दाङमा दुग्धजन्य पदार्थको मूल्य बढ्यो

Advertisement

दाङ । दाङमा दुग्धजन्य पदार्थको मूल्य वृद्धि भएको छ । घोराही क्षेत्रमा दूध, दही, घ्यू र पनिरको मूल्य वृद्धि गरिएको हो। डेरी व्यवसायी संघले मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । दुई वर्षदेखि दूधको मूल्य बढेको थिएन ।

सवै क्षेत्रमा मूल्यवृद्धि भएका कारण दुग्धजन्य पदार्थको मूल्य बढाइएको डेरी व्यवसायीसंघ घोराहीका अध्यक्ष ईश्वरी घिमिरेले बताए । संघले दूधको मूल्य प्रतिलिटर ८० रुपियाँ पुयाएको छ । त्यसैगरी दही १ सय रुपियाँ प्रतिलिटर बनाइएको छ । पनिर ७ सय रुपियाँ र घ्यू १ हजार २ सय रुपियाँ बनाइएको उनले बताए । मूल्यवृद्धि भएपछि कृषकहरूले ५ रुपियाँ र व्यवसायीले ५ रुपियाँ पाउने संघले जनाएको छ । यसरी बढाइएको मूल्य यही भदौ ११ गतेबाट लागू हुने संघले जनाएको छ ।

जिल्लामा कति दूध उत्पादन तथा खपत हुन्छ भने यकिन तथ्यांक भने छैन । व्यवसायीहरूका अनुसार जिल्लामा दैनिक करिव २० देखि २५ हजार लिटर दूध खपत हुने गरेको छ । जिल्लाका घोराही, लमही, तुलसीपुर, गढवा, भालुवाङ, नारायणपुरलगायतका बजारमा गरी दैनिक करिव २० देखि २५ हजार लिटर दूध खपत हुने गरेको छ । खपतको तुलनामा उत्पादन भने कम रहेको व्यवसायीहरूले बताए । अन्य समयमा पुगे पनि चाड पर्वका बेला दूध अपुग हुने गरेको छ ।

चार्ड पर्वको समयमा डेरीहरूमा दूध तथा दहीको नपुग्ने गरेको डेरी व्यवसायी संघ घोराहीका अध्यक्ष इश्वरी घिमिरेले बताए । चाड पर्वको समयमा डेरीहरूमा विहान नै दुध दही सकिने गरेको छ । घोराहीमा मात्र दैनिक २५ सय लिटर दूध आउने गरेको छ । घोराहीमा उत्पादनले नपुगेको कारण वाहिरबाट ल्याउनुपर्ने उनको भनाइ छ ।

जिल्लामा पछिल्लो समय डेरी व्यवसायमा लगानी बढदै गएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङको तथ्यांकअनुसार जिल्लामा ४५ वटा डेरी दर्ता भएका छन् । यी डेरी उद्योगमा ३ करोड ७७ लाख १४ हजार लगानी भएको छ । अझ पछिल्लो चरणमा दूध तथा दुग्धजन्य पदार्थको माग बढ्दै गएकाले डेरी उद्योग खुल्ने क्रम बढेको दाङ जिल्ला डेरी व्यवसायीहरू बताउँछन् । जाडो समयमा जिल्लाको उत्पादनले धान्ने पनि अन्य समयमा पर निर्भर रहनुपर्ने बाध्यता छ ।

जिल्लामा दूधका लागि व्यावसायिक गाईपालन केही फस्टाउँदै गए पनि व्यावसायिक भैंसीपालन कम रहेको किसानहरूले बताए । बजारमा गाईको भन्दा भैंसीको दूधको माग बढी भएकाले व्यावसायिक भैंसीपालन गर्नु आवश्यक रहेको व्यवसायीहरूको भनाइ छ ।

Advertisement

Advertisement

Advertisement