अन्नपूर्ण होटलमा रहेको विवादित क्यासिनोले श्रम कार्यालयलाई कर्मचारीहरुको विवरण बुझाउन मानेन्

Advertisement

काठमाडौं । दरबारमार्गमा रहेको पाँचतारे होटल अन्नपूर्ण होटलभित्र सञ्चालनमा रहेको विवादित क्यासिनो प्यालेसको व्यवस्थापनले सरकारी निर्देशनको बेवास्ता गरेको छ । सो क्यासिनोको नाममा श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग श्रम तथा रोजगार कार्यालयले त्यहाँ कार्यरत कर्मचारी मजदुरहरुको विवरण तत्काल पठाउन भन्दै दिएको निर्देशनलाई बेवास्ता गरी बसेपछि पुनः दोस्रो पटक समेत पत्र पठाएको छ ।

सो मन्त्रालयले पत्रसंख्या २०७५।७७ चलानी नम्बर २० को पत्र २०७६ साउन ५ गते दोस्रोपटक सो क्यासिनोको नाममा पठाएको हो । सो पत्रको समेत कुनै जवाफ नदिई क्यासिनो सञ्चालन तथा व्यवस्थापक बसेको मन्त्रालयले जनाएको छ । सो मन्त्रालयबाट व्यवस्थापकलाई सम्बोधन गरेर पठाएको पत्रमा प्रस्तुत विषयमा यस कार्यालयको पत्रसंख्या २०७५।७६ चलानी नम्बर २००२ मा २०७४ जेठ २ गतेको पत्रमा माग भएका विवरणहरु हालसम्म पनि प्राप्त नभएको हुनाले पुनः पूर्व पत्रबाट माग गरेबमोजिमको विवरण यो पत्र प्राप्त भएको मितिले तीन दिनभित्र यस कार्यालयमा पेस गर्न निर्देशनसहितको अनुरोध गरी पठाएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सो अवधिभित्र पेस नभएमा श्रम ऐन २०३४ दफा १६५ (२) बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाइने भन्दै कार्यालय प्रमुख खगेन्द्रबहादुर बस्नेतको हस्ताक्षर भएको पत्रलाई बेवास्ता गरेर विवरण महिना दिनभन्दा बढी बितिसक्दा समेत पठाएको छैन । यसरी मन्त्रालयको पत्रलाई बेवास्ता गरी बस्ने क्यासिनो प्यालेसको व्यवस्थापकमाथि भने मन्त्रालयले कुनै कानुनी बाटो समेत अगाडि नबढाई बसेको आरोप सम्बन्धित क्यासिनोका मजदुरहरुले लगाएका छन्  । दरबार हत्याकण्डपछि स्वतः नेपाल ट्रष्टमा जानुपर्ने होटल डेला अन्नपूर्णपरिसरमा रहेको उक्त क्यासिनोमा कार्यरत कुनै पनि कर्मचारी र मजदुरको विवरण मन्त्रालयमा पठाएको छैन ।

नेपाल ट्रष्टमा जानुपर्ने अन्नपूर्ण होटलको सम्पत्तिलाई विभिन्न शक्तिकेन्द्रको आडमा व्यक्तिगत बनाउने काम गरेका कपिल राणा र सिर्जना राणाले उक्त अवैध क्यासिनो सञ्चालनको व्यवस्था मिलाएको आरोप लाग्दै आएको छ । तत्कालीन राजा वीरेन्द्रको वंशनाशपछि राजपरिवारको उक्त सम्पत्ति लुकाउन राणाद्वय परिचालित भएका छन् । श्रीनिवासन नामको कम्पनी खोलेर अर्का नेपाली क्यासिनो दलाल विनय तेली साहुसहित लालकिशोर शाह तेली सो कम्पनीको अध्यक्ष भनी उल्लेख गरिँदै आएको छ । भारतीय १८ जनाबाट एक सय ८० करोड ल्याएको थियो । भारतबाट एफडीआई नआएकाले सो रकम हुण्डीबाट नेपाल ल्याई अवैध रुपमा क्यासिनोमा लगानी गरेको समेत स्रोतको दाबी रहेको छ ।

हुण्डीमार्फत नेपाल ल्याएको एक सय ८० करोड रुपैयाँमध्ये ४० करोड अन्नपूर्णमा खोलिएको अवैध क्यासिनो प्यालेसमा खर्च भएको विवरण राखिएको उच्च स्रोतको भनाइ छ । त्यसमध्ये २० करोड होटललाई दिएको, १५ करोड ठाउँ मिलाइदिएबापत सिर्जना राणालाई घुस दिएको आरोप मजदुरहरुको रहेको छ । यसैगरी, एकपछि अर्कोलाई क्यासिनो चलाउन ठाउँ उपलब्ध गराइदिने भन्दै अवैध धन्दा नै चलाई बसेकी अन्नपूर्ण होटलकी सञ्चालिका सिर्जना राणाले सोही स्थान अफ्रिकन नागरिकलाई उपलब्ध गराइदिने भन्दै ५० प्रतिशत सेयर पनि दिने भनेर रकम लिएको स्रोतले जनाएको छ । यसअघि राणाले भारतीय नागरिक आशिष पटेल र धिरेन मोक्तानलाई इम्पेरियल क्यासिनो खोल्न दिएको थियो ।

आशिषसँग सो क्यासिनो खोल्न दिने भनेर १० करोड रुपैयाँ लिन सृजनाको भाइ निरज मल्लले समेत विशेष पहल गरेका थिए । एकपछि अर्कोसँग ठाउँ मिलाइदिने भन्दै करोडौँ रुपैयाँ लिएर अकूत सम्पत्ति कमाएको राणा परिवारले पछिल्लो समयमा इम्पेरियलको प्रिलाइसेन्सलाई खारेज गरेर क्यासिनो दलाल विनय शाह तेलीलाई सिर्जनाले उपलब्ध गराएको आरोप समेत लागेको छ ।

अन्नपूर्णमा पहिलो अन्ना क्यासिनो सञ्चालन हुँदै आएको थियो । क्यासिनो अन्नाले १६ करोड रुपैयाँ रोयल्टी तिर्न बाँकी रहेको छ । आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागका कर्मचारी नेतृत्वसँगको मिलेमतोमा राजस्व समेत नतिरी अहिलेसम्म अटेर गर्दै बसेको छ । कर चुक्ता नगरी पर्यटन विभागसँगकै मिलेमतोमा क्यासिनो सञ्चालन गर्न अनुमति दिँदै आएको थियो ।

होटल अन्नपूर्णकै नाम फेरेर एटलाष्टिक रिक्रिएसन सेन्टरलाई क्यासिनो प्यालेस खोल्न प्रिलाइसेन्स दिएको थियो । तत्कालीन अन्न क्यासिनोका मजदुरले ४५ करोड रुपैयाँ तलबभत्ता समेत नदिई सिर्जना राणाले विभिन्न समूहलाई नयाँ–नयाँ नाममा क्यासिनो सञ्चालन गर्न ठाउँ उपलब्ध गराउँदै आएकी थिइन्  । मजदुरलाई उपलब्ध गराउनुपर्ने तलबभत्ता र इम्पेरियलको प्रिलाइसेन्स खारेजीविरुद्ध अदालतमा मुद्दा विचाराधीन छ ।

पर्यटन विभागका कर्मचारीले होटल अन्नपूर्णको प्रलोभनमा परेर अर्को क्यासिनो खोल्न दिएका थिए । विनय तेली साहु पहिला अन्ना क्यासिनोको कामदारका रुपमा रहेका थिए । उनी डलर चोरीको आरोपमा निष्काशन गरिएका कर्मचारी हुन् । विनय तेलीलाई सो क्यासिनोबाट निष्काशन गरेपछि होटल हायात रिजेन्सीमा गई प्राइड क्यासिनो चलाउँदै आएका थिए । त्यसमा पनि अहिलेसम्म एफडीआई नआएकाले सो क्यासिनो समेत अवैधरुपमा सञ्चालन हुँदै आएको छ ।

विभिन्न तवरबाट आर्जन गरेको कालोधनको प्रयोग पछिल्लो समयमा आएर क्यासिनो सञ्चालनमा हुँदै आएको छ । विनय साह तेलीले अन्नाका मजदुरलाई धम्क्याउँदै आएको समेत मजदुरहरुको गुनासो छ । पुरानो क्यासिनोकै एक अर्ब ५० करोड रुपैयाँ राजस्व तिर्न बाँकी रहेको छ । छापामा संलग्न टोलीले सो क्यासिनो प्यालेसलाई एफआईडी स्वीकृतिको पत्रसहित उपस्थित हुन निर्देशन दिएको थियो । सो क्यासिनो सञ्चालकले उद्योग विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय, पर्यटन विभाग र पर्यटन मन्त्रालयलाई खानपिन र लेनदेनबाट प्रभावित पारेर प्यालेस क्यासिनो ऐनकानुनविपरीत सञ्चालन गरेको पाइएको छ ।

आर्थिक दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement