नलगाड हाइड्रोको डिपिआरमा खटेका मजदुरले पाएनन् ज्याला, कम्पनीले सात लाखभन्दा बढी रकम दिन बाँकी

Advertisement

जाजरकोट । नलगाड हाइड्रोपावर कम्पनीको विस्तृत योजना प्रतिवेदन (डिपिआर)को काम गर्न खटिएका मजदुरले ज्याला पाएका छैनन् । बाँधस्थल बारेकोट गाउँपालिका–८ अधेरीखोला र विद्युत्गृहस्थल नलगाड नगरपालिका–७ मा काम गर्ने मजदुरले काम गरेको रकम नपाएका हुन् । निर्माण कम्पनीले रु सात लाखभन्दा बढी रकम मजदुरलाई भुक्तानी दिन बाँकी रहेको उनीहरुले बताएका छन् ।

दुई महिनादेखि रकम नभएको खाली चेक दिएर ढाँटीरहेको मजदुर नलगाड नगरपालिका–५ का शेरबहादुर सिंहले बताएका छन् । कम्तीमा पनि एक मजदुरको रु ७० हजारभन्दा बढी रकम निर्माण कम्पनीले भुक्तानी गर्न बाँकी रहेको छ ।

३० महिनामा सम्पन्न गर्ने शर्तसहित अष्ट्रेलियाको स्मेक, अमेरिकाको एमडब्लुएच र नेपालको उदय कन्सल्ट प्रा।लि जेभीले डिपिआर गर्न नलगाड जलविद्युत् आयोजनासँग सम्झौता गरेका थिए । ती कम्पनीबाट अर्को निर्माण व्यवसायी वसन्त डिसीले अहिले कामको जिम्मेवारी लिएर गरिरहेका छन् ।

कम्पनीले ड्रिलिङकार्य ९० प्रतिशत पूरा गरेर जलविज्ञान मापन आँकलन, भूकम्प सर्भे, पावर अटिमाइजेसन, फिल्ड सर्भेलगायत अध्ययनको काम गरिरहेको आयोजनाका इञ्जिनीयर पदम थापाले बताएका छन् । कन्ट्रक्सनका वसन्त डिसीले यहाँ काम गर्ने मजदुरलाई पटक–पटक खाली चेक दिएर झुक्याउने गरेको अर्का बारेकोट गाउँपालिका–८ अधेरीखोलाका मोहन सिंहले जानकारी दिए ।

मजदुर शेरबहादुर सिंहका अनुसार आफूलाई मात्र तीनपटक खाली चेक उपलब्ध गराएको तर बैंक जाँदा रकम नभएपछि तीनपटकसम्म चेक फर्किएको छ । उनले भने, 'हामी १४ भन्दा बढी मदजुरको झण्डै रु छ लाख लिन बाँकी छ, सधैँ पैसा माग्दा चेक हात पार्छन्, तर बैंक जाँदा पैसा हुँदैन, खाली हात आउनुपरेको छ', त्यस्तै स्थानीय मोहन सिंहले मङ्सिरदेखि अहिलेसम्म घरको भाडा नपाएको बताएका छन् ।

यस भन्दा अगाडि (पुस महिनामा) मजदुरले तुरुन्तै रकम पाउनुपर्ने माग राखेर आन्दोलनमा उत्रिएपछि नलगाड नगरपालिकाको न्यायिक समितिले दुई महिनाभित्र उपलब्ध गराउने दुवै पक्षबीच सहमति गराएको थियो । वसन्त डिसीलाई मजदुरको रकम नदिएर पटक–पटक खाली चेक दिनुको कारणबारे बुझ्न खोज्दा फोन नउठाएका कारण प्रतिक्रिया लिन सकिएन ।

Advertisement

Advertisement

Advertisement