झुटो विवरण भरे कर छलीसरह कारवाहीः अर्थमन्त्री

Advertisement

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले कुनै पनि व्यक्तिले झुटो विवरण भरेको पाईए कर छलीसरह अपराध ठहर भई कारवाही हुने बताएका छन् । संसदको अर्थसमितिमा उनले नागरिकलाई राज्यप्रति जवाफदेही र जिम्मेवार बनाउनका लागि स्वयम् कर घोषणा गर्न दिईएको बताउँदै तर त्यसमा झुटो विवरण भरेको पाईए कर छलीसरह अपराध ठहर भई कारवाही हुने बताएका हुन् ।

समितिमा छलफलको क्रममा रहेको राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) विधेयकमा व्यक्तिले झुट्टा विवरण बुझाएको पाईएमा कर छली कसुर अनुसार नै कारवाही हुने व्यवस्था गरिएको छ । यस व्यवस्थाअनुसार व्यक्तिले गलत विवरण बुझाएमा कर छलीसरह नै कारवाही हुनेछ।

विधेयकमा समितिले केही संशोधन गर्ने तयारी गरेको छ । यसमा ५० लाख सम्मको अधिकतम अंक तोकेर त्यसभन्दा बढी हुनेलाई बिगो बराबरको जरिवानासहित कैदको व्यवस्था गर्न लागिएको छ ।

बैठकमा समिति सदस्यहरुले विधेयकमा जरिवाना र कैदको समय बढी भयो भन्दै संशोधन गर्नुपर्नेमा सुझाव दिएका थिए। उनीहरुले कसुर वापतको दण्ड सजायको मात्रा ठूलो हुँदैमा राजश्व असुली नहुने भन्दै कैदको समय धेरै राख्दा जेल भर्ने अभियान मात्रै हुने र राजश्व असुलीमा सकारात्मक भन्दा नकारात्मक प्रभाव पर्ने बताएका थिए ।

Advertisement

Advertisement

Advertisement