्र गाउँपालिकाको इमेलमा पठाएको घिसिङको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

राजीनामाको सक्कलप्रति अमेरिकाबाट कुरियर गरेर पठाइसकिएकोले केही दिनमा गाउँपालिकामा आइपुग्ने पारिवारिक स्रोतले बताएको हो । गाउँपालिकाले भने इमेलमार्फत् राजीनामा आएको कुराको पुष्टि गर्न चाहेको छैन ।

यसबारे बुझ्न गाउँपालिका अध्यक्ष हिदम लामासँग सम्पर्क गर्दा उनको फोन रिसिभ भएन । गाउँपालिका उपाध्यक्ष पार्वती रानाले आफूलाई यसबारे आधिकारिक जानकारी नभएको बताउनुभयो भने र प्रमुख प्रशासकीय अधिकृत जीवन कुँवरले आफू पारिवारिक कामका कारण कार्यालय नगएकोले थाहा हुन नसकेको दाबी गरे ।

गाउँपालिकाले बैठक राखेर वडाअध्यक्ष घिसिङको राजीनामा पत्रबारे निर्णय लिने र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जानकारी गराइने बुझिएको छ ।

सरकारले मंसिर १४ गते जनप्रतिनिधिहरु रिक्त रहेका स्थानमा उपनिर्वाचन गराउने मिति तोकेपछि भीमफेदी–८, इपापञ्चकन्याका स्थानीयले संयुक्तरुपमा वडाअध्यक्षको उपनिर्वाचन गराउन माग गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन कार्यालय मकवानपुर, अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय तथा भीमफेदी गाउँपालिकामा निबेदन दर्ता गरेका थिए ।

कर्मचारीलाई डीभी परेर गए स्वतः जागिर छोड्नुपर्ने व्यवस्था छ । तर, जनप्रतिनिधिका लागि भने के गर्ने भन्ने स्पष्ट कानुन छैन । जनताका सेवाका लागि निर्वाचित व्यक्ति विदेशकै नागरिक हुने गरी जान पाउने कि नपाउने भन्ने बहस हुने गरे पनि यसबारे ठोस कानुनको अभाव छ ।

वडा सदस्य नवराज अधिकारीलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएर घिसिङ परिवारसहित अमेरिका उडेपछि स्थानीयको कामकारबाहीमा प्रभाव परेको भन्दै स्थानीयले उपनिर्वाचन गराउन लिखित निबेदन दिएका थिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिकाका वडाअध्यक्षको अमेरिका भ्रमणबारे छानबिन गर्ने भएको छ । वडा अध्यक्ष घिसिङ डीभी परेर परिवारसहित अमेरिका गएपछि उक्त पद रिक्त रहेको भन्दै स्थानीयले निवेदन दिएपछि त्यसबारे छानबिन गर्न लागेको मन्त्रालयले बताएको छ ।

पद रिक्त रहेको भनी मन्त्रालयले सिफारिस गरेमात्र निर्वाचन आयोगले उपनिर्वाचन गराउँदछ । रिक्त रहेको भनी पुष्ट्यार्इं गर्ने काम मन्त्रालयको हो । आयोगले रिक्त रहेको भनेर पुष्टि गर्न सक्दैन ।

एमालेबाट उठेका घिसिङले ५ सय १४ मत ल्याएर वडा अध्यक्ष जित्नुभएको थियो भने उनका प्रतिस्पर्धीहरु राप्रपाका सुन्दर कुँवरले २ सय २३ र नेपाली कांग्रेसका दीपेशकुमार विश्वकर्माले १ सय ९१ मत ल्याएका थिए । (नेपाल समाचारपत्रबाट)

Advertisement

Advertisement

Advertisement