उदाहरणीय जनप्रतिनिधि जसले आफूलाई गाडि नकिनेर दुईवटा एम्बुलेन्स किने

Advertisement

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौलाले आफूलाई सवारीसाधन खरीद गर्न छुट्याइएको रकमले दुई वटा एम्बुलेन्स खरीद गर्न लागेकी छन् ।

उनको यस प्रस्ताव कार्यपालिका बैठकलेसमेत पारित गरिसकेको छ ।

यो हप्ता दुई वटा एम्बुलेन्स गाउँपालिकामा आइपुग्ने प्रक्रियामा छ, उपाध्यक्ष बर्तौलाले भनिन् । उनलाई गाडी खरीदका लागि गाउँपालिकाले गत आर्थिक वर्षमा २६ लाख रकम छुट्याएको थियो । उनले गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भएदेखि नै पालिकाको कुनै पनि सवारीसाधन प्रयोग गरेकी छैनन् ।

भौगोलिकताले विकट एवं पहाडी भू–भाग भएकाले गाउँपालिकाका बासिन्दाले समयमै उपचार पाउन् भन्ने उद्देश्यले आफ्नो सवारी बजेटबाट एम्बुलेन्स खरीद गर्न लगाएको उपाध्यक्ष बर्तौलाले बताइन् । उनले भनिन्, म जनताको सेवा गर्न निर्वाचित भएकी हुँ, म जहाँ पनि हिँडेर पुग्न सक्छु तर गर्भवती र बालबालिका तथा वृद्धवृद्धाका लागि समयमै उपचार होस् भन्ने चाहेर आफ्नो गाडीलाई छुट्याइएको रकमबाट एम्बुलेन्स खरीद गर्न भनेकी हुँ ।

दुई वटा एम्बुलेन्सबाट रोशी गाउँपालिकाको ३५ हजार बासिन्दाका साथै नमोबुद्ध नगरपालिका, महाभारत गाउँपालिका, तेमाल गाउँपालिका तथा छिमेकी जिल्ला सिन्धुलीको सुनकोशी गाउँपालिकाका बासिन्दा लाभान्वित हुने उपाध्यक्ष बर्तौलाले जानकारी दिइन् । उनले भनिन्, मैले निर्वाचित भएदेखि नै घरबाट गाउँपालिका कार्यालय आउन जान सार्वजनिक यातायात प्रयोग गर्दै आएको छु ।

उपाध्यक्ष बर्तौलाले आफूलाई आउने इन्धन खर्चलाई पनि सामाजिक सेवामै खर्चिएकी छन् । उनलाई वार्षिकरुपमा इन्धनबापत आउने तीन लाख रुपैयाँ उनले टुहरा तथा अपाङ्गता भएका व्यक्तिलाई सहयोग गरेकी हुन् । हालसम्म १४ विद्यालयका ४८ जना टुहुरा तथा अपाङ्गता भएका बालबालिकालाई उनीहरुको शिक्षामा सहयोग पुगोस् भन्ने उद्देश्यले जनही छ हजार २५० रुपैयाँ सहयोग गरेकी छन् ।

गाउँपालिकाको शिक्षा शाखामार्फत गाउँपालिकामा अवस्थित ६९ वटा सामुदायिक विद्यालयबाट थप टुहुरा तथा अपाङ्गता भएका बालबालिकाको तथ्याङ्क उपलब्ध भयो भने ती बालबालिकालाई क्रमैसँग सहयोग उपलब्ध गराइने उपाध्यक्ष बर्तौलाले बताइन् ।

गाउँपालिकाको न्यायिक समिति अध्यक्षलगायत विभिन्न नौ वटा समितिको संयोजकका रुपमा रहेकी गाउँपालिका उपाध्यक्ष बर्तौलाले कुनै पनि बैठकका भत्तासमेत लिन्नन् । यसअघि गत असारमा पाँचखाल नगरपालिकाले गत आर्थिक वर्षमा जनप्रतिनिधिलाई सवारीसाधन खरीदका लागि छुट्याइएको बजेटबाट दमकल खरीद गरेका थियो ।

गत पुसमा सम्पन्न नपा कार्यपालिका बैठकले उक्त निर्णय गरेपछि कार्यालयको गाडी तथा वडाध्यक्षलाई मोटरसाइकल खरीदका लागि छुट्याइएको बजेटले दमकल खरीद गरिएको थियो । काभ्रेपलाञ्चोकमा ६ वटा नगरपालिका र सात वटा गाउँपालिका छन् ।

Advertisement

Advertisement

Advertisement